सर्वोच्चको फैसला स्वागतयोग्य : कांग्रेस

सर्वोच्चको फैसला स्वागतयोग्य : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसलाको स्वागत गरेको छ। तीन चरणको आन्दोलनका कार्यक्रम गरिसकेको कांग्रेसले सर्वोच्चको फैसलाको स्वागत गरेको हो। 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेलगत्तै कांग्रेसले सरकारको कदमको विरोध गरेको थियो। प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक कांग्रेसको ठहर थियो। सर्वोच्चको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी अदालतले गरेको फैसलाको सम्मान र स्वागत गरेको जनाएका छन्। 

अदालतमाथि विश्वास गर्नुपर्ने भन्दै उनले सर्वोच्चको फैसला स्वीकार गर्नुपर्नेमा जोड दिँदै आएका थिए। ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो,’ विज्ञप्तिमा देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको थियो।’ 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना गर्ने सर्वाेच्चको फैसलाले मुलुकलाई ठूलो संकटबाट जोगाएको बताए। संसद पुनःस्थापनाका पक्षमा अडान राख्दै आएका उनले अदालतको फैसलाले सत्यको जित भएको उल्लेख गरे। ‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन। संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ। पार्टी कार्यक्रमको सिलसिलामा काठमाडौं बाहिर रहेका नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।’ 

संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै आएको कांग्रेसले संसद पुनःस्थापनालाई आन्दोलनको एजेन्डा भने बनाएको थिएन। पुनःस्थापित प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँणले अदालतको फैसलाले संविधानको रक्षा गरेको बताए। ‘नेपाली जनता र नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षामा सर्वाेच्च अदालतबाट संसद् पुनःस्थापना हुने फैसलाको सम्मान गर्दछु,’ उनले भने, ‘इतिहासमा यो निर्णयले न्यायपालिकाको शिर ठाडो भएको छ। नेपाली जनताको जित भएको छ।’ खाँणले तत्काल संसद् बैठक बसेर देशलाई निकास दिनुपर्नेमा जोड दिएका छन्।

कांग्रेस नेता गगन थापाले संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई सर्वोच्च अदालतले खारेज गर्दै संविधानको रक्षा गरेको टिप्पणी गरे। ‘अदालतले बिना भय र दबाब, विवेकसम्मत रूपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ,’ नेता थापाले भने।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वाेच्चको फैसलाले संसद् विघटनसँगै अधिनायकवादी आकांक्षालाई बदर गरेको प्रतिक्रिया दिए। उनले संसद् विघटन असंवैधानिक ठहर गर्दै मुलुकभर आन्दोलन भइरहेका बेला अदालतको फैसलाले संविधानको रक्षा गरेको उनको भनाइ छ। कांग्रेस नेता उदयशमशेर राणाले संसद् पुनःस्थापनाको फैसलाले लोकतन्त्र र संविधानवादको जित भएको बताए।

कांग्रेसले बोलायो बैठक
कांग्रेसले संसद् पुनःस्थापना भएसँगै विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बुधबार शीर्ष नेतासहित पदाधिकारी बैठक बोलाएको छ। बैठकमा सम्भावित सत्ता सहकार्य र पार्टीको आगामी रणनीति बनाउनेबारे छलफल हुने जनाइएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारी बैठकपछि केन्द्रीय कार्यसमिति बैठक बस्ने बताए।

सर्वोच्च अदालतको फैसलापछि कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन संवाद भएको छ। दुई नेताबीच बधाई साटासाट भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनका अनुसार दाहालले देउवालाई टेलिफोन गरेका थिए। ‘उहाँहरूबीच बधाई साटासाट मात्र भयो,’ उनले थप प्रष्ट्याउँदै भने, ‘आज सत्ता सहकार्यका बारेमा कुनै कुराकानी भएन।’ दुई नेताबीच बुधबार छलफल गर्ने समझदारी भएको बुझिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.