भारतमा मार्च देखि दोस्रो चरणको खोप अभियान सुरु हुने
भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ ।
केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा बुधबार जानकारी दिए।
सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरुले भने आफैँले रकम तिर्नु पर्ने व्यवस्था गरिएको उनले बताए ।
खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी खोप केन्द्रहरु तोकिएको र निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् । निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन-चार दिनपछि तोकिदिने केन्द्रीय मन्त्री जवादेकरले जानकारी दिए ।