यशराज र सरिताको रोमान्स
काठमाडौं : हिमालयराज र सरिता भारतीको स्वरमा देउडा भाकाको गीत ‘हे गाजली’को भिडियो दर्शकमाझ आएको छ। यसअघि थुप्रै देउडा गीत गाएका हिमालय र सरिताले हे गाजलीमा युगल स्वर दिएका हुन्। गीतको शब्द डब्बु क्षत्रीले लेखेका हुन्।
गीतलाई सुदूरपश्चिमको लवजमा ढालिएको गीतकार क्षत्रीले बताए। भिडियो निर्देशन पनि क्षत्रीले नै गरेका हुन्। पछिल्लो समय भेकका गीत निकै रुचाइएकाले आफूले यो गीत तयार गरेको उनले जानकारी गराए।
यस्तै यसअघि आफूले हिमालयको देउडा गीत हे बैजुको भिडियोमा अभिनय गरेको गायिका सरिताले बताइन्। हे गाजलीको भिडियोलाई बूढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा राज सागरको संगीत, टेकेन्द्र याक्सोको संगीत संयोजन छ। भ्वाइस अफ नेपाल स्टुडियोमा दीप घतानीले यो गीतको रेकर्डिङ र मिक्सिङ गरेका हुन्।
भिडियोमा अभिनेता यशराज गराच र गायिका सरिताले अभिनय गरेका छन्। गीत निकै मीठो बनेको र आफूले विगतमा अभिनय गरेका गीतभन्दा केही फरक स्वादको भएकाले हे गाजलीमा अभिनय गरेको अभिनेता यशराजले बताए। यशराज र सरितासँगै यो गीतको भिडियोबाट मोडल तथा मेकअप आर्टिस्ट बीना रानामगर र जोयल्स बस्नेतले कलाकारका रूपमा डेब्यु गरेका छन्। गीतको भिडियोमा रामशरण उप्रेतीको छायांकन, भरत रेग्मीको सम्पादन, श्याम बरालको शृंगार छ।