मिस तथा मिसेस ब्युटिफुल–२०२१ का प्रतिभा
काठमाडौं : मिस तथा मिसेस ब्युटिफुल–२०२१ का प्रतिस्पर्धीहरूले आफूहरूमा निहित प्रतिभा प्रदर्शन गरेका छन्। प्रतियोगिताको अन्तिम स्पर्धा नजिकिँदै गर्दा ‘ट्यालेन्ट’ उपाधिका लागि उनीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन्।
दक्ष इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षभैmं यस वर्ष पनि अविवाहित र विवाहित महिलाका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगीहरूले ट्यालेन्ट सोमा गीत संगीत, नृत्य, अभिनय, चित्रकला, वाककलाजस्ता प्रतिभा प्रदर्शन गरेर निर्णायकको मन जित्ने कोसिस गरेका थिए। ट्यालेन्ट सोका लागि कोरियोग्राफर, फिल्म निर्माता तथा निर्देशक राजु शाह प्रमुख निर्णायक तथा अभिनेत्री रश्मी भट्ट, गायक सानु थापा, गायिका तथा सञ्चारकर्मी सरिता भारती, गीतकार अशोक तामाङ र सञ्चारकर्मी अरुणा श्रेष्ठ निर्णायक रहेका थिए।
मेकअप आर्टिस्ट टेकराज पाण्डेले फागुन १५ गते राजधानीमा मिस ब्युटिफुल नेपाल र मिसेस ब्युटिफुल नेपाल–२०२१ आयोजना गर्न लागेको हो। अविवाहित युवतीबीच हुने स्पर्धा मिस ब्युटिफुलमा राजधानीका विभिन्न स्थानमा बसोबास गर्दै आएका १३ युवती सहभागी छन् भने मिसेस ब्युटिफुलमा विभिन्न पेसा र गृहिणी जीवन बिताइरहेका १२ जना विवाहित महिला सहभागी छन्। आयोजक संस्थाका अध्यक्ष पाण्डेले जानकारी गराएअनुसार विभिन्न विषयको तालिम र प्रशिक्षणपश्चात् पूजा नाथ, पूर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुस्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनीषा यादव थापा, रूपान्सा महतो, गीता उप्रेती, विजया रञ्जित र सविना खुलाल छैटौं संस्करणको मिस ब्युटिफुलमा भिड्दै छन्।
त्यसैगरी पाँचौं संस्करणको मिसेस ब्युटिफुलमा मञ्जु अधिकारी, आरती भण्डारी सापकोटा, झुमा देवी ओली (नीलम), विनीता देउला, सुशीला श्रेष्ठ, पवित्रा बञ्जारा, मीना महर्जन, सरू थापा, अञ्जु न्यौपाने, सिर्जना रूपाखेती पाण्डे, रोचना राजोपाध्याय र उमा खड्काले अन्तिम स्पर्धामा छन्।