फुलेन्देको बाउको ‘किधी काप्सा’
हङकङ : फुलेन्देको बाउ उपनामले चर्चित मौसम इम्बुङ लिम्बू र कल्पना नेम्बाङ अभिनीत भिडियो सार्वजनिक भएको छ। लिम्बू समुदायमा सोल्टी सोल्टनीबीचको आत्मिक प्रेम र मायालु संवादमा बनेको गीतलाई भिडियोको स्वरूप दिइएको हो।
हङकङमा छायांकन गरिएको भिडियो युगल पोमो लिम्बूले निर्देशन र कोरियोग्राफी गरेका छन्। पर्यटकीयस्थल सिङ्मुन, वाटर रिजरभर, कौलन पिकलगायतका स्थानमा गीतको भिडियो खिचिएको छ। भिडियो मज्जाको राईले छायांकन, सम्पादन र कलरिङ गरेका छन्।
लिम्बू भाषामा किधी काप्सा भन्नाले मलसाप्रो प्रेम भन्ने अर्थ लाग्छ। मलसाप्रो (न्याउरी मुसा) को प्रेम अजिबको हुन्छ, एकअर्काको प्रेममा लिन भएको बेला आफ्नो ज्यान गएको पनि पत्ता नपाउने मलसाप्रोलाई मिथकको रूपमा गीतमा प्रयोग गरिएको छ।
यासेली योङ्हाङको रचना, देबेन चेम्जोङको संगीत रहेको गीतमा नेपाल स्टार सिजन १ का उपविजेता लक्ष्मण लिम्बू र सीता सिङ्गकले आवाज दिएका छन्।