व्यावसायिक बन्दै युवा
भोजपुर : आर्थिक अवस्था कमजोरका कारण भोजपुर नगरपालिका जोखिमका पृथ्वीराज राई १३ वर्षअघि दुबई पुगे। १८ घण्टा काम गरे पनि उनले तलब थोरै पाउँथे। ४२ डिग्रीको तातो घाममा ठुल्ठूला प्लम्बिङको काम कडा र गाह्रो थियो। तर, पारिश्रामिकभन्दा धेरै पसिना बगेपछि अन्ततः उनी गाउँ फर्किए। घर आएर उनले व्यावसायिक सुँगुरपालन थाले। तीन वर्षअघि सुरु गरेको सुगुर फर्मले अहिले राम्रो आम्दानी दिन थालेको छ। अहिले घरमै बसीबसी विदेशको कमाइ गरिरहेका छन्। विदेशमा गरिने श्रम र लगानी आफ्नै ठाउँमा गर्न सके विदेशको कमाइ घरमै गर्न सकिने उनी सुनाउँछन्।
‘घरको आर्थिक अवस्थाले बिदेसिएँ, तर घण्टांै खटे पनि तलब राम्रो भएन, आखिर गाउँमै बसेर केही इलम गर्ने सोचले चार वर्षअघि फर्किएँ’, पृथ्वीराजले भने, ‘गर्न सके आफ्नै ठाउँमा विदेशको कमाइ गर्न सकिने रहेछ, यहीँ राम्रो आम्दानी बनाउन सकिने रहेछ’, पृथ्वीराज जस्तै विदेशको मोहले ११ वर्षअघि कतार पुगेका बोखिमका अर्का युवा सञ्जीव तामाङ पनि गाउँ फर्केर उदाहरणीय युवा कृषक पात्र हुन्।
श्रमअनुसारको पारिश्रामिक नभएपछि करिब पाँच वर्षअघि घर फर्केका सञ्जीवले टमाटर खेती सुरु गरे। व्यावसायिक टनेल टमाटर खेतीबाटै राम्रो आम्दानी गर्न थालेसँगै उनी सफल युवा कृषक रूपमा गनिन्छन्। टनेलको टमाटर र अन्य तरकारी बालीबाटै वार्षिक चार लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन्। विदेशको मोहले विदेश पलायन हुने युवा पुस्ताले श्रम गर्नसके आफ्नै ठाउँमा राम्रो कमाइ गर्न सकिने बताए। पृथ्वीराज र सञ्जीवजस्ता विदेशबाट फर्किएका धेरै युवा जमात गाउँमै राम्रो इलम गर्न थालेका छन्। श्रम र लगानीअनुसारको राम्रो आम्दानी भएपछि युवा विदेशको मोह त्यागेर व्यावसायिक कृषि र पशुपालनतर्फ उन्मुख भएका छन्। हुन त ‘इच्छा शक्ति भए पाखामा पनि सुन उमार्न सकिन्छ’ भने झैँ विदेशी भूमिबाट फर्किएर आफ्नै ठाउँमा उद्यम गर्ने युवा जमात कमै भेटिन्छन्। विदेशको चौघेरामा पसिना बगाए पनि भोकभोकै बस्नुपर्ने पीडा भोग्नुभन्दा गाउँमै घरपरिवारसँगै मिलेर व्यावसायिक खेती र पशुपालन गर्न सके आर्थिकोपार्जन उकासिने अर्का युवा कविराज राईले बताए। उनले भने, ‘विदेशमा कहिलेकाहीँ बिरामी पर्दा औषधि दिने पनि भेटिन्न, बिरामी बिदामा बस्दा तलब काटिदिने अर्को पीर, त्यो सम्झनुभन्दा त यहीँ ठीक छ, परिवार छ, राम्रै खेती पनि।’
पछिल्लो समय कृषिप्रति मोह बढे पनि व्यावसायिक कृषि र पशुपालनमा लागेका युवा उद्यमीलाई राज्यले प्रोत्साहन गर्न नसकेको युवा अगुवा नवीन प्रधानले बताए। उचित बजारीकरण, उचित मूल्यदर, ढुवानीमा सहुलियत, कर छुट, सीपमूलक कार्यक्रम र कच्चापदार्थको आयातमा छुट र अनुदान नहुँदा कृषिमा उत्साहित युवा पुस्तालाई हतोत्साहित गराएको उनको गुनासो छ।
सरकारी अनुदान र सीपमूलक कार्यक्रम नहुनुले पनि व्यावसायिक कृषि तथा पशुपालनमा लागेका युवा पुस्तालाई अझ निराशा थपिदिएको छ। गत आर्थिक वर्ष युवा लक्षित च्याउ, मह, तरकारी उत्पादन कार्यक्रमका लागि ३० लाख बजेट आएको थियो। जसमा २० लाख ७२ हजार बजेट कोभिड–१९ कारण रोक्का भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाँकी ९ लाख २८ हजार बजेट सामग्री खरिदमा सकिएको थियो। विगतमा युवा लक्षित अनुदानका कार्यक्रम आए पनि यो वर्ष भने कोभिड—१९ कै कारण सबै बजेट रोक्का भएको केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले जानकारी दिए।