सिकलेसको सौन्दर्य

सिकलेसको सौन्दर्य

हातहातमा मोबाइल छन् आजकल। एक क्लिकमै लाइभ हुन्छ। युट्युबरहरूले झन् सबैलाई चलाख बनाएका छन्। मोबाइलको प्रयोग एक हिसाबले धम्कीपूर्ण बन्दै आएको छ। मोबाइलमा नेटवर्कले दिने धोकाका बाबजुद औंला दबाइरहन्छ पटकपटक। वाकीटकी बोकेर हिँड्नेहरू आफ्नै गतिमा छन्। 

कास्कीको मादी गाउँपालिकामा रहेको सुन्दर गुरुङ गाउँ सिकलेस हुँदै कपुचे ताल जाने रुटको सन्दर्भ यस्तै छ। कपुचेलाई सबैभन्दा कम उचाइमा बनेको हिमताल भनिँदोरहेछ। पोखराबाट सिकलेस हुँदै दुई दिनको पैदल यात्रापछि त्यहाँ पुगिन्छ। यात्राको सुरुआत सिकलेसबाट हुने भएकाले त्यहाँका स्थानीय २४ वर्षीय जितमान गुरुङसँगै थिए। हातमा वाकीटकी, कम्मरमा खुर्पेटो र लौरो टेक्दै बाटो लागेको दृश्य अनौठो थियो। उनले बोकेको वाकीटकीले जनयुद्धमा ‘माओवादी हौ’ भन्दै गाउँघरतिर आउने अपरिचित मान्छेहरूको झल्को दिलाउँथ्यो।

गुरुङ भाषा नै बोलीचालीको मुख्यभाषा भएकाले नेपाली बोलेको रुचाउँदैनन्। नेपाली बोल्यो भने जान्ने भइटोपल्यो भन्छन्। तर पनि सोरठी, घाँटु देखाउने चलन यथावत् छ। यो गाउँ आफैंमा एउटा संग्रहालय जस्तो छ।

जितमानको वाकीटकी देखेर प्रश्न गरें, ‘अझै पनि नेटवर्कविहीन छन् है हाम्रा गाउँठाउँ ?’ सिकलेसको नमस्ते होटलका सञ्चालक धन गुरुङ (४०) अर्थात् ‘माल्दाइ’ले नेटवर्कविहीन यात्राबारे जानकारी गराए। सिकलेसमा माल्दाइ निकै प्रख्यात रहेछन्। हिँडिसकेपछि बाटोमा एक ठाउँ मात्रै नेटवर्क आउने भएकाले वाकीटकी महŒवपूर्ण भएको अवगत भयो। हुन त पहाडी जिल्ला भोजपुरमा हुर्किएको भए पनि कपुचे ट्रेकमा जस्तो भीरका बाटो र भयंकर पहाडहरू यात्राका नयाँ सहयात्री बनेर थपिँदै थिए।

सिकलेसबाट हिँडेको करिब तीन घण्टामा एउटा डरलाग्दो भीरको बाटो भेटियो। पुग्नै लाग्दा बाख्रा चराउँदै गरेका एक जना बा भेटिए। उनले भनेका थिए, ‘भीर डँढेलो लागेकाले नांगो छ, तलतिर नहेर्नू, डरायो भने सातो जान्छ, नडराई हिँड्नू।’ खासमा बुट्ट्यान र रुखपात नभएको भीर औधि डरलाग्दो हुने रहेछ। सातोपुत्लो उडाउने त्यो भीरमा दायाँबायाँ फर्किने हिम्मत गरिएन। बेस्सरी चिसो बतासले हान्दै थियो। फटाफट हिँडिरह्यौं। त्यही भीरको टुप्पोमा मात्र भेटिँदोरहेछ नेटवर्क।

भीरको टुप्पोमा पुगेपछि बिसाउने ठाउँ थियो। त्यहीबाट वाकीटकी बोकेर हिँडेका जितमानले पाहुना लिएर आउँदै गरेको समाचार होटललाई दिए। जितमानका अनुसार करिब ९ घण्टा जंगलैजंगलको बाटो हिँड्दा पर्यटकले बाटो बिराए। यात्राबाट फर्केर नआएको घटनाहरू विगतमा घटे। अनेकौं खोँच पार गर्दै, पहाड उक्लँदै, भीर छल्दै हिँड्नुपर्ने भएकाले एकखालको खतरा पनि हुने रहेछ। मालिंगोको टुप्पो भालुले रुचाउँछ रे। यात्राको धेरैजसो भाग मालिंगाको जंगल रहेछ। एक मौसममा भालुको त्रास त छँदैछ, अर्कोतिर बाक्लो झाडी, सिस्नु र जुकाले सताउने तथा जाडोमा हिउँ पर्ने भएकाले जंगलको बाटोमा पर्यटकहरू हराउने डर उत्तिकै।

नेटवर्कले काम नगर्ने भएकाले घुम्न जानेहरू कता पुगे जानकारी राख्नलाई वाकीटकी भरपर्दो माध्यम बनेको रहेछ। सिकलेसबाट हिँडेपछि हुगुगोठ भन्ने ठाउँ नपुगेसम्म मान्छे भेटिन्नन्। बास बस्नलाई अन्त कतै छैन। जितमानका अनुसार घुम्न जानेहरू मध्यरातसम्म गन्तव्यमा नपुग्दा उनीहरू राति नै खोज्न जाने गर्छन्। बाटो अप्ठेरो र लामो भएकाले कतिपयलाई यात्रा तय गर्न चुनौती बन्ने रहेछ। घुमन्तेका गाइड बनेर हिँडेका उनले यात्रामा सबैभन्दा हिँड्न नसक्नेको साथ छोडेनन्। 

थाकेर हैरान भएपछि एकअर्काको मतलव नगरी हिँडिने रहेछ। त्यस्तो बेला जितमान हिँड्न नसक्नेलाई हौसला दिँदै हिडाउँथे। 

साँझ ५ बज्दै गर्दा हुगुगोठ पुग्यौं। ससाना कटेज रहेछन्। छाप्रोले बारिएका। छाप्रोभित्र टेन्ट राखिएका। त्यहाँ माल्दाइका सबैभन्दा जेठो दाइ एक्काजंग गुरुङले पाहुनाको खाने तथा बस्ने व्यवस्था मिलाएका थिए। छाप्रोनजिकै तारमा झुन्ड्याएर राखेको वाकीटकी निकालेर उनी सिकलेसमा रहेका माल्दाइसँग कुरा गर्थे। 

पाहुनाहरू सकुशल समयमै आइपुगेकोमा खुसी देखिन्थे। खच्चड नहिँड्ने त्यो बाटोमा मान्छेले बोकेर पुर्‍याएका खानेकुरा साहै्र मूल्यवान् बन्दोरहेछ। दाल, चामल, अन्डा, कुखुराको मासुलगायतका खानेकुरा सिकलेसबाट बोकेर लैजानु पर्नेरहेछ। तर पनि ठुल्दाइले निकै मीठो र सानदार भोजन गराउँदा रहेछन्। एक वर्ष ठ्याप्पै बन्द भएको सिकलेस भर्खरै सल्बलाउन थालेको छ। कोभिडअघि नेपाली पर्यटकभन्दा विदेशी धेरै हुन्थे तर हाल आन्तरिक पर्यटक बढी आउने माल्दाइको भनाइ छ।

लमजुङ हिमालको फेदमा रहेको गुरुङ गाउँको फरक खालको संस्कृतिले आन्तरिक पर्यटकहरूलाई तान्न थालेको माल्दाइको ठम्याइ छ। दुई हजार उचाइमा रहेको यस गाउँमा सात सय घरघुरी छन्। २५ सयभन्दा धेरै जनसंख्या छ। ९० प्रतिशत गुरुङ र अन्य दलित समुदायका बसोबास छ। सबै जातजातिका मान्छेले गुरुङ  भाषा बोल्दा रहेछन्।

माल्दाइका अनुसार गाउँमा गुरुङ भाषा नै बोलीचालीको  मुख्यभाषा भएकाले नेपाली बोलेको रुचाउँदैनन्। नेपाली बोल्यो भने जान्ने भइटोपल्यो भन्छन्। सोरठी, घाँटु देखाउने चलन यथावत् छ। यो गाउँ आफैंमा एउटा संग्रहालय जस्तो छ। फरक खालको परिवेशमा देख्न पाइन्छ। जोडिएका घर। ढुंगाकै छानो, ढुंगाकै बाटो। अन्नपूर्ण २, अन्नपूर्ण ४ तथा लमजुङ हिमाल यहाँबाट देखिन्छ। अन्नपूर्ण २ विश्वको सबैभन्दा ठूलो हिमपहिरो जाने ठाउँ सिकलेसबाटै देखिन्छ।

करिब १५ वर्ष पहिलासम्म यहाँका प्रत्येक घरका पुरुषहरू विदेश जान्थे। लाहुरे बन्थे। एउटा घरमा कम्तीमा तीन जना ब्रिटिस तथा इन्डियन आर्र्मी हुन्थे। 

तर अहिलेको पुस्ता आफ्नै ठाउँमा केही गर्न लागेका छन्। सबैले होमस्टे चलाएका छन्। माल्दाइ एउटा उदाहरण हुन्। युरोप जाने तयारीमा लागेका उनी सिकलेसमा बसेर होटल तथा पर्यटन प्रवद्र्धनमा लागेका छन्। उनीहरूको पारिवारिक व्यापार व्यवस्थापनका कारण हामीजस्ता घुमन्तेलाई सजिलो बनेको छ।

मादी—१ सिकलेसका वडाध्यक्ष सुरजकुमार गुरुङका अनुसार पोखराबाट यहाँ आउन एउटा पुल चाहिएको छ। हाल भीर फोड्ने काम हुँदैन। करिब पाँच सय मिटरको झोलुंगेपुल बनाउने तयारी भइरहेको छ। त्यसपछि पोखराबाट यहाँ पुग्न झनै सजिलो हुनेछ। उनले भने, ‘असारसम्म काम सकाउने तयारीमा छौं।’ 

पोखराबाट सिकलेस पुग्न करिब ३५ किलोमिटर दूरी पार गर्नुपर्छ। गुरुङका अनुसार १० किलोमिटर सडक कालोपत्रे हुँदैछ र अर्को १० किलोमिटर हुन बाँकी छ। तर अफरोडको बाटो हुँदै सिकलेस पुग्नुको मज्जा पनि बेजोडको हुँदोरहेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.