हेटौँडामा नयाँ औद्योगिक क्षेत्र
हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा नयाँ औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ। एक कार्यक्रमबीच संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले हेटौंडा उपमहानगरपालिका–१३ र १४ मा स्थापित मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।
संघीय सरकारले २०७२ साल चैत १ गते मयूरधापको ३ सय बिघा जमिनमा नयाँ औद्योगिक क्षेत्र घोषणा गरे पनि जग्गाको भोगाधिकार विवादका कारण निर्माणकार्य अघि बढेको थिएन। सरकारले औद्योगिक क्षेत्रको नाममा जग्गाको लालपुर्जा दिए पनि पर्सा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्राधिकारभित्रको जमिन भन्दै जग्गा उपयोगमा रोक लगाएको थियो। निकुञ्जसँगको सहमतिपछि आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाउन शिलान्यास गरिएको हो। औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले दुई वर्षदेखि बजेट विनियोजन गरे पनि भोगाधिकार विवाद हुँदा बजेट फ्रिज हुँदै आएको थियो।
मन्त्रिपरिषद् निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपुर्जा मयूरधाप औद्योगिक क्षेत्रका नाममा नामसारी गरिएको थियो। औद्योगिक क्षेत्र तयारीका लागि करिब साढे सात अर्ब खर्च अनुमान गरिएको छ। डीपीआर तयारीपछि मुद्रण विभागले नोट छाप्ने उद्योग स्थापनाको सम्झौता गरेपछि बाँकी जमिनलाई ४ देखि १४ रोपनीसम्मका गरी ६३ वटा प्लटमा विभाजन गरिएको हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए। दुई वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने औद्योगिक क्षेत्रको लक्ष्य छ। मयूरधाप औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि आशयपत्र माग गर्दा २ सय ५० वटा उद्योगले आशयपत्र दिएको उनले जानकारी दिए। नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबमोजिम सुरक्षण मुद्रण विभागलाई मुद्रण प्रेस स्थापना गर्न २ सय ५० रोपनी जग्गा उपलब्ध गराइएको छ।
राजनीतिक स्थायित्व आवश्यक : भट्ट
मन्त्री भट्टले जबसम्म देश राजनीतिक स्थायित्व नहुँदासम्म देशको विकास नहुने बताए। औद्योगिक क्षेत्र शिलान्यास गर्दै उनले भने, ‘औद्योगिक क्षेत्रको लागि के के सुविधा छुट दिन सकिन्छ त्यसबारे छलफल भइरहेको छ।’
बागमती प्रदेशका डोरमणि पौडेलले उद्योगका नाममा जग्गा ओगट्ने मात्रै नभई उत्पादन र रोजगारमुखी उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग संघका अध्यक्ष लेखराज पोखरेल, संविधानसभा सदस्य अनन्त पौडेलले उद्योगको विकास गरी रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताएका थिए।