सुन्तला बगैंचा ब्यवस्थापनमा व्यस्त किसान

सुन्तला बगैंचा ब्यवस्थापनमा व्यस्त किसान

स्याङजा : स्याङजाका सुन्तला किसान अहिले सुन्तला बगैंचा ब्यवस्थापनमा व्यस्त छन्। सुन्तला टिपेपछि किसानहरु सुन्तलाका बोटको सरसफाईसँगै आवश्यक खाद्य तत्व दिने गर्छन्। 

सुन्तलाका फल टिपेपछिको पुस, माघ, फागुन महिना गोडमेलको हो। नयाँ पालुवा पलाउँदै गरेका सुन्तलाका बोटलाई सुरुमै राम्रो स्याहार सुसार र खाद्यतत्व दिनसके उत्पादन बढ्नेमा किसानको बुझाइ पुगेको छ।

आउँदो वर्षमा उत्पादन बढाउन आवश्यक मलजल सहितको तत्व दिनुपर्ने बताउँछन् सुन्तला सुपरजोन कार्यालयका प्रमुख माधव लम्साल। उनले भने, ‘बगैंचा ब्यवस्थापनमा अनावश्यक हाँगाबिगाँको छाँटकाँट, मलजल, बोडो मिस्चर एवम् निलोतुथो लगाउने, चुना छर्ने, छापो र प्रयाप्त सिंचाईका काम गरिन्छ।’ 

यसो गर्नाले सुन्तलाका बोट स्वस्थ्य र सन्तुलित हुन्छ। आगामी वर्षमा राम्रो उत्पादन लिन सकिन्छ। सुन्तला टिप्दा हाँगा लछारिने, फल टिप्दा आवश्यकता भन्दा बढी हाँगा वा पात भाँच्ने, बोटलाई अनावश्यक हल्लाउने जस्ता कार्यले बोटलाई चोट पुर्‍याएको हुन्छ। बगैंचा ब्यवस्थापनले यसरी चोट पुगेका बोटहरु निको हुने र उत्पादनमा वृद्धि हुने बताउँछन् सुन्तला किसान मुक्ति अधिकारी। 

पुतलीबजार नगरपालिका १० स्थित झण्डै ८० रोपनी क्षेत्रफलमा सुन्तला फलाएका अधिकारी बिगत एक महिनादेखि बगैंचा ब्यवस्थापनमा जुटेका छन्। दैनिक ४-५ जना कामदार सुन्तला बगैंचा सहित बोटको स्याहारमा जुटेका उनले बताए। सुन्तलाबाट उनले यसवर्ष मात्र २४ लाख आम्दानी गरेको जनाए। उनी जस्ता जिल्लामा दर्जनौं सुन्तला किसान छन्, जसले वर्षेनी लाखौं आम्दानी गर्दछन्।   

स्याङजामा सुन्तलाका लागि उपयुक्त हावापानी छ। उत्तर फर्केको र चिसो भूभाग सुन्तलाका लागि उपयुक्त मानिन्छ। यहाँका भीर पाखा जताततै सुन्तलै सुन्तला रोपिएका छन्। भुगोलले पनि साथ दिएकाले जिल्लाभर २ हजार १ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ। यसवर्ष सुन्तलाबाट किसानले ५० करोड आम्दानी गरेको र १५ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको प्रमुख लम्सालले जानकारी दिए। 

जिल्लाको ११ वटा पालिका मध्ये २ पालिका बाहेक अन्य सबै पालिकामा सुन्तला उत्पादन राम्रो हुन्छ। पुतलीबजार, अर्जुनचौपारी, भीरकोट र वालिङका केही वडा समेटेर सुन्तला सुपरजोन परियोजना लागु भएका छन्। 

सुन्तलाका बिरुवा रोपेको ४-५ वर्षदेखि फल दिन सुरु हुन्छ। सुन्तलालाई वर्षको एकपटक यसरी गोडमेल, सिंचाई, सुन्तलाका हाँगाबिगाँमा निलोतुथोले रंगाउने, छापो भर्ने काम र वर्षमा एक दुई पटक बगैंचाभित्रका झारपात उखाल्ने काम भने गर्नुपर्ने हुन्छ। यति गरेपछि सुन्तलाले राम्रो फल दिन्छ। अहिले सुन्तलाका पालुवा पलाउने क्रम सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.