क्रसर उद्योगको मनोमानी : उत्खननले गाउँ नै जोखिममा

क्रसर उद्योगको मनोमानी : उत्खननले गाउँ नै जोखिममा

विराटनगर : केराबारी गाउँपालिका—८ आमजुंगी बस्तीमा पाँच सय घरपरिवार बस्छन्। खदम खोला किनारमा रहेको यो बस्तीका नागरिकको सैयौं कट्ठा जमिन पनि यसै खोला किनार आसपासमा छ। खोलाबाट ल्याएको नहरले खेतीमा सिँचाइ गर्दै उनीहरूका पुर्खाले यो स्थानमा धेरै युग सहजै बिताए।

न उनीहरूलाई खोलाले गाउँ बगाउला भन्ने चिन्ता थियो न त, खेती गर्न र खानका लागि पानीको अभाव नै। तर, केही वर्षअघि खोला किनारमा दुई वटा क्रसर स्थापना भएर खोलामा मापदण्डभन्दा बढी उत्खनन गर्न थालेपछि खोलाको धार गाउँतर्फ सोझिएको छ। क्रसर उद्योगको ध्वनिले गाउँमा सामान्य रूपमा कुराकानीसमेत गर्न सक्दैनन् स्थानीयवासी। पछिल्लो समय यसै विषयले नयाँ रूप लिएको छ। क्रसर व्यवस्थित रूपले चलाउन माग गर्दै गाउँले आन्दोलित बनेका छन्। 

समयमा स्थानीय तहका जनप्रतिनिधि र क्रसर उद्योगीले स्थानीयको समस्या समाधान नगर्दा यस क्षेत्रका पीडित स्थानीय गाउँपालिका घेराउदेखि तोडफोडसम्म उत्रिएका छन्। शनिबार क्रसर उद्योग क्षेत्रमा नाराजुलुस लगाउँदै टिपर र स्काभेटर रोकेका स्थानीयले आइतबार गाउँपालिकाको कार्यालय घेराउसमेत गरे। आइतबार गाउँपालिकाको कार्यालय रहेको क्षेत्र दिनभर तनावग्रस्त बन्यो। 

क्रसर उद्योग र उत्खनन भएको क्षेत्रमा नै पुगेर क्रसर उद्योग हटाउन र प्रहरी प्रशासन मिलेमतोमा नफस्न स्थानीयले समूहले गाउँपालिका कार्यालयमा ताला लगाउन खोज्दा प्रहरीसँग ठेलाठेलसमेत भयो। ठूलो संख्यामा परिचालन भएको प्रहरीले दिनभर गाउँपालिकाको कार्यालय र जनप्रतिनिधिलाई सुरक्षा दिनुप¥यो। अझै पनि स्थानीयको समस्या समाधान भएको छैन। 

गाउँ नजिकै भएर बग्ने खदम खोलामा रहेका दुई क्रसर उद्योगले गाउँतर्फको भागमा अत्यधिक गहिरो पार्दै गिटी, बालुवा उत्खनन गरेका कारण गाउँ बाढीको उच्च जोखिममा परेको स्थानीयको गुनासो छ। महादेव मिनरल इन्ड्रस्टिज र शिवम् क्रसर उद्योगले अव्यवस्थित रूपमा उत्खनन गर्दै गाउँसम्म आइपुगेकाले केराबारी गाउँपालिका–८ आमजुंगी बस्ती जोखिममा परको स्थानीय गोपाल खड्का बताउँछन्। ‘पहिले त उत्खनन धेरै टाढा थियो, अहिले खोलाभन्दा गहिरो पार्दै बस्तीतर्फ उत्खनन गर्दै ल्याएकाले गाउँ नै जोखिममा परेको’, खड्काले भने ‘हामीले बारम्बारभन्दा समेत बेवास्ता गरेकाले आन्दोलित बन्नु परेको हो।’

गत जेठ महिनामा खोला खुलाउने (गिटी, बालुवा निकाल्न दिने) गाउँपालिकाले तयारी गर्दा नै स्थानीयले त्यसको विरोध गरेका थिए। खोला मापदण्डमा रहेर उत्खनन गर्ने गाउँपालिकाले बताएपछि ढुक्क भएका स्थानीय अकस्मात खोला सकेर गाउँतर्फ उत्खनन बढ्दै जाँदा झस्किएका स्थानीय गोपाल थापा बताउँछन्। ‘गाउँपालिकाले मापदण्डमा खन्न दिने बताएकाले विश्वास गरेका थियौं तर पछि हेर्दा खोला कोल्टिसकेको थियो’, उनले भने ‘मंसिरमा नै सचेत गराएका थियौं तर कसैले टेरेन।’

खोलाको अवैध र मापदण्डविपरीत उत्खनन भएकाले यसलाई रोक्न भन्दै स्थानीयले हस्ताक्षर संकलन गर्दै इलाका प्रहरी कार्यालय केराबारी र वडा कार्यालयमा निवेदन दिँदासमेत यसको सुनुवाइ नभएको स्थानीय बताउँछन्। ‘मंसिरमा नै जनप्रतिनिधि र प्रहरीलाई जानकारी गराए पनि उहाँहरूले यस विषयमा चासो दिनु भएन’, स्थानीय जितबहादुर बस्नेत भन्छन् ‘अहिले बाध्य भएर जनप्रतिनिधि र प्रहरी प्रशासनका विरुद्ध आन्दोलिन हुनु परेको हो।’

खोला किरानामा महादेव मिनरल इन्डस्ट्री र शिवम् क्रसर उद्योग सञ्चालित छन्। महादेव मिनरल इन्डस्ट्री उद्योगी भीम पौडेलले सञ्चालन गरेका छन् भने शिवम् देवु तामाङले चलाइरहेका छन्। शिवम्ले भन्दा महादेवले गाउँतर्फको किनारको जमिन बढी उत्खनन गरिरहेको स्थानीयको भनाइ छ। अहिले दुवै क्रसर उद्योगले यस क्षेत्रमा तीस फुटसम्म गहिरो बनाएर नदी उत्खनन गरेको प्रत्यक्ष देखिन्छ।

विरोध गर्दा मुद्दा
क्रसर उद्योगले खोला दोहन मापदण्डविपरीत गर्दा गाउँ नै जोखिममा परेको भन्दै शनिबारदेखि आन्दोलनमा उत्रिएकामध्ये चार जनालाई क्रसर उद्योगी भीम पौडेलले इलाका प्रहरी कार्यालय बेलबारीमा चोरीमा उजुरी दिएका छन्। 

आन्दोलित बनेका स्थानीयलाई त्रास देखाउन टिपर रोकेर १७ लाख चोरी गरेको आरोप लगाउँदै प्रहरीमा क्रसर व्यवसायीले उजुरी दिएको स्थानीयको गुनासो छ। क्रसर सञ्चालक पौडेलले स्थानीय गोपाल खड्का, गोपाल थापा, जितबहादुर बस्नेत र राजेश राईविरुद्ध चोरी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन्। स्थानीयलाई फसाउन उजुरी दिएको भन्दै स्थानीयवासी थप आन्दोलित बनेका छन्। 

स्थानीय जितबहादुर बस्नेतका अनुसार खदम खोलाको गाउँतर्फको भागबाट क्रसरसँगै टिपर र उत्खनन गर्ने स्काभेटर हटाउन भन्दै क्रसर उद्योग पुगेका स्थानीयमध्ये चार जनालाई प्रहरीमा उजुरी दिएको छ। क्रसर सञ्चालक र स्थानीयबीच शनिबार विवाद हुँदा आक्रोशित स्थानीयले क्रसर उद्योगको बिल काउन्टरको सिसा तोडफोडसमेत गरेका थियो। सोही रिस साँध्न स्थानीयलाई प्रहरीमा उजुरी दिएको हुन सक्ने स्थानीय बस्नेत बताउँछन्। विवाद र तोडफोड हुँदा प्रहरी र अन्य स्थानीयसमेत उनीहरूसँगै रहेकाले उजुरी दिएका चार जना निर्दोष रहेको स्थानीयको दाबी छ।

क्रसर उद्योग सञ्चालक भीम पौडेलले जनप्रतिनिधिदेखि प्रहरी प्रशासन सबैलाई मिलाएकाले अवैध उत्खनन नरोकिएको र प्रहरी प्रशासनले पनि पौडेललाई नै साथ दिने गरेको स्थानीयको आरोप छ। गाउँपालिका अध्यक्ष रोहितकुमार कार्कीले यस विषयमा आन्दोलित स्थानीय र क्रसर सञ्चालकलाई राखेर वार्ताको प्रयास गरिरहेको बताए। समस्याको विषयमा बुझ्न पटकपटक अन्नपूर्णले फोन गर्दा क्रसर व्यवसायी भीम पौडेल सम्पर्कमा आउन चाहेनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.