भक्तपुरमा अध्यक्ष छान्न दाहाल–नेपाललाई हम्मेहम्मे !

भक्तपुरमा अध्यक्ष छान्न दाहाल–नेपाललाई हम्मेहम्मे !

भक्तपुर : भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहको अध्यक्षमा चारजना नेताहरुले दावी गरेका छन्। एउटै पदमा चार नेताको दावी भएपछि दाहाल–नेपाल समूहलाई भक्तपुरमा अध्यक्षको जिम्मेवारी दिन नै हम्मेहम्मे भएको छ।

पार्टी एकीकरण गरिँदा भक्तपुरमा अध्यक्ष पूर्वएमाले र सचिव पूर्वमाओवादीले पाएका थिए तर पार्टी विभाजत हुँदा भक्तपुरका जिल्ला अध्यक्ष बचन देउवा ओली समूहमा लागेपछि दाहाल–नेपाल समूहले उनको ठाउँमा अर्को नेतालाई अध्यक्ष बनाउने तयारी अघि बढाएको हो।

दाहाल–नेपाल समूहले पार्टी विभाजित हुनुभन्दा अघि जुन दल जे जिम्मेवारीमा छन्, त्यसैलाई निरन्तरता दिने नीति लिएको छ। सोही नीतिअनुसार पूर्वएमालेका चार जिल्ला नेताहरुले भक्तपुरको अध्यक्षमा दावी गरेका छन्। यहाँ पूर्वएमालेका श्याम बस्नेत, रजन केसी, अनिल श्रेष्ठ र शम्भुप्रसाद दाहालले अध्यक्षमा दावी गरेका हुन्।

अध्यक्ष दावी गर्ने चार जिल्ला नेतामध्ये शम्भुप्रसाद दाहाल यो समूहमा पछि आएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा उनी कुनै पनि समूहमा खुलेका थिएनन्। उनी नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद मिश्रसँगै दाहाल–नेपाल समूहमा खुलेका थिए। एमाले छँदै माधवकुमार नेपाल पक्षीय भनी चिनिएका मिश्रसमेत करिब १० दिनपछि मात्रै दाहाल–नेपाल समूहमा खुलेका थिए। उनी नेकपाको भक्तपुर जिल्लाका सहइन्चार्जसमेत हुन्। त्यस्तै भक्तपुरको चाँगुनारायण नपाका प्रमुख छन्।

प्रमुख मिश्रले दाहाललाई आफ्नो निजी कानुनी सल्लाकार बनाएका छन्। यसरी केन्द्रीय सदस्य मिश्र खुलेसँगै पहिले भक्तपुरमा महेश बस्नेत गुटको भनी चिनिएका दाहाल दाहाल–नेपाल समूहमा खुलेका थिए।

नेकपा स्रोतका अनुसार केन्द्रीय सदस्य मिश्रले दाहाललाई दाहाल–नेपाल समूहको भक्तपुर अध्यक्ष बनाउने आश्वासन दिएका थिए। भक्तपुर जिल्लाको अध्यक्ष दिने भनेपछि दाहाल ओली समूह छोडेर दाहाल–नेपाल समूहमा आएको पूर्वएमालेकै एक जिल्ला नेता स्वीकार गर्छन्।
‘नत्र हिजो महेश बस्नेत गुटमा लागेका उहाँ अहिले ढिलो गरी किन यता आउनुभयो ?’, उनको प्रश्न थियो।

सोहीअनुसार सहइन्चार्ज मिश्रले दाहाललाई जिल्ला अध्यक्ष बनाउन दबाब दिँदै आएको बुझिएको छ। चाँगुनारायण नपा ३ झौखेल निवासी दाहाललाई जिल्ला अध्यक्ष बनाउने आश्वासन पाएपछि पार्टी विभाजित हुँदा नखुलेका करिब ५ जना पूर्वएमाले दाहाल–नेपाल समूहका खुलेको ती जिल्ला नेता बताउँछन्। दाहाल कानुन व्यवसायीसमेत हुन्।

उनका अनुसार अध्यक्ष दावी गर्ने अन्य पूर्वएमालेहरुमध्ये अनिल श्रेष्ठलाई बागमती प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले समर्थन गरेका छन्। सूर्यविनायक नपा १० चित्तपोल निवासी श्रेष्ठ भक्तपुरको बाराहीस्थानस्थित महेन्द्र विद्या आश्रमका शिक्षक हुन्।

त्यस्तै अर्का जिल्ला नेता रजन केसी काठमाडौंको शंकरदेव क्याम्पसमा कर्मचारी हुन्। सूर्यविनायक नपा ७ गुण्डु निवासी केसीको पहुँच पार्टीको केन्द्रसम्म रहेको छ। सोही आधारमा आफ्ना पहुँचका केन्द्रीय नेताहरुको आडभरोषामा उनले जिल्ला अध्यक्षमा दावी गरेका पूर्वएमालेहरु नै बताउँछन्।

अध्यक्षमा दावी गर्ने श्याम बस्नेत पनि सूर्यविनायक नपाकै वासिन्दा हुन्। विद्यार्थीकालदेखि एमालेको राजनीतिमा लागेका उनले पार्टीका योगदानको आधारमा अध्यक्षमा दावी गरेको बताउने गरेका छन्।

अध्यक्षमा दावी गर्ने बस्नेत, केसी र श्रेष्ठ भने पार्टी विभाजित हुँदादेखि नै दाहाल–नेपाल समूहमा सक्रिय भएर लागिपरेका थिए। त्यसैले उनीहरुले अध्यक्षमा दावी गर्ने दाहाललाई ल्याइतेतर्फका नेतालाई नेतृत्व मान्न नसकिने अडानसमेत लिँदै आएका छन्।

यो समूहका भनी चिनिएका पूर्वएमालेका १५ जिल्ला सदस्यहरुमध्ये बस्नेत, केसी र श्रेष्ठसँगै दीपक बिसुन्के, माइलाबाबु देउला, पुरुषोत्तम लामिछाने, भवानी खड्का र प्रेम श्रेष्ठमात्रै सुरुमै खुलेका थिए।

भक्तपुरका सहइन्चार्जसमेत रहेका केन्द्रीय सदस्य मिश्रले कित्ता स्पष्ट गरेपछि जिल्ला सदस्य रहेकी मिश्रकै श्रीमती मन्दरा मिश्र, शम्भु दाहाल र विनोद केसी दाहाल–नेपाल समूहमा खुलेका थिए। दाहाल–नेपाल समूहको जिल्ला समितिको माइन्युटमा हस्ताक्षर गर्नेमध्ये अझै पूर्वएमालेतर्फका ५ जना नेताहरु खुल्न सकेका छैनन्।

जबकि पूर्वमाओवादीका ६२ जना जिल्ला समिति सदस्यमध्ये ५८ जना खुलिसकेका छन्। जिल्लाभित्रैबाट भक्तपुरको अध्यक्षमा सहमति हुन नसकेपछि दाहाल–नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिवको जिम्मेवारी टुंग्याउँदा भक्तपुर छुट्न पुगेको थियो। जिल्लाबाट सहमति नजुटेपछि केन्द्रले यसबारे निर्णय दिने नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापति बताउँछन्।

उनले केन्द्रीय नीतिअनुसार पूर्वएमालेको तर्फबाट अध्यक्ष बनाउन खोज्दा ४ जनाले दावी गरेकाले केन्द्रलाई नै अध्यक्षबारे टुंग्याउने जिम्मेवारी दिइएको स्पष्ट पारे।

‘जिल्लामा ४ जना साथीहरुले अध्यक्षमा दावी गर्नुभयो। सोहीअनुसार केन्द्रलाई नै अध्यक्ष टुंग्याउने जिम्मेवारी पठाएका छौं’, इन्चार्ज प्रजापतिले भने, ‘जिल्लाबाट दावी गर्ने साथीहरु र अन्य विकल्पबारे विविध कोणबाट केन्द्रमा सुझावसमेत पठाएका छौं।’

केन्द्रले भने प्रदेश कमिटीमार्फत भक्तपुरको अध्यक्ष चयन गर्ने प्रक्रिया अघि बढाइएको बुझिएको छ। प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य छिन्। पूर्वएमालेकै रहेका शाक्यले भक्तपुरका पूर्वएमालेकै नेता तथा कार्यकर्ताहरुसँग सल्लाह गर्दै रहेको पूर्वएमाले स्रोतले बतायो।

उनले दाहाल–नेपाल समूहअन्तर्गत पूर्वमाओवादीहरु अत्यधिक मतमा रहेको भक्तपुरमा अध्यक्षमात्रै पूर्वएमालेबाट हुँदा जिल्लामा पार्टीको गतिविधि तथा प्रभावकारिता प्रभावित हुनसक्ने औंल्याए। त्यसैले अहिले जिल्ला सचिव रहेका डीपी ढकाललाई अध्यक्ष बनाएर पूर्वएमालेका तर्फबाट सचिव बनाउँदा भक्तपुरमा पार्टी एकता चाँडै टुंगिने उनको दावी छ।

यस विषयमा पनि छलफल भएको जिल्ला इन्चार्ज प्रजापति स्वीकार गर्छन् तर पार्टी केन्द्रले निर्णय नदिँदासम्म जिल्लाले केही गर्न नसकिने उनी बताउँछन्। प्रजापति पनि पूर्वमाओवादी नेता हुन्।‘हिजो पार्टी एकता हुँदा जुन पार्टी जे जिम्मेवारीमा थियो त्यसैलाई निरन्तरता दिने भन्ने पार्टीको नीति रहेको छ’, उनले थपे, ‘जिल्ला समितिले त केन्द्रको नीति र निर्णय कार्यान्वयनमात्रै गर्ने हो।’

जिल्लामा विवाद भएको हिसाबले प्रदेश कमिटीको सचिवालय सदस्यसमेत रहेका हालका सचिव ढकाललाई नै भक्तपुरको अध्यक्ष बनाएर अघि बढे पार्टी थप प्रभावकारी हुने प्रजापतिको भनाइ छ।

भक्तपुरमा सहमतिको आधारमा पूर्वएमालेलाई सचिव दिइए पनि अध्यक्षमा दावी गरेका चारैजनाले त्यसमा पनि आफ्नो दावी नछोड्ने सम्भावना बढेको छ।

भक्तपुरमा ओली समूह अल्पमतमा

भक्तपुरमा विभाजित नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली समूह अल्पमतमा रहेका छ। सुरुमा जिल्ला अध्यक्षसहित ४५ जना जिल्ला सदस्य रहेको यो समूहले अहिले ५५ जनासम्मलाई समेट्न सकेको छ।

साविक एमाले र माओवादी केन्द्रबीच पार्टी समायोजन हुँदा भक्तपुरमा एकसय ४५ जनाको जिल्ला समिति गठन गरिएको थियो। भागबन्डाको आधारमा गठन गरिएको जिल्ला समितिमा पूर्वएमालेका ८२ जना र पूर्वमाओवादीका ६३ जना सदस्य थिए। माओवादी कोटाबाट जिल्ला सदस्य भएका एकजना सदस्यको निधन भएको थियो।

जसअनुसार एकसय ४४ सदस्यीय जिल्लासमितिमध्ये दाहाल–नेपाल समूहमा ६९ जनाले हस्ताक्षर गरेका छन्। पूर्वमाओवादीका करिब आधा दर्जन जिल्ला सदस्य खुलेका छैनन्। जसमध्ये एक भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल रहेका छन्। त्यस्तै माओवादीतर्फ भक्तपुरका पूर्व जिल्ला अध्यक्ष भास्कर प्रधानाङकी श्रीमती सुचित्रा श्रेष्ठ पनि खुलेका छैनन्।

भक्तपुरमा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, भक्तपुर इन्चार्ज दिलीप प्रजापति र सहइन्चाज सोमप्रसाद मिश्र गरी नेकपाका ३ जना केन्द्रीय सदस्य रहेका छन्। जसमध्ये सांसद बस्नेत ओली समूहमा लाग्दा प्रजापति र मिश्र दाहाल–नेपाल समूहमा सक्रिय छन्।

भक्तपुरका चारजना प्रदेशसभा सदस्यमध्ये दुवै समूहमा आधाआधा रहेका छन्। शशिजंग थापा र सरस्वती बाटी ओली समूहमा छन्। राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठ दाहाल–नेपाल समूहमा लागेका छन्।

त्यस्तै भक्तपुरका ३ जना मेयर र २ जना उपमेयरमध्ये केन्द्रीय सदस्य एवं चाँगुनारायण नपाका मेयर मिश्र दाहाल–नेपाल समूहमा छन्। मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ र सूर्यविनायक नपाका मेयर वासुदेव थापा तथा उपमेयर जूना बस्नेत र चाँगुनारायण नपाकी उपमेयर वीणा बाँस्तोला ओली समूहमा लागेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.