कृष्णसारलाई आहारा संकट

कृष्णसारलाई आहारा संकट

गुलरिया : संरक्षित वन्यजन्तु कृष्णसारलाई आहारा संकट परेको छ। आहाराका लागि मौसमी खेती गरिए पनि हिउँदे वर्षा नहुँदा चरण क्षेत्रमा घाँसको समस्या बढेको छ। प्राकृतिक घाँसले कृष्णसारको आहारा पर्याप्त नभएकाले वैकल्पिक आहारको रूपमा गहुँ, मुसुरो, मकै, तोरीलगायतका अनाज छर्ने गरिएको छ।

कृष्णसार संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अर्जुन भुसालले भने, ‘हामीसँग सिँचाइको पर्याप्त सुविधा छैन। आहाराका लागि आकासेपानीको भर पर्नुपर्ने बाध्यता छ। यस वर्ष हिउँदे वर्षा नहुँदा आहारा उत्पादनमा ह्रास आएको छ।’ 

कृष्णसारका लागि करिब १० हेक्टर क्षेत्रफलमा मौसमी खेती हुने गरेको छ। पानीको व्यवस्था हुन सके आहारा पर्याप्त हुन्छ। कृष्णसारको दिगो संरक्षणका लागि सरकारले २०६७ चैत्र ३ गते संरक्षण क्षेत्र घोषणा गरेको थियो। कुल १६ दशमलव ९५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्रको ५ दशमलव २७ वर्गकिलोमिटर कृष्णसारको बासस्थान क्षेत्र हो। 

जसमा ११ दशमलव ६८ वर्गकिलोमिटर आवादी क्षेत्र पर्छ। बासस्थानले १० दशमलव १५ किलोमिटर परिधि ओगटेको छ। संरक्षण क्षेत्रले बर्दियाको गुलरिया नगरपालिकाअन्तर्गत वडा नम्बर १, २, ३, ४ ओगटेको छ। 

सरकारले कृष्णसार संरक्षणका लागि २०६७ भदौ १० गते देखि कार्यालय स्थापना गरी संरक्षण कार्य अघि बढाएको हो। लोपोन्मुख कृष्णसार संरक्षणमा विविध चुनौती छन्। विभिन्न समयको बाढीले कृष्णसार बग्ने गरेका छन्। ‘विगतमा बाढीका अनुभवहरू बटुल्दै कृष्णसारलाई बाढीबाट जोगाउन संरक्षण क्षेत्रमा उच्चस्थली (माउन्ट) निर्माण गरेका छौं। भुस्याहा कुकुरको आक्रमणको पनि उत्तिकै समस्या छ’, अधिकृत भुसालले भने। 

प्राकृतिक बासस्थानमा १ सय ९७ वटा कृष्णसार छन्। पछिल्लो समय कृष्णसारलाई चितुवाले आक्रमण गर्न थालेका छन्। १० महिनाको अवधिमा २५ वटा कृष्णसार चितुवाको सिकार भएका छन्। संरक्षण क्षेत्र अतिक्रमणको चपेटामा छ। सुकुम्बासी बस्ती व्यवस्थापन गर्न नसक्दा लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्बासी संरक्षण क्षेत्र भित्रै बस्न बाध्य छन्।

विश्वव्यापी महामारी कोभिडका कारण कृष्णसार संरक्षण क्षेत्रमा पर्यटकीय गतिविधि कम छ। कृष्णसार संरक्षण क्षेत्रमा पर्यटकलाई लक्षित गर्दै सडक, भ्युटावरलगायतका भौतिक पूर्वाधार निर्माण गरिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.