प्राङ्गारिक कृषि प्रणालीमा जोड
डोटी : पछिल्लो समय कृषि उपजमा रासायनिक वस्तुको प्रयोग बढ्न थालेपछि यसलाई कम गर्न र मानव जीवनमा पर्ने असर न्यूनीकरण गर्न डोटीमा प्राङ्गारिक कृषि प्रणाली सुरु हुने भएको छ ।
पूर्वीचौकी गाउँपालिका– २ बगलेक र झिग्राना क्षेत्रमा आलु खेतीमा प्राङ्गारिक कृषि प्रणालीको थालनी हुने भएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए । रासायनिक विषादी प्रयोगबाट मानव जीवनमा नै विभिन्न असर देखिन थालेकाले प्राङ्गारिक कृषि प्रणालीमा जोड दिनु परेको पनेरुले बताए । सुरुवाती चरणमा उक्त क्षेत्रका केही किसानका खेतबारीमा यो प्रणाली सुरु गरिने बताइएको छ । प्राङ्गारिक खेती गरिने जमिनमा रासायनिक वस्तुको प्रयोग हुनुहुदैन र रासायनिक खेती भन्दा केहि मिटर टाढानै हुनु पर्दछ ।
जमिनलाई प्राङ्गारिक खेतीका लागि रुपान्तरण गर्न ३ वर्ष लाग्ने बताइएको छ । सो अवधिमा कुनै किसिमको रासायनिक वस्तुको प्रयोग हुनु हुँदैन । कम्पोष्ट मल र गोवर ग्याँसको लेदोलगायत वस्तुको प्रयोग गरिनुपर्दछ ।
सुदूरपश्चिमका नौवटै जिल्लामा प्राङ्गारिक कृषि प्रणाली सुरु हुन थालेको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए । यसका लागि प्रदेशभरी ४ करोड बजेट विनियोजन गरिएको जोशीले बताए ।
यो प्रणालसुदूरपश्चिम प्रदेशको नयाँ कार्यक्रमका रूपमा प्राङ्गारिक–कृषि प्रणाली शुरूवात गर्न विशेषगरी उपभोक्ता सचेत हुनुपर्ने कृषि विकास निर्देशनालयका निर्देशक जोशीले जोड दिए ।
यससँगै स्थानीय जनप्रतिनिधि, कृषिमा कार्यरत निकायका कर्मचारी र किसान सबैले प्राङ्गारिक कृषिबारे बुझ्नु जरुरी रहेको उनको भनाइ छ । जसका लागि सबै सरोकारवालाहरुको सहभागितामा रणनीतिक योजना बनाउन आवश्यक रहेको जोशीले जोड दिए ।
यो प्रणाली नेपालमै नयाँ र जटिल भएकाले यसबारे राम्रोसँग बुझ्नु पर्ने र सचेत हुनुपर्ने जोशीले बताए । 'प्राङ्गारिक खेतीको लागि माटोको पैदावार शक्ति बढाउनु पर्दछ’, निर्देशक जोशीले भने, 'माटोमा पैदावार शक्ति छ भने कृषि उपजमा कुनै किसिमको रोग लाग्दैन, 'उनले भने, 'उहिलेका ऋषिमुनीहरुले गर्ने खेतीनै प्राङ्गारिक खेती हो ।'
प्राङ्गारिक खेती विस्तार गर्न सबै सरोकारवालाको सहभागितामा रणनीतिक योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको जोशीले बताए । जिल्लामा प्राङ्गारिक खेतीबारे व्यापकता दिनुपर्ने र सबैको सरोकारको विषय बनाइनुपर्ने जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले बताए ।
समुदायमै गएर प्राङ्गारिक कृषि प्रणालीसम्बन्धी जानकारी गराउनुपर्ने पूर्वीचौकी गाउँपालिका– २ का वडाअध्यक्ष योगेन्द्र ठकुल्लाले बताए । यो खेती गर्दा आइपर्ने कठिनाइ तथा प्राविधिक समस्याका बारेमा समेत किसानलाई सचेत गराउनुपर्ने उनले बताए ।
प्राङ्गारिक खेतीबाट पौष्टिक उत्पादन, वातावरण सन्तुलन, स्वास्थ्य सन्तुलन, माटोको गुणस्तर कायम गर्न सकिने, आम्दानी बढी लिन सकिने, स्थानीय श्रोत साधनको सदुपयोग गर्न सकिने बताइएको छ ।