‘पुरस्कारले उत्साहित छु’
काठमाडौं : राज्यको खासै नजरमा नपरेको क्षेत्रमा काम गरेर राष्ट्रियस्तरको पुरस्कार पाएका मोडल तथा कोरियोग्रफर अश्विनीकान्त झाले पुरस्कारले आफूलाई यो क्षेत्रमा नयाँ–नयाँ काम गर्न उत्साहित बनाएको बताएका छन्।
देशविदेशका विभिन्न कार्यक्रममा फेसन, सौन्दर्य प्रतियोगिता र डान्स कोरियोग्राफी गर्दै आएका झा राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७७ बाट सम्मानित भएका हुन्। कविलासी नगरपालिका–७ गौर घर भई राजधानीमा रहेर सैयौं सौन्दर्य प्रतियोगिता र फेसन सोमा कोरियोग्राफी गरेका उनलाई युवा तथा खेलकुद मन्त्रालयले पुरस्कृत गरेको हो।
एक लाख नगदसहित पुरस्कृत भएका झाले भने, ‘यो क्षेत्रलाई राज्यको तर्फबाट खासै वास्ता गरिएको थिएन तर मेरो काम र निरन्तरतालाई मूल्यांकन गर्दै पुरस्कृत गरिएपछि निकै उत्साहित छु। नयाँ–नयाँ काम गर्न यसले अझै हौसला दिएको छ।’ कला तथा कोरियोग्राफी क्षेत्रबाट उनलाई सम्मानित गरिएको हो।
लामो समयदेखि फेसन कोरियोग्राफी तथा नृत्य कोरियोग्राफी गर्दै आएका झाले हालसम्म दुई सयभन्दा बढी ब्युटी पेजेन्ट तथा फेसन सोका लागि कोरियोग्राफी गरिसकेका छन्। यस क्रममा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्युटी पेजेन्ट र फेसन सोका लागि पनि कोरियोग्राफी गरेका छन्। यो सम्मानले आगामी दिनमा अझैं उत्कृष्ट र देशलाई चिनाउने कार्य गर्दै जाने प्रेरणा मिलेको उनको भनाइ छ।
‘यो सम्मान सम्पूर्ण युवामा आआफ्नो क्षेत्रमा क्रियाशील भई देशमा राम्रो काम गर्नेहरूप्रति समर्पण गर्छु’, उनले भने। भारतीय मोडल कौशिक घोषबाट मोडलिङको प्रशिक्षण लिएर यो क्षेत्रमा प्रवेश गरेका झाले धेरै व्यावसायिक मोडल तथा कोरियोग्राफर उत्पादन गरेका छन्। ‘नेपालमा पनि विस्तारै यो क्षेत्रप्रति युवाको आकर्षण बढ्दै गएको छ। तर, यसलाई व्यवस्थित गर्दै र विकृति हटाउँदै अघि बढ्नुको विकल्प छैन’, उनले भने।