‘आँधी तुफान– २’ लिएर आए मौनता
काठमाडौं : फिल्म ‘आँधी तुफान–२’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौं मलस्थित डाडुपन्यूँ रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणा गरिएको हो।
दशकअगाडि निर्माण भएको फिल्म ‘आँधी तुफान’को सिक्वेलका रूपमा फिल्म निर्माण हुन लागेको हो। फिल्मका निर्माता मौनता श्रेष्ठ हुन्। मौनता नेपाली फिल्मका सफल स्क्रिप्ट राइटर हुन्। उनले एक सयभन्दा बढी फिल्म लेखेका छन्।
मदन घिमिरेको निर्देशक रहने फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बीसी, जोया बुढाथोकी, रूपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ, बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ।
कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव रोज राणा, वितरक निर्माता गोपाल कायस्थ, निर्माता तथा चलचित्र वितरक सुशील पोखरेललगायतले सफलताका लागि शुभकामना दिए।
थ्रिलर र सस्पेन्स विषयमा भरपूर नारी एक्सन समेटिएर फिल्म निर्माण हुन लागेको निर्देशक घिमिरेले बताए। चैत पहिलो साताबाट छायांकनमा निस्कने फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीको गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ। फिल्मका निर्माण नियन्त्रक नारायण चालिसे छन्।