सक्खर चिनीले चिनाएका गायक
काठमाडौं : पछिल्लो समय चर्चामा रहेको ‘के गुलियो छ र सक्खर चिनी’ बोलको गीतबाट आफ्नो पृथक् पहिचान बनाएका गायक पदम राईले केही समयपहिले ‘यसो हेरे पूर्वतिर’ बोलको गीतको भिडियो सार्वजनिक गरेका थिए। गीत, संगीतको क्षेत्रमा लागेर दैनिकी चलाउन मुस्किल हुने समयमा संगीतका प्रशिक्षक ओमप्रकाश राईसँग प्रशिक्षण लिएर उनी यो क्षेत्रमा प्रवेश गरे।
स्थानीय सांस्कृतिक कार्यक्रममा व्यस्त रहने गायक राई अहिले ‘जागिर खान्छु सरकारी अड्डामा’ बोलको गीत रेकर्डिङमा जुटेका छन्। पूर्वाञ्चलमा आयोजना हुने अधिकांश स्टेज कार्यक्रममा खरो उपस्थिति जनाउँदै आएका राई ताप्लेजुङ नाख्योल्याङका बासिन्दा हुन्। भन्छन्, ‘कोरोना कहरका कारण विदेशमा हुने सबै कार्यक्रम स्थगित भएकाले आर्थिक रूपले धेरै प्रभाव परेको छ। कोरिया, हङकङ, बेलायतलगायतका देशमा तय भएका कार्यक्रम हुन सकेनन्।’
मेची अञ्चलव्यापी गायन प्रतियोगिता ‘मेची तारा २०६२’मा उत्कृष्ट पाँचमा परेका उनी ‘ताप्लेजुङ आइडल २०६९’का विजेता हुन्। उनको एकल गायनमा ‘यो जन्म’ र ‘यो जन्म २’ गीति एल्बम प्रकाशित छन्।
गीत, संगीतमार्फत समाजमा उनले पुर्याएको योगदानको कदरस्वरूप वुमेन्स एरा एन्ड मिडिया ग्रुपले उनलाई पुरस्कृत गरेको छ।