नेपथ्यको ‘यो जिन्दगानी’
काठमाडौं : भूकम्पका कारण क्षतिग्रस्त बन्न पुगेको दोलखाको एक सरकारी विद्यालय निर्माणार्थ गत वर्षको फागुन १७ गते नेपथ्यले आफूलाई प्रस्तुत गरेको थियो। भृकुटीमण्डपमा आयोजित त्यो कन्सर्ट कोरोना महामारीअगाडि ब्यान्डको अन्तिम प्रस्तुति बन्न पुग्यो।
यो वर्ष सृष्टिले भाइरस र मानवबीच कठोर लडाइँको कथा रच्यो। सबैको जीवन अन्योल र अनिश्चितताबीच गुज्रियो। नेपथ्यका अगुवा एवं गायक अमृत गुरुङले यो सिंगो वर्ष कास्कीस्थित आफ्नो पुख्र्यौली गोठमा साधारण कृषक भएर बाँच्दै प्रकृतिको खेल नियाले। अब समय फेरि बदलिने संकेत सुरु भएको छ।
बदलिँदो समयसँगै फरक नेपाली पुस्ताबीच उत्तिकै लोकप्रिय रहँदै आएको ब्यान्ड नेपथ्यले अब फेरि सांगीतिक माहोललाई निरन्तरता दिने भएको छ। यसको सुरुवात गर्दै नेपथ्यले आफ्नो एउटा सर्वकालिक हिट गीतको ‘लाइभ भिडियो’ श्रोता दर्शकसामु प्रस्तुत गर्दै छ। सबैले सधैं सुन्दै आएको र प्रत्येकजसो कन्सर्टमा गुञ्जिने गरेको त्यो गीत हो—
‘जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ’
परिस्थितिसँग लडेर बाँच्नु नै मानव जीवनको यथार्थ हो। यो यात्रामा आउने राम्रा र नराम्रा दुवै क्षणलाई स्वाभाविक मानेर स्वागत गर्ने अनि एकअर्काप्रति समभाव जगाउने भावना गीतले बोकेको छ। यो गीत नेपथ्यले दुई दशकअघि एल्बम ‘रेशम’मा समेटेको थियो। पोखराका संगीतकर्मी श्यामसुङ तामाङले गीतलाई तयार पारेका हुन्।
‘गीतको रेकर्ड गर्नुअगावै पनि हामी साथीभाइको जमघटमा यसलाई गाउने गथ्र्यौं’, गायक अमृत गुरुङ सम्झन्छन्, ‘असाध्यै मन परेको र प्रभाव पार्दै आएको गीत भएकाले यसलाई नेपथ्यका निम्ति रेकर्ड गर्ने सोच बनायौं।’ तर, त्यति बेला गीतका रचयिता श्यामसुङले अनुमति दिएनन्। ‘आफ्नो ब्यान्डको गीत भएको हुनाले नगरौं दाइ भनेका थिए’, गुरुङ सम्झन्छन्, ‘त्यसपछि तामाङको समूहले यो गीत रेकर्ड गरेर सार्वजनिक पनि गर्यो। यति राम्रो सिर्जनालाई त्यत्तिकै मर्न दिइनु हुँदैन भनेर मैले फेरि दोस्रोपटक उनलाई अनुरोध गरेँ।’
यस्तो अवस्थामा दोस्रोपटक भने उनीबाट पाएको अनुमतिअनुसार नै गीतको रेकर्डिङ गरिएको अमृत सम्झन्छन्।