सुखानी हत्याकाण्डको आज ४८ वर्ष पूरा
झापा : सुखानी हत्याकाण्ड भएको आज ४८ वर्ष पूरा भएको छ। आजकै दिन २०२९ सालमा झापा आन्दोलनका पाँचजना अगुवालाई जेल सार्ने नाममा पञ्चायत सरकारले हत्या गरेको थियो।
झापाको चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने भनेर लैजाने क्रममा इलामको माई नगरपालिका - ४ र अर्जुनधारा नगरपालिका- ३ को सुखानीमा उक्त हत्याकाण्ड भएको थियो।
हत्याकाण्डको स्मृति दिवस पारेर हरेक फागुन २१ गते झापामा विशेष कार्यक्रम हुने गर्छन्। सम्भव भएसम्म प्रमुख वामपन्थी नेताहरु यहाँ आई ती सहीदलाई सम्झने गर्छन्।
यस वर्ष पनि सहीद स्मृति दिवस आयोजना गरिएको छ। विप्लव र सरकारबीच भएको वार्तापछि शुक्रबार प्रधानमन्त्री ओली र विप्लव दुवै नेताले एकै मञ्चबाट सम्बोधन गरी सार्वजनिक गर्ने कार्यक्रम तय भएकाले अन्तिममा प्रधानमन्त्री केपी ओली सुखानी आउने कार्यक्रम रद्ध भएको छ। हरेक वर्षजस्तै यो वर्षपनि प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा बादल र संविधान सभा अध्यक्ष सुवास नेम्वाङ् लगायतको टोली सुखानीमा आउने कार्यक्रम तय भएको थियो।
२०२८ सालदेखि सुरु भएको झापा आन्दोलन वामपन्थी आन्दोलनको मुख्य अंश हो। झापा आन्दोलनका पाँचजना अगुवाहरुलाई २०२९ फागुन २१ गते मारिएको थियो। सुखानीमा मारिने सहिदहरुमा ३४ वर्षीय रामनाथ दाहाल, २५ वर्षका नेत्र घिमिरे, ३१ वर्षका बिरेनसिंह राजबंशी, १८ वर्षीय कृष्ण कुइँकेल, र १७ वर्षीय नारायण श्रेष्ठ थिए।
‘सहिदले देखेको सपना यस्तो थिएन। देशलाई अहिलेको अवस्थामा ल्याउन हाम्रा परिवारले बलिदान दिएका हैनन्’ सुखानीका सहिद परिवारको एकमुष्ठ आवाज यही हो। फागुन २१ गते झापाको सुखानीमा सहादत प्राप्त गर्ने ५ जना सहिदहरुको स्मृति दिवस हो। तर सुखानी सहिद परिवार पार्टीसँगै भने सन्तुष्ट छैनन्। सहिद रामनाथ दाहालकी पत्नी विश्वेश्वरा दाहाल भन्छिन्, ‘रामनाथजी हुर्किबढेको, राजनीति गरेको घर लड्ने अवस्थामा छ। हालका प्रधानमन्त्री केपी ओली आउने–बस्ने घर पनि त्यही हो। तर उक्त घर अहिले लड्ने अवस्थामा छ। ’
‘सबै सहिदका परिवार आर्थिक हिसाबमा सम्पन्न छैनन्। कतिले पढ्न सकेका छैनन्। कति दीर्घ रोगी छन्। कतिपय परिवार ऋणमा चुर्लुम्म डुबेको छ। सहिद हुनेहरुलेनै सबै लिएर गए। बाँचेकालाई सरकारले के गरेको छ ?’ सहिद रामनाथ दाहालकी पत्नी विश्वेश्वरा दाहाल भन्छिन्।
सुखानी स्मृति प्रतिष्ठानले गुमनाम अवस्थामा रहेका सहिदहबारे जानकारी जनमानसमा ल्याउने प्रयास गरेकोमा सुखानीका सहिद परिवार सन्तुष्ट छन्। प्रतिष्ठानले स्मारिका निकाल्नेसँगै, पर्यटकलाई लक्षित गरी सुखानी सहिद पार्क सञ्चालनमा ल्याएको छ।
झापा आन्दोलन नितान्त किसान आन्दोलनको रुपमा सुरु भएको हो। पछि उक्त आन्दोलन झापामा वामपन्थीको उद्गमस्थलकै रुपमा रहन गयो। तत्कालीन झापा आन्दोलनका अगुवा सहिद रामनाथ दाहाल वर्ग संर्घषका बारेमा खुलेर बोल्ने नेताका रुपमा चिनिने गरिएको तत्कालीन नेताहरु आरके मैनाली, सीपी मैनाली, हालका प्रधानमन्त्रीले पनि बेला–बेला कुरा गर्ने गरेको प्रतिष्ठानका महासचिव हर्कराज राईले बताए।
‘त्यो समयमा दाहालले महिला र पुरुष मात्र संसारमा जाति हुन् भन्दा तीन दिन थुनिएको थियो।’राईले भने, ‘हालका प्रधानमन्त्री केपी शर्मा ओलीका सुखानीमा मारिएका ५ जना सहिदनै हितैसी हुन् भन्ने बुझिन्छ। रामनाथ दाहाललाई प्रधानमन्त्रीले गुरु मान्नुहुन्थ्यो।’
२०४५ सालदेखि देशमा प्रजातन्त्र आएपश्चात नेपाल कम्युनिष्ट पार्टीले हरेक वर्ष फागुन २१ गते उक्त स्थानमा सहित स्मृति कार्यक्रम राख्दै आएको छ।
शहिद प्रतिष्ठान मात्र बनाएर शहिदप्रति अन्याय हुन्छ भन्ने परिवारको तर्क छ। शिक्षा, स्वास्थ्य र गाँसबासको कुरालाई प्राथमिकता दिनुपर्ने त्यस प्रति पूर्ण ध्यान जान नसकेको सुखानीका सहिद परिवार बताउँछन्। ‘शहिदले देखाएको बाटोमा देश अझै हिड्न सकेको छैन,’ सुखानी सहीदमध्येका वीरेन राजबंशीका जेठा छोरा नेत्र राजबंशी भन्छन्।
उनका अनुसार २०४५ सालसम्ममा उनको परिवार सुकुम्बासी भइसकेको थियो।‘त्यो बेलासम्म न हामीलाई पार्टीले खोज्यो न कसैले शहिद परिवार भनेर चासो नै देखाए,’ उनले भने, ‘पछि २०५५ सालमा रविन कोइराला मेची नगर नगरपालिकाको मेयर भएपछि मलाई नगरपालिकामा कार्यालय सहयोगीको जागिर दिए र दुई छाक खान सजिलो भयो।’
अर्का सहिद नेत्र घिमिरेकी पत्नि भन्छिन्, ‘१९ वर्षको उमेरमा सिंदुर पुछिएपछि परिवार र राजनीतिको जिम्मेवारी सम्मालेरै हिंडेकी छु। तर सहिदका सपना स्मृति दिवसमा सालिकमा माल्र्यापण गरेर मात्र साकार हुने होइन। उनका बलिदान र त्यागले के खोजेका थिए भन्ने बारे पुर्नमुल्यांकन गर्ने बेला भएको छ।’