रौनियारले देखाए प्रतिभा
काठमाडौं : मिस्टर एन्ड मिस रौनियार– २०२१ का प्रतियोगीले आआफ्ना प्रतिभा प्रस्तुत गरेका छन्। ट्यालेन्ट सोअन्तर्गत उनीहरूले नृत्य, गायन, प्रहसन, कवितावाचन, वक्तृत्वकलाजस्ता विविध प्रतिभा प्रस्तुत गरेका हुन्।
एमी इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा २१ जना प्रतियोगी छन्। तीमध्ये ११ जना काठमाडौंका र १० जना विराटनगरका रहेका छन्। काठमाडौंका ११ जना प्रतियोगीले काठमाडौंको जमलस्थित नाचघरको मिनी हलमा शनिबार ट्यालेन्ट देखाएका हुन्।
ट्यालेन्ट सोमा प्रतियोगीहरू आँचल रौनियार, पप्पु रौनियार, सर्वजित रौनियार र सोमन रौनियारले नृत्य प्रस्तुत गरेका थिए। सालु रौनियारले क्यारिकेचर गरेर सबैलाई हँसाइन्। यस्तै खुस्बु रौनियारले प्रस्तुत गरेको छोरीमाथिको कविता आकर्षक थियो। नन्दिनी रौनियारले नारी यौन हिंसाबारे आफ्नो विचार राखिन्। ट्यालेन्ट सोमा शिक्षा गुप्ता, राज रौनियार, अस्मित रौनियार, अंकित रौनियारले गीत गाए। ट्यालेन्ट सोको निर्णायकमा अभिनेता रणवीर शाह, गायिका, सञ्चारकर्मी तथा मोडल सरिता भारती, मिस रौनियार २०१९ की विजेता प्रीति रौनियार, मोडल तथा कलाकार भरत रौनियार थिए। राजन रौनियार र एमी रौनियारद्वारा आयोजित दोस्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ को चयन आगामी २९ फागुनमा हुनेछ।
यो प्रतियोगिताका बाँकी १० अन्तिम प्रतियोगीमा विराटनगरबाट प्रीति गुप्ता, स्नेहा रौनियार, सोनल रौनियार, मुस्कान रौनियार, ज्योनी रौनियार, स्नेहा रौनियार २, आयुष रौनियार, मधु रौनियार र अजय रौनियार रहेका छन्।