इङ्नामले ल्याए लिम्बुवानको दस्तावेज संग्रह
काठमाडौं : लेखक भगिराज इङनामले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ प्रकाशनमा ल्याएका छन्। यसमा विसं १७१९ देखि २०२० सम्म ३ सय १ वर्षसम्मका कागजात समावेश रहेको लेखकले जनाएका छन्।
‘विशेषगरी यो पुस्तकमा पल्लो किरात लिम्बुवानसँग सम्बद्ध र सान्दर्भिक अन्य क्षेत्रका लागि जारी भएका दस्तावेजहरू पनि तुलनात्मक रुपमा अध्ययनको लागि समावेश गरिएका छन्’, खोजकर्ता इङनामको भनाइ छ, ‘जसले गर्दा पल्लो किरातको किपट, भूमि र सुब्बाङ्गी प्रथाबारे तुलना गर्न सकिन्छ। यहाँ समावेश गरिएका अधिकांश दस्तावेजहरू प्रथम पल्ट प्रकाशित भएका छन्।’ किताबको भाग १ मा राजाहरूबाट प्रदान गरिएका सक्कल स्याहामोहर, लालमोहर र रुक्का समेटिएका छन्।
भाग २ मा स्याहामोहर, लालमोहर र रुक्काका नक्कल छन्। भाग ३ मा राणा प्रधानमन्त्री, सरकारी अड्डाबाट प्रदान गरिएका कागजपत्रलगायत छन्।