उस्तै छ महिलामाथि भेदभाव
![उस्तै छ महिलामाथि भेदभाव](https://annapurnapost.prixacdn.net/media/albums/woman-society_20201011043536_uv51rFxRbF.jpg)
संसारमा मानवको उत्पत्ति भएदेखि नै नर र नारीको उत्पत्ति भएको इतिहासले प्रमाणित गरिसकेको छ। महिला र पुरुष एक सिक्काका दुई पाटा हुन्। कुनै रथ चल्नका लागि जसरी दुई पांग्राको आवश्यकता छ, त्यसरी नै समाज चल्नका लागि महिला र पुरुषको सहयोग अपरिहार्य छ। महिला दिवस ग्रामीण महिलाका आँखामा छारो हाल्ने काम मात्र भएको छ। महिलाको हकहित गर्ने भनी खोलिएका थुप्रै गैरसरकारी संघसंस्था मूकदर्शक भएर बसेका छन्।
विश्व एक्काइसौं शताब्दीमा पुगे पनि पितृसत्तात्मक हाम्रो समाजमा भने महिलाप्रति गरिने भेदभाव र त्यसबाट उत्पन्न समस्या गम्भीर चिन्ताको विषय हो। हाम्रो समाजमा चेतनाको अभाव छ। जबकि राष्ट्र उत्थानका लागि महिलाको योगदान पुरुषको भन्दा कम देखिँदैन। नेपोलियन बोनापार्टले भनेका पनि छन्– एउटी असल आमाबाटै असल राष्ट्र निर्मित हुन्छ। यो भनाइ कति सान्दर्भिक छ। हाम्रो देशमा मात्र हैन; संसारकै आधाभन्दा बढी खाद्यान्न मागको पूर्ति महिलाले नै गर्छन्। महिला परिवारको सृष्टिकर्ता मात्र नभएर पालनकर्ता पनि हुन्।
महिला समानताका जति कुरा गरे पनि व्यवहारमा नारी वर्गमाथि देखिने भेदभाव, शोषण र अन्याय–अत्याचार जारी छन्।
सन् १९१० मार्च ८ मा महिलाले पनि पुरुषसरह शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार पाउनुपर्छ भनी सर्वप्रथम आवाज उठाएको सन्दर्भमा सोही दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाउन थालिएको हो। संसारका धेरैजसो देशमा महिला र पुरुषको संख्या बराबर भए पनि महिलाप्रति असमान व्यवहार भएको र प्रत्येक क्षेत्रमा महिला पछि परेकाले आजभन्दा १११ वर्षअधि चीन, ब्राजिल, डोमिनिकन गणतन्त्र र संयुक्त राज्य अमेरिकाका केही महिलाले सर्वप्रथम संगठित भएर महिलामाथि भएको व्यवहारप्रति चिन्तन गरेका थिए।
त्यसैगरी सन् १९४५ मा संयुक्त राष्ट्रसंघले सिद्धान्तका आधारमा महिला र पुरुषमा समानता कायम हुनुपर्छ भनी स्पष्ट गरिएको बडापत्र पारित गरेको थियो। सोहीअनुसार सन् १९४६ मा महिलाको स्थितिसम्बन्धी आयोगको गठन, सन् १९५१ मा समान ज्यालासम्बन्धी महासन्धि, सन् १९५२ मा मत दिन पाउने राजनीतिक अधिकारसम्बन्धी महासन्धि, सन् १९५७ मा महिलाको नागरिकतासम्बन्धी महासन्धि, सन् १९६० मा पेसागत भेदभाव उन्मूलन, सन् १९६७ मा महिलामाथि हुने सबै प्रकारको भेदभाव उन्मूलनजस्ता अन्तर्राष्ट्रिय निर्णय भए।
हाम्रा वेद, धर्मग्रन्थ र विभिन्न विद्वान्ले नारी उथानमा जोड दिएको पाइन्छ। त्यसैगरी हिन्दु संस्कृतिमा पनि ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ ईश्वर रमाउँछन् भनी नारी वर्गलाई उच्च स्थानमा राखिएको छ। यसै परिप्रेक्ष्यमा विकासको अग्रणी भूमिका निर्वाह गरी महिला तथा पुरुषको समान योगदान हुनुपर्ने कुरा महसुस गरिएको छ।
नेपालका अधिकांश ग्रामीण नारी निरक्षरताको अँध्यारोमा पूर्वाग्रह पीडित धारणाहरूको धुवाँमा आफूले आफैंलाई भेट्टाउन नसकी परिचयहीन जिन्दगी बाँचिरहेका यथार्थ हामी कसैबाट लुकेको छैन। कति नारीले त भान्छा, पधेँरा र गोठ र दाउराभन्दा पर पनि संसार छ भन्ने चालै पाएका छैनन्। आज हामी एक्काइसौं शताब्दीको सँघारमा आएर पनि कति नारी वर्ग त दासीपूर्ण जीवनयापनमै बाध्य हुन्छन्। वास्तवमा भन्ने हो भने समाज, संस्कार, संस्कृति र धर्म सबै पक्षले नेपाली नारीलाई यस्तै जीवन बाँच्न सिकाइरहेछ।
आज मुलुकमा विद्यमान महिला समस्याको सरसर्ति अध्ययन गर्ने हो भने पनि सन्तोष गर्ने ठाउँ कतै नभएको नेपाली नारीले आभास गरिरहेका छन्। परिवार, समाज र राष्ट्र सबैले नारीलाई गौण स्थान दिएको देखिन्छ। घरपरिवारमा मात्र होइन; देशको कृषि, उद्योग, शिक्षा, स्वास्थ्यजस्ता हर क्षेत्रमा नारी वर्गको देन छरिएको कसैबाट छिपेको छैन तर पनि यसको सही मूल्यांकन कतै गरिएको पाइँदैन। नेपाली नारीको सामान्य परिर्वतन ल्याउन, नारीप्रति पुरुष र समाजको धारणा, सोचाइ, मनोभावना, दृष्टिकोण अथवा वैचारिक परिवर्तन जरुरी छ। यसरी विभिन्न तहमा कार्यमूलक योजनाका प्रभावकारी कार्यान्वयन आवश्यक छ। योविना खालि भाषण नारा र प्रस्तावमा मात्र सीमित रहेर पुग्दैन; यसमा योजना कार्यान्वयनका लागि ठोस कार्य गरिनुपर्ने आवश्यकता देखिन्छ।
विश्वमा एक्काइसौं शताब्दीको चपेटामा हुदाँ पनि महिलाको दयनीय स्थिति हुनु सबैका लागि लाजमर्दो हो। यसरी महिलाको पछौटेपन र उनीहरूको शोषणका लागि मुख्यतः हाम्रो सामाजिक, आर्थिक र पारिवारिक संरचना नै जिम्मेवार भए पनि समाधानका लागि हालसम्म अपनाएका प्रतिरोधात्मक र उपचारात्मक दुवै किसिमका उपाय परिमाणमुखी हुन सकेका छैनन्। विगत केही वर्षयता नेपाली महिलाको हक, हित तथा अधिकारका लागि नेपाली विधायकले पनि जनताको ध्यान बहसमा सीमित गर्न थालेका छन्। यसबेला महिला मुक्तिका अभियान पनि प्रशस्तै चलाइरहेका छन्।
भनिन्छ– एउटा पुरुषलाई शिक्षित बनाउनु भनेको केवल एक व्यक्तिलाई मात्र शिक्षित गराउनु हो। तर एउटी नारीलाई शिक्षित बनाउनु भनेको पूरै परिवार नै शिक्षित बनाउनु हो। समान हक र समान अधिकारका नाराले मात्र चेतना विकास हुँदैन। नेपालमा त्यस्ता थुप्रै गाउँ बस्ती छन्; जहाँ बालबालिका र महिलाको दैनिक जीवन दाउरा र घाँस काट्ने, स्याउला बोक्ने, गाईभैंसी चराउने योभन्दा बाहिरी धारमा आउन सकेको छैन। त्यहाँ स्कुल, शिक्षा, कुन चराको नाम भनेर भनिदिने कसले ?
एक गाग्री पानी लिन चार घन्टा हिँड्नुपर्ने त्यस्तो दुर्भाग्यपूर्ण जीवन बाँचिरहेका ग्रामीणवासी पनि नेपालकै एक परिवेश हो। त्यस्ता ठाउँमा न सरकार पुग्छ, न त एनजीओ, आईएनजीओ नै पुग्छन्। महिला दिवसका नाममा ठूला–ठूला व्यक्तिले ठूला–ठूला पाँचतारे होटलमा गएर तीनचार लाइन बोलेका भाषणले मात्र महिला समस्याको समाधान हुँदैन। यसका लागि त महिला चेतनाको विकास जरुरी छ। त्यसकारण हरेकका लागि शिक्षाको किरण प्रखर पार्नुप¥यो।
संसारमा लैंगिक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ। निकै विकसित भनिएका देश पनि महिला उत्पीडन अनि असमानताका मुद्दा लुकाएर बसिरहेका छन्। अतः नेपाली नारीमा सामान्य परिर्वतन ल्याउन, नारीप्रति पुरुष र समाजको धारणा, सोचाइ, मनोभावना, दृष्टिकोेण अथवा वैचारिक परिवर्तन जरुरी छ।
मूलतः शक्तिराष्ट्र अनि प्रजातान्त्रिक अभ्यासको अद्वितीय देश अमेरिकाले समेत आजको दिनसम्म महिला राष्ट्रप्रमुखको स्वागत गर्न नसकेको इतिहासमा नेपालले महिला लैंगिक समानताबीचको एउटा गज्जब उदाहरण बनाएकै हो। यसका साथसाथै संसारले यस अर्थमा महिला दिवसको यो दिन नेपालीले राष्ट्रको महŒवपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनोटलाई बेवास्ता गर्न सक्दैन।
महिला एक गृहिणी मात्र नभएर समाजको आधा बोझ थाम्ने दरिलो आधार पनि हो। तसर्थ नारीका सम्पूर्ण समस्याको निराकरणका लागि नारी वर्ग नै शिक्षित एवं जागृत हुन एकातिर आवश्यक छ भने अर्कातिर महिला समानताका जति कुरा गरे पनि व्यवहारमा नारी वर्गमाथि देखिने भेदभाव, शोषण र अन्याय–अत्याचार भइरहेका छन्। औपचारिक पक्ष हेर्दा पनि समानताका लागि सरकारले कानुनसमेत ल्याउन सकेको छैन। यसैले जनसंख्याको यो आधा भागलाई समानता र मुक्ति दिलाउन विश्वव्यापी रूपमै संघर्षको एउटा लहरको अझै आवश्यकता छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)