के प्रेम पनि मार्क्सवादी हुन्छ ?
भर्खरै तिलक राज भण्डारीले सम्पादन गर्नु भएको एउटा किताब ‘जनयुद्धको हस्ताक्षर’ हातमा परेको छ। किताबमा जनयुद्ध कालमा योद्धाहरुले एक अर्कालाई लेखेका एक सय बाह्र वटा चिट्ठीहरु संकलित छन्। किताबमा एक सय बाह्र चिठ्ठीहरु मध्य तिलक राज भण्डारीले जनयुद्धकालमा आफ्नै जीवनसाथी मोति बस्नेतलाई लेखेका केही चिठ्ठीहरु पनि समावेश गरिएका छन्।
संयोग भन्नुपर्छ, किताबको विषयसूची पल्टाउँदै जाँदा आँखा तिलक राज भण्डारीले नै आफ्नो जीवनसाथीलाई लेखेको एउटा चिठ्ठीमा रोकियो। चिठीलाई शीर्षक दिइएको थियो “प्रेम प्रस्ताव”। मानवीय स्वभाव भएर होला प्रेम प्रस्ताव भनेपछि सुरुमै त्यही चिठ्ठी पढ्न मन लाग्यो।
चिठीमा तिलक राज भण्डारीले मोती बस्नेतलाई प्रेम प्रस्ताव राख्दै लेख्नु भएको छ “तपाईको व्यवहार र चरित्रले गर्दा म तपाईसँग मार्क्सवादी प्रेम गाँस्नक चाहन्छु।”
म कल्पना गरिरहेको छु। आज ‘समर लभ’ पढेर हुर्किने पुस्ताको कुनै केटीलाई कुनै केटाले आएर, “ म तिमीलाई मार्क्सवादी प्रेम गर्छु” भन्यो भने के होला? वा त्यो पुस्ता जसलाई प्रेम प्रस्ताव भनेको “आइ लभ यू” भन्नु हो र त्यसको जवाफ कि “ आइ लभ यू टू” हुन्छ कि “सरी ! आइ लाइक यु जस्ट एज अ फ्रेन्ड” हुन्छ भन्ने मात्र थाहा छ। उसलाई कसैले “मार्क्सवादी प्रेम गर्छु” भन्यो भने के होला ?
अझ त्यो भन्दा पनि पर पुगेर म सोचिरहेको छु, आज भोलिको हाम्रो पुस्ताको एउटा ठूलो हिस्सा जो प्रेम भनेको, “वन नाइट स्ट्याण्ड हो” भनेर बुझ्छ उसलाई कसैले “म तिमीलाई मार्क्सवादी प्रेम गर्छु” भनेर प्रेम प्रस्ताव राख्यो भने के होला?
आज भोलि त ‘गर्लफ्रेन्ड’ पनि ‘हाफ’ हुन्छन्। प्रेम भनेको विहान कुनै ‘क्याफे’मा बसेर ‘क्यापाचिनो’ खानु हो। दिउँसो कुनै रेस्टुरेन्टमा बसेर ‘आइसक्रिम’ खानु हो र रात परे पछी कुनै चिटिक्क परेको होटलको कोठामा चुम्बन खानु हो।
आज प्रेम भनेको मात्र केही खानु हो जस्तो बनेको समयमा कसैले आएर, “म तिमीलाई मार्क्सवादी प्रेम गर्छु” , भन्यो भने के होला। न मार्क्सवाद कफी जस्तो तातो खाने कुरा हो न आइसक्रिम जस्तो चिसो खाने कुरा हो। उपभोक्तावादमा चुर्लुम्म डुबेको पुस्तालाई मार्क्सवादी प्रेम प्रस्ताव आयो भने उनीहरुले दिने एउटा आकस्मिक जवाफ हुन सक्छ, “व्हट द हेल इस द्याट ?”
हुन त प्रेमी र प्रेमिका पनि बजारले रोजिदिन्छ आज भोलि। ‘रोज डे’ मा बजार गएर गुलाब किनेर ल्याउनुपर्छ। ‘टेड्डी डे’ मा बजारबाट ल्याएर टेड्डी उपहार दिनुपर्छ। त्यसपछि आउँछ चकलेट किनेर दिने ‘चकलेट डे’। यति गरिसकेपछि मात्र प्रस्ताव राख्ने ‘प्रपोज डे’ आउँछ। यी सबै प्रक्रिया पुर्याएपछि मात्र आउँछ अँगालो हाल्ने ‘हग डे’। त्यसपछि चुम्बन खाने ‘किस डे’ र सब थोक खाने ‘भ्यालेन्टान्स डे’। यदि यी सबै प्रक्रिया पुगेको छैन भने बजारले प्रेम नै खारेज गरिदिन सक्छ।
बजारले निर्धारण गर्ने आजका प्रेमीको आँखाले तिलकराज भण्डारीको चिठ्ठी पढे भने छुट्टाउन गाह्रो हुन सक्छ कि “प्रेम प्रस्ताव” शीर्षक दिइएको चिठ्ठीमा प्रेम प्रस्ताव चाहिँ कहाँ छ?
चिठ्ठीमा न कतै बगैचामा फुल्ने गुलाव कुरा छ न गुलाबी रातको। न कतै चकलेटको कुरा छ न कतै कफीको। कुरा छ त केवल चकलेटी प्रेमको संसार भन्दा हजारौं कोस पर रहेको मार्क्सवादी प्रेमको। आखिर कस्तो हुन्छ होला यो मार्क्सवादी प्रेम?
सामन्तवादी युगमा विवाह पहिला जात र धर्मसँग हुन्थ्यो। त्यसपछि जमिन र सम्पत्तिसँग भयो र अन्तिममा मान्छेसँग । समाजका हरेक क्षेत्र सामन्तवादबाट ग्रसित थिए। यस प्रकारका तमाम विकृतिलाई अन्त्य गर्न गरिने प्रेम हो मार्क्सवादी प्रेम।
जीवनभर घरधन्दा मात्र सम्हालेर बस्न सक्ने लाखौँ महिलाहरु भएको समाजमा कमरेड तिलकले भान्साको संसार छोडेर बन्दुक बोक्न हिँडेकी कमरेड मोतिलाई नै किन मन पराउनु भयो? घर भित्रको संसार ‘सुन्दर’ बनाइदिने एउटा परम्परागत महिला रोजेको भए कमसेकम दाल भात र तरकारीको चिन्ता हुँदैनथ्यो होला।
त्यसरी नै कमरेड मोतिकलाले आनन्दले सरकारी जागिर खाने एउटा परम्परागत पुरुष खोजेको भए कमसेकम जीवनमा जाबो दस बाह्रवटा बनारसी साडीको चिन्ता गरेर बस्नु पर्दैनथ्यो होला। मोतिकलाले घरव्यवहार चलाउने पुरुषको ठाउँमा गोजीमा ‘माउजर’ बोकेर हिड्ने छापामारलाई नै किन मन पराउनु भयो होला?
परम्परागत तरिकाको जीवनसाथी रोजेको भए निस्फिक्रीका साथ घरमा बस्न पाइन्थ्यो। दिनभरी काम गरेपछि राती आनन्दले सुत्न पाइन्थ्यो। श्रीमानले चुरा छन् छन बज्ने श्रीमतीको हातले पकाएको मीठो तरकारी खान पाउँथे। श्रीमतीले गज्जबको जागिर खाने श्रीमान र त्यो पनि सरकारी पाउँथे। तर, जनयुद्धकालमा कैयौं योद्धाले आरामको जिन्दगीलाई केन्द्रमा राखेर जीवनसाथी रोजेनन्। उनीहरुले कहिलै पनि घर गृहस्तीको परम्परागत आनन्द खोजेनन् किनकी उनीहरुको जीवन, जगत, प्रेम र संसारलाई हेर्ने नजर विल्कुलै फरक थियो। त्यही नजरको नाम हो मार्क्सवाद र मार्क्सवादी नजरले गरिने त्यही प्रेम नै हो मार्क्सवादी प्रेम।
मार्क्सवादी प्रेम बुझ्नको लागि मार्क्सवादी सौन्दर्य चिन्तन बुझ्न जरूरी हुन्छ। केही मानिसहरु सोच्छन् कि प्रेम भनेको एक प्रकारको भावना हो जो सधै एकनास रहन्छ, कहिलै मर्दैन। सुन्दा कति मीठो सुनिन्छ।
के प्रेम कहिलै मर्दैन त? के प्रेम सधै एकनास रहन्छ? मार्क्सवादले संसारका सम्पूर्ण कुराहरु गतिमा हुन्छन भनेर बुझ्छ। परिवर्तन हुने सत्यबाहेक संसारका सबै कुराहरु परिवर्तन हुन्छन् भनेर व्याख्या गर्छ। यदि संसारका सबै कुराहरु परिवर्तनको गतिमा हुन्छन् यो नियम प्रेममा पनि लागू हुन्छ। त्यसो हो भने प्रेम पनि गतिमै हुन्छ र प्रेमको गति कहिले घट्छ कहिले बढ्छ।
हामी कहिलै पनि कसैलाई एकनास किसिमले प्रेम गर्न सक्दैनौं। कुरा प्रेमी प्रेमिका बीच हुने मायाको मात्र होइन। जति नै हुन्छ भने पनि आमाबुवाले सन्तानलाई गर्ने माया पनि एकनास र बराबर हुन सक्दैन। यदि कसैको रुपसँग प्रेम छ भने यस्तो पनि समय आउन सक्छ कि मन पराएको मान्छेको अनुहार नै हेर्न मन पनि नलागोस। कसैको व्यवहारसँग प्रेम छ भने व्यवहार पनि कुनै एक बिन्दुमा पुगेपछि मन नपर्न सक्छ। प्रेम जहिलै समाजको गतिमा चलिरहेको हुन्छ। मार्क्सवादीहरुले सुन्दरतालाई पनि वस्तुगत(रूप) र आत्मगत(चरित्र)को गतिशील एकतामा बुझ्छन्।
प्रेम भौतिक हुन्छ कि अभौतिक? आध्यात्मवादी भन्छन्- प्रेम ईश्वरीय तत्व हो जो अभौतिक हुन्छ। यो एकदम गलत दृष्टिकोण हो। प्रेम पनि एउटा भौतिक प्रक्रियाको परिणाम हो। मानव शरीरमा रहेका पदार्थ(हर्मोन्स)मा हुने उतार चढावले प्रेम पनि घटाउने र बढाउने काम गर्छ। यिनै पदार्थको गतिले प्रेमको गति निर्धारण गर्छ।
अब प्रश्न उठ्न सक्छ, यी पदार्थ (हर्मोन्स)मा घटबढ चाहिँ के ले ल्याउँछ? यो एकदम महत्वपूर्ण प्रश्न हो। पदार्थमा उतार चढाव ल्याउने काम भौतिक परिवेशले गर्छ। जस्तै कि बाटोमा कुनै एउटा सुन्दर मान्छेलाई देखियो। त्यो देखेपछि मात्र प्रेमको भावना जाग्छ। कुनै देख्दै नदेखेको, सुन्दै नसुनेको, महसुस नै नगरेको कुनै पनि मानिस वा वस्तु प्रति प्रेम हुन् सक्छ त ? प्रेम हुनको लागि पहिला ज्ञानेइन्द्रीयहरु प्रभावित हुनुपर्छ। इन्द्रीयलाई भौतिक संसारले प्रभावित गर्ने हो।
त्यसरी नै यदि कोही व्यक्तिले कसैसँग एकदम राम्रो व्यवहार प्रस्तुत गर्यो भने त्यही व्यवहारले प्रेमको भावनालाई जन्माउँछ। कसैको रुप र व्यवहारले प्रभावित नगर्दासम्म मानव शरीरमा प्रेमको भावना पलाउँदैन। रुप वा व्यवहार दुबै देख्न र महसुस गर्न सकिने गरी भौतिक हुन्छन्। त्यसैले प्रेम पनि भौतिक प्रक्रियाहरुको उपज हो। प्रेम सधै मनमा सञ्चय भएर बसको हुँदैन। प्रेम तिनै पदार्थ(हर्मोन्स)हरुको गति अनुसार कुनै बेला अस्तित्वमा आउँछ, कुनै बेला बढ्छ र घट्छ र कुनै बेला हराउँछ। यसरी नै मानव शरीरका हरेक भावनाहरु चलिरहेका हुन्छन्।
अब प्रेम भौतिक परिवेशले निर्धारण गर्छ भन्ने बोध भएपछि यो पनि बुझ्न जरूरी छ कि भौतिक परिवेश जस्तो छ प्रेम पनि त्यस्तै हुन्छ। ढुंगे युगमा पनि मान्छेलाई प्रेम हुन्थ्यो तर त्यो प्रेम आजको जस्तो हुँदैन थियो। ढुंगे युगमा गाजल आविष्कार र भइसकेको थिएन त्यसैले मन पर्नको लागि गाजलू आँखा नै चाहिदैन थियो। त्यती बेला आजको जस्तो काइयो थिएन। त्यसैले मन पर्नको लागि सर्लक्क मिलेको कपाल चाहिन्न थियो। लट्टा परेको कपाल नै मन पर्थ्यो। त्यति बेला हरेक दिन पेट भरी खान पाउने कि नपाउने भन्ने कुरा नै प्रधान हुन्थ्यो। एक दिन पेटभरी खान पाइन्थ्यो भने अर्को दिन भोकै बस्नु पर्ने हुनसक्थ्यो।
मार्क्सवादी प्रेम गर्नुको अर्थ हुन्छ मान्छेलाई मान्छे रुपमा देख्ने समाजसँग प्रेम गर्नु। वर्गबिहीन समाज निर्माणको यात्रासँग प्रेम गर्नु नै मार्क्सवादी प्रेम हो। मार्क्सवादी प्रेमी हुनु भनेको मुक्ति यात्राको यात्री हुनु हो।
त्यस प्रकारको समयमा हातमा ढुंगा बोकेर हिड्ने मान्छेसँग नै प्रेम हुन्थ्यो। मानिस समूहमा बस्थे, समूहमा खान्थे। आजको जस्तो परिवारको अवधारणा नै थिएन। तेरो र मेरो भन्ने केही पनि निजी सम्पत्ति थिएन। त्यो समाजमा वर्ग थिएन, त्यसैले प्रेम पनि वर्ग हुँदैन थियो। त्यती बेला जसको जोसँग पनि प्रेम हुनसक्थ्यो। एउटा समूहमा सबैले सबैलाई प्रेम गर्थे। प्रेम पनि सामूहिक हुन्थ्यो। कुनै समूहमा महिलाको कमी थियो भने एउटा महिलाको धेरै पुरुषसँग प्रेम एवं शारीरिक सम्बन्ध कायम हुन्थ्यो। कुनै समूहमा पुरुषको कमी छ भने एउटा पुरुषको धेरै महिलासंग सम्बन्ध कायम हुन पुग्थ्यो।
प्रेम पनि आफ्नो समाजको उत्पादन प्रणाली र उत्पादनका साधनले निर्माण गर्ने चिन्तनमा उभेको हुन्छ। ढुंगे युगमा उत्पादनको साधन नै ढुंगा र मानव श्रम थियो। तिनै ढुंगा, कन्दमुल, जंगल र जङ्गली जनवरले नै प्रेमको चरित्र निर्धारण गर्थे। जब समाजमा निजी सम्पत्तिको उदय भयो त्यसले विस्तारै समाजमा सम्पत्ति हुने र नहुने वर्ग दुई फरक वर्गलाई जन्म दियो। दास युगमा दासको प्रेम दाससँग हुन्थ्यो र मालिकको प्रेम मालिकसँग। जब समाज सामन्तवादी युगमा प्रवेश गर्यो सामन्तवादी भौतिक परिवेशले प्रेमको चरित्र पनि आफू जस्तै बनाउँदै लग्यो। जुनसुकै युगको कुरा होस् जबसम्म समाजमा वर्ग रहन्छ तबसम्म प्रेमको चरित्र पनि वर्गीय हुन्छ। निर्वर्गीय प्रेम हुनको लागि वर्ग विरोधी चिन्तनबाट प्रेरित हुनुपर्छ। मार्क्सवाद भनेको त्यही वर्ग विरोधी विचारधारा हो।
मार्क्सवादको पहिलो लक्ष्य भनेकै वर्गबिहीन समाज निर्माणको बाटोमा हिँड्नु हो। त्यसैले तिलकले मोतीसँग गास्न खोज्नु भएको प्रेम भनेको एउटा यस्तो प्रेम हो जसको लक्ष भनेको केवल आफ्नो घर व्यवहार सजाउने मात्र होइन। कसैलाई मार्क्सवादी प्रेम गर्नु भनेको एउटा यस्तो परिवारको कल्पना गर्नु हो जुन परिवार समाज रुपान्तरणको अभियान प्रति समर्पित होस्।
तिलकले लेख्नु भएको प्रेम प्रस्तावको जवाफमा मोतिले लेख्नु भएको एउटा वाक्य छ, “कठिनाइको बीचबाट हाम्रो सच्चा मार्क्सवादी प्रेम सम्बन्धको विकास क्रमिक रुपमा भइरहेको छ र हुने प्रक्रियामा छ।” चिठ्ठीमा मोतिकला पनि प्रेमलाई एउटा गतीको प्रकृयामा बुझेको पाइन्छ। अब बुझ्नु पर्ने अर्को विषय के हो भने मार्क्सवाद रुपान्तरण गरेर बनाउन खोजेको समाज कुन हो? त्यो समाजमा प्रेम कस्तो हुन्छ?
केही मान्छेहरु भन्छन् प्रेमको न जात हुन्छ न धर्म। न भाषा हुन्छ भेष। न कुनै सिमाना हुन्छ न देश। प्रेम त केवल एउटा भावना हो जसलाई न जातको चिन्ता छ न भातको। के यो सत्य हो त? समाजमा वर्ग हुने, जात हुने, धर्म हुने तर त्यही समाजमा उभिएको मान्छेले गर्ने प्रेममा जातभात र वर्ग केही नहुने हुन सक्छ? के यो सम्भव छ?
हिजोको सामन्तवादी समाजले एउटा चरणमा पुगेपछि विवाह अगावै प्रेममा बन्देज लगाएको थियो। केही छिटफुट घटनाबाहेक प्रेम भनेकै विवाह र विवाह भनेकै प्रेम जस्तो बनाइयो। प्रचलन यस्तो बनाइयो कि विवाह गर्नु भन्दा पहिला कसैको जात हेर्नुपर्थ्यो। चलन यस्तो चलाइयो कि विवाह गर्नु अगावै जातपात, धर्म, वर्ग, सबै हेर्नुपर्थ्यो।
समाजमा जब निजी सम्पत्तिको उदय भयो शारीरिक शक्तिको आधारमा पुरुषले निजी सम्पत्ति माथिको स्वामित्व पाउने उत्पादन प्रणाली निर्माण गरियो। निजी सम्पत्तिले पितृसत्तालाई जन्म दियो। पितृसत्ताले आजको जस्तो एकजनासँग विवाह गर्ने प्रचलन चलायो। पितृसत्ताले विस्तारै दास युगको हात समात्यो। जब ढुंगे युगमा शिकार गर्ने ठाउँको स्वामित्व माथि एउटा समूहको अर्को समूहसँग युद्ध हुनथाल्यो, हारेका बन्दीलाई दास बनाउने प्रचलनको विकास भयो। आर्य समाजमा दासलाई नै शुद्र भन्न थालियो। आर्य समाजमा त्यो भन्दा पहिला ब्राह्मण, क्षेत्री र वैश्य गरेर तीन प्रकारमा मात्र वर्ण थिए। जब विस्तारै आर्य समाजमा वर्ण व्यवस्थामा आधारित उत्पादन प्रणालीको जन्मभयो। यसले कालान्तरमा केही माथि पारिएका जातको सत्ता स्थापाना गर्यो।
पहिला मागी विवाह पनि आजको जस्तो थिएन। पुरुषले महिला माग्न जान पाइन्थ्यो। महिलाले पुरुषहरु माग्न जान पाइन्थ्यो। मन मिल्न छोडेपछि खुसीखुसी फर्किन पाइन्थ्यो। मन परेको साथी आफै रोज्न पाइन्थ्यो। जब उत्पादन प्रणालीमा पितृसत्ता र वर्ण व्यवस्थाको मिलन भयो त्यस व्यवस्थाले सबै भन्दा पहिला आफूलाई अनुकुल हुने गरी संस्कृति निर्माण गर्न थाल्यो। फलस्वरूप मागी विवाह पनि हिजोको जस्तो रहेन। त्यसपछि मागी विवाह पनि वर्गीय जातीय र लैंगिक व्यवस्था टिकाउने एउटा सशक्त हतियार बन्नपुग्यो।
मागी विवाहमा आफ्नो जात, धर्म, वर्ग भन्दा बाहिर गएर विवाहलाई कुनै स्थान थिएन। पुरुषको सत्ताले मागी विवाह मार्फत विवाह गरेर महिलालाई आफ्नो घरमा ल्याउने प्रचलन विकास गर्यो। जातको सत्ताले आफ्नो जात भन्दा बाहिर गएर विवाह गर्ने प्रचलनको अन्त्य गर्यो। वर्गीय सत्ताले विवाहलाई आआफ्नो वर्गको परिधी भित्र बाँध्ने काम गर्यो। कालान्तरमा हिन्दु धर्मको सत्ताले यी सबै सत्ताहरुलाई बलियो बनाउने काम गर्यो।
उत्पादन प्रणालीमा जब कुनै वर्ग वा कुनै जात वा कुनै धर्मको सत्ता कायम भयो भने नियम, कानुन, प्रचलन पनि उसैले नै बनाउँछ। यो व्यवस्थाभित्र आफूले रोजेको मान्छेसँग प्रेम गर्ने अधिकार थिएन। मागी विवाह गर्ने दुवै पक्ष कतै न कतै त्यही सत्ताले निर्माण गरेको चिन्तनलाई संरक्षण गर्नुपर्थ्यो। उत्पादन प्रणाली जस्तो जस्तो बन्दै जान्छ त्यसले आफू अनुकुलका विचार निर्माणगर्छ। नेपाली समाजको सामन्तवाद त झन् जातपात, वर्ग, लिङ्ग र धर्मले निर्माण गरेको सामूहिक सत्ता थियो। यस्तो अवस्थामा प्रेम सामन्तवादबाट मुक्त रहेको कल्पना पनि गर्न सकिदैन।
आज हामी पुँजीवादी उत्पादन प्रणालीमा छौं। आजको पुँजीवाद बजारको भरोसामा चलेको छ। बजार नाफामा चल्छ। बजारले हरेक कुरालाई वस्तुमा रुपान्तरण गरिदिन्छ। समान होस या कुनै चाडवाड सबै बजारको चासोमा पर्छन्। त्यही भएर आजको प्रेम सम्बन्धमा पनि बजार पसेको छ। बजारले पहिला प्रेमलाई उपभोग गर्ने वस्तु बनाउँछ। प्रेम उपभोग गर्ने वस्तु बनेपछि प्रेम प्रस्ताव राख्नु अगाडि गुलाव चाहिन्छ। गुलावले चकलेटको माग गर्छ। चकलेटले कफीको माग गर्छ। कफीले पिज्जाको माग गर्छ। यी सबै माग पूरा भएपछि बल्ल प्रेम सम्बन्ध अगाडि बढ्छ। भोलीको प्रेम भोलीको समाजले निर्धारण गर्नेछ। भोली हामी कस्तो उत्पादन प्रणाली विकास गर्छौ, त्यसले भोलीको प्रेमको चरित्र निर्धारण गर्नेछ।
सामन्तवादी युगमा विवाह पहिला जात र धर्मसँग हुन्थ्यो। त्यसपछि जमिन र सम्पत्तिसँग भयो र अन्तिमामा मान्छेसँग। समाजका हरेक क्षेत्र सामन्तवादबाट ग्रसित थिए। यस प्रकारका तमाम विकृतिलाई अन्त्य गर्नको गरिने प्रेम हो मार्क्सवादी प्रेम।
मार्क्सवादी प्रेमको पहिलो अर्थ हुन्छ वर्ग, जातभात, धर्म, लिंगले निर्माण गरेको साँघुरो प्रेमबाट मुक्त भएर प्रेम गर्नु। मार्क्सवादी प्रेमको अर्थ हुन्छ विभेदका घेरा तोडेर प्रेम गर्नु, आफूले रोजेको मान्छेसँग प्रेम गर्नु। मार्क्सवादी प्रेम गर्नुको अर्थ हुन्छ मान्छेलाई मान्छे रुपमा देख्ने समाजसँग प्रेम गर्नु। वर्गबिहीन समाज निर्माणको यात्रासँग प्रेम गर्नु नै मार्क्सवादी प्रेम हो। मार्क्सवादी प्रेमी हुनु भनेको मुक्ति यात्राको यात्री हुनु हो।
त्यस्तै मुक्ति यात्रीले जनयुद्धकालमा लेखेका चिठ्ठीको संकलन हो “जनयुद्धको हस्ताक्षर”। चिठ्ठीमा समाज बदल्नको लागि जीवनको आहुति दिन तयार भएका जनयुद्धका योद्धाहरुको भावना र मनोविज्ञान सजिलै अनुभव गर्न सकिन्छ। जनयुद्धका मुख्य योद्धामा आज विचलनको पनि कीर्तिमान कायम गर्दैछन् तर यस किताबमा लेखिएका चिठ्ठीहरु पढ्दा प्रष्ट बुझ्न् सकिन्छ कि योद्धामा मनमा त्यती बेला मार्क्सवादी प्रेमको खुला आकाशमा सास फेर्नेबाहेक अरु केही पनि चाहना थिएन। किताबमा केही महान मार्क्सवादी प्रेमीको पनि भावना समेटिएको छ जो परिवर्तनको त्यही युद्धमा सहिद र बेपत्ता भए। यी चिठ्ठीहरु संकलन गरेर आम मानिसहरुसम्म पुर्याइदिनु भएको तिलक राजभण्डारी र मोति बस्नेतको मार्क्सवादी प्रेम जोडीलाई हार्दिक धन्यवाद।