जीवनदेखि जेलसम्म : जेलदेखि जीवनसम्म
यति बेला मन्दिरमा अधिकांश समय पूजापाठमा बिताउने वामपन्थी मुनिबाबा कुनै समय मजदुर आन्दोलनका कमान्डर हुन्। सिरहाको लहानका उनको हाराहारी उमेरका मानिसहरूले मुनिबाबाका बारेमा धेरै रोचक र घोचक कुरा गर्छन्। अहिले पनि उनको मन्दिर परिसरमा राजनीतिक व्यक्तिदेखि स्थानीय मजदुर वर्गको लाम लागेको हुन्छ। राधाकृष्ण मन्दिर उनको आश्रम हो जसको केही मिटर पश्चिममा ठूलो मुसहर बस्ती छ।
गाउँवरपर मिश्रित जातिको बसोबास छ। मुनिबाबाको संघर्षदेखि अहिलेसम्मको जीवन यहीँ बितेको छ। उनी एक समयको मेयरका उम्मेद्वार पनि हुन्। २००७ सालमा सिरहाको खौरकियाही पथरगाडामा जन्मेका बाबाको बुबाको नाम बच्चु यादव हो भने आमाको नाम रेशमीदेवी। पाँच वर्षकै उमेरमा उनी बुबाआमाको काख छोडेर बाजे नेनिलाला दाससँग आश्रममा बस्न थाले। ११ वर्षको हुँदा बुबा बितेपछि उनको बाल्यकाल बाजेकै संरक्षणमा बित्यो। बाजे नेनीलालले सानैदेखि धर्मको पाठ सिकाए। पशुपति माविबाट कक्षा १० पास गरे पनि आर्थिक अभावका कारण उनले एसएलसी दिन सकेनन्।
बाबा यसरी बने कम्युनिस्ट
मुलुकमा एकात्मक निरंकुश राजतन्त्रात्मक व्यवस्था थियो। पुलिस प्रशासनको चलखेल उस्तै बढेको। थाहा पाए सबैको हरिबिजोग। बहस छलफलले पनि मौनता साँधेको अवस्था। सानैदेखि धार्मिक क्रियाकलापमा घुलमिल र सक्रिय मुनिबाबा यति सजिलो कहाँ पराजित हुन्थे र ? कम्युनिस्ट साथीबाटै निकै विरोध खप्नु पर्यो। ‘संसारमा भौतिकवाद ठूलो कि अध्यात्मवाद ?’, मुनिबाबा भन्छन्, ‘ठूलै शास्त्रीय बहस चल्यो। बहसले वैचारिक संकटमा फस्थें। के गरौं न गरौं हुन्थ्यो। कतै गलत रूपमा समाजलाई सेवा त गरिरहेको छैन ? भन्ने महसुस हुन्थ्यो।’
रातदिन मनमा बेचैनी छाउँथ्यो उनको। निद्रा पनि पर भाग्थ्यो। अन्त्यमा माक्र्सवादी वैज्ञानिक विचारले मन जित्यो उनको। ‘त्यसपछि त कम्युनिस्ट भएछु। अन्तमा, दुवै विचार अँगाल्छु र दुवै विचारलाई सेवा गर्छु भनेर अठोट गरें’, उनी सम्झन्छन्। २०३२ सालतिर नेकपा संयुक्तका महासचिव विष्णुबहादुर मानन्धरको हातबाट मुनिबाबालगायत कम्युनिस्ट पार्टीको रातो टीका निधारमा लगाउन पुग्छन्। पार्टी सदस्यता लिन्छन्। लहानमा मजदुर संगठनहरू गठन गर्छन्। शान्तिसुरक्षाको नाममा उनी पटक–पटक प्रहरी चौकीमा पुग्छन्। अनेकन यातना भोग्छन्।
मजदुर आन्दोलनको नेतृत्व
नयाँ राजनीतिक वैचारिक जोशजाँगरका साथ लहानमा मजदुर संगठन र आन्दोलन दुवैको आकार ठूलो हुन पुग्छ। बाबाले नेतृत्व गर्न थाल्छन्। मुनिबाबाको आश्रम कम्युनिस्ट आन्दोलनको अखडा बन्न पुग्छ। साथीसँग मिलेर मुनिबाबा लहानमा मजदुर संगठन र स्टाफ युनियनजस्ता पार्टीका भ्रातृसंगठन गठन गर्छन्। सभापतिमा सबैले उनैलाई चयन गर्छन्। त्यसपछि मिलमा काम गर्ने मजदुराई साथ दिन थाल्छन्। सडक संघर्षका दिन सुरु हुन्छन् अर्थात् गरिब, दलित र मजदुर वर्ग निकै पीडित रहेको महसुस गर्छन् बाबा। आन्दोलन थालेपछि गरिब, दलित र मजदुरका अनुहारमा मुस्कान देखिन थाल्छ।
श्रीमती र छोराको संस्कार गर्न कारागार फर्किने गरी कागज गरेर घर जान्छु भन्दा पनि मुनिबाबाका अनेक प्रयास काम लागेनन्। सिडिओदेखि जेलरसम्मको एउटै स्वर हुन्थ्यो, ‘श्री ५ महाराजाधिराजको आदेश छ। जान मिल्दैन। तिमीहरू अराष्ट्रिय तत्त्व हौ। बिदा चाहिन्छ भने पञ्चायती व्यवस्था स्वीकार गरेको कागजमा हस्ताक्षर गर।’
आन्दोलनकै क्रममा २०३९ सालतिर लहानका मागिलाल खेतान लगायतका माडवाडीले सम्पत्तिको लोभमा जगदीश ठाकुरलाई सुन चोरीको आरोप लगाउँछन्। प्रहरी चौकीमा निवेदन दिन्छन्। सेटिङमा प्रहरी हिरासतमै यातना दिएर ठाकुरको हत्या गर्छन्। घटनाले बाबालाई मर्माहत तुल्याउँछ। बाबाको नेतृत्वमा पूरै मजदुर संगठन र नागरिक समाज आन्दोलित हुन्छ। सक्रियतासँगै आश्रमस्थलमा पनि चहलपहल बढ्छ। मधेस आन्दोलन होस् वा वर्तमान समय आश्रम आश्रयस्थल बनेकै छ।
पञ्चायती व्यवस्था हुँदै २०४२ सालमा बाबाको समूहले पार्टीको निर्देशनमा पटकपटक मजदुर आन्दोलन गर्यो। दिनभर काम गरेबापत मजदुरले १० रुपैयाँ पाउँथे। मजदुरलाई परिवार धान्न धौधौ पथ्र्यो। ज्याला बढाउन प्रत्येक वर्ष मिलमा मजदुर आन्दोलन गर्नुपथ्र्याे। आन्दोलनकै बलमा मिलका मालिकहरूसँग वार्ता सम्वाद हुन्थ्यो। पटकपटक गरी मजदुरको कामनुसारको मजदुरी (तलब) १ देखि ४ रुपैयाँ पुग्थ्यो। आन्दोलनमा थुप्रै गरिब र मजदुर प्रहरीको गिरफ्तारीमा पर्थे। जमानतमा छुटाउने काम गर्थे बाबाले। बाबा पनि पटकपटक जेल परे। भन्छन्, ‘कतिपटक गिरफ्तारीमा परें कतिपटक थुनिएँ, गन्ती गरेर साध्य छैन।
पञ्चायती व्यवसायविरुद्ध सत्याग्रह
तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सत्याग्रह अभियान चल्यो। कांग्रेसको त्यो अभियानलाई नेकपा संयुक्तले पनि समर्थन गर्यो। बाबाको पार्टी नेकपा संयुक्तले पनि ‘जेल भरौं’ अभियान चलायो। २०४२ जेठ २२ गते। सिनेमा सकिएपछि ‘त्यहाँ मान्छे धेरै हुन्छ त्यहीँ नारा जुलुस लगाउँछु’ भन्ने योजनामा बाबाको समूह अगाडि बढ्यो। प्रशासनलाई थाहा भइसकेको रहेछ भनेर उनीहरूलाई थाहै भएन। हलभित्रैबाट उनीहरूले पञ्चायती व्यवस्था मुर्दावाद भन्दै नारासहित बाहिर निस्किन थाले। मुनिबाबा र बेचु सोर्नकार गिरफ्तारमा परे, सिरहाको कारागार पनि पुर्याइए।
सिरहा जेलमा बाबाको मातृका यादवलगायत थुप्रै राजबन्दीसँग भेट जेलमै हुन्छ। जेल परेको केही दिनमै श्रीमती सुगियादेवी घरमै सुत्केरी हुन्छिन्। २०३८ सालमा सामाजिक परम्परानुसार विवाह गरेका मुनिबाबा छोरोका बुबा बन्न पुग्छन्। जेलमा साथीहरूले भोज मागेपछि बाबाले खुसीको भोज खुवाउँछन्। दुर्भाग्य सुत्केरी भएको चार दिनमै श्रीमतीको मृत्युको खबर आउँछ। उनी जेलमै शोकमा डुब्छन्। निस्कन खोजे तर कुनै उपाय लागेन। श्रीमतीको अन्तिमपटक मुख हेर्ने रहर यसै तुहिन्छ। दैवको लीला पनि कस्तो ! १५ दिनपछि त्यो सानो छोरोको पनि मृत्युको खबर जेलमै आइपुग्छ। नवजात छोराको न मुख हेर्न पाउँछन् न अन्तिम संस्कार गर्न नै।
श्रीमती र छोराको संस्कार गर्न कारागार फर्किने गरी कागज गरेर घर जान्छु भन्दा पनि बाबाका अनेक प्रयासले पनि केही लागेन। सिडिओदेखि जेलरसम्मको एउटै स्वर हुन्थ्यो, ‘श्री ५ महाराजाधिराजको आदेश छ। जान मिल्दैन। तिमीहरू अराष्ट्रिय तत्त्व हौ। बिदा चाहिन्छ भने पञ्चायती व्यवस्था स्वीकार गरेको कागजमा हस्ताक्षर गर। सदाका लागि जेलमुक्त हुन्छौ। महाराजाधिराजको आदेश यही हो।’ देश र जनताका लागि मुनिबाबाले परिवार होइन, जेल रोजे।
जेलमा बाबाको भोक हडताल
जेलमा बन्दीहरूले सेवासुविधाका लागि हडताल गरेपछि केही दिनमा कारागारभित्र सिडियो चन्द्रीकानन्द खरेल आफैं उपस्थित भए। सबैलाई सबै कुरा भने। बाबालाई तिमी पढेलेखेका विद्वान् मान्छे हौ यस्तो काम छोड। कांग्रेस र कम्युनिस्टहरू अराष्ट्रिय तत्त्वहरू हुन्, तिमीले जे भन्छौ त्यो गरिदिन्छु। जागिर भने राम्रो जागिर लगाइदिन्छु। यस्तै आश्वासन पनि दिए। बाबाले स्वीकारेनन्। जेल नै रोजे, भावनालाई तिरस्कार गरे। जेलमा पत्रपत्रिका पढ्ने र लत्ताकपडा आदि केही सुविधा दिँदैनथ्यो। राजबन्दीहरूको नाममा आउने लत्ताकपडालगायतका सुविधा सिडिओ र जेलरले मिलेर नजिकै रहेको भारतको नाका जयनगरमा लगेर बेची खान्थ्यो।
राजबन्दीहरूले त्यो कुरा थाहा पाएपछि जेलभित्रै भोक हडताल सुरु गरे। तीन दिनपछि सिडिओ चन्द्रिकानन्द खरेलको जेलभित्र आगमन भयो। ‘तिमीहरू बाहिर पनि हडताल गर्ने अनि भित्र पनि ?’ भन्दै उनले जेलभित्रै मुनिबाबा, मातृका यादव, इन्द्रनारायण मण्डल, कासिम अन्सारी, मोहम्मद, रासलाल मण्डल, सत्यनारायण महतो, चन्दर यादव, मुक्ति मण्डल, योगी ठाकुर आदिलाई लाइन लगाएर सैनिकबाट निर्मम यातना दिन लाए। सिडिओसँग मातृकाजीको झगडा पनि पर्यो। चर्काचर्की बहस भयो। त्यसपछि राजबन्दीहरूलाई एकनासे सुविधा दिन थाले। राजबन्दीहरूले पाउने लत्ताकपडादेखि एक नम्बर चामल र पत्रपत्रिका दिन थाल्यो। त्यसैबेला किसानका चर्चित नेता सूर्यनाथ राणलाई जेलबाट मार्न उदयपुरको बेल्टारतिर लगे। उनलाई लानेबेला ‘जल्ती हुऐ दिपको मुझ्ने नही देना कमरेट लोग। अब हम जारहा हुँ। पुलिस लोग हमेको मार्नेके लिए ले जारहा है।’
सूर्यनाथ राणले जोरजोरले हल्ला गरेको त्यो आवाज सबैले सुने। त्यसको केही दिनमै उदयपुरको बेल्टारस्थित जंगलमा लगेर उनलाई आँखामा पट्टी बाँधेर गोली हानी हत्या गरेको खबर आयो। सबै राजबन्दी शोकमा डुबे। आलोपालो सकिने दिन आए भन्ठानेर केही राजबन्दीमा निराशा पनि छायो। दुःखद खबरले जेलको वातावरणमा पूरै सन्नाटा छायो। भविष्य र जीवन सबै राजबन्दीका लागि अन्योलमा थियो। जेल बसाइ नौ महिना भएको थियो। संविधान दिवसको दिन २०४२ पुस १ गते एक्कासि रिहा गर्ने खबर आयो। रिहा हुनेहरू सबै खुसी हुन्छन्।
पारिवारिक कहानी
बाबा २८ वर्षको हुँदा २०२८ सालमा उनका बाजेको निधन भयो। एक्लो र बेसहारा महसुस गरे उनले। बाबा भन्छन्, ‘बाजेको निधन मेरा लागि भगवान्कै निधन भएजस्तो भयो।’ त्यसपछि आश्रमको जिम्मेवारी बाबा र उनको आमाको काँधमा थपियो। बुबालाई उनले १२ वर्षमै गुमाएका थिए। बाजेको मृत्युपछि आमालाई गाउँबाट आश्रममै ल्याएर राखे। दाजुभाइ गाउँमै बसे। अहिले बाबा बस्ने आश्रम गनुरदासको आफ्नै थियो। बाजेको गुरुभाइ गनुरदासले आश्रमको नाममा १० कट्ठा जग्गा दान दिएका थिए। त्यही १० कट्ठामै राधाकृष्ण मन्दिर छ। अहिले पनि संघर्षपूर्ण जीवन बाँचिरहेका बाबाको आश्रमको जग्गामा बसोबास गरेको भनेर पटकपटक केही विपक्षी सोचका मानिस दुःख दिँदै आएका छन्। जग्गाको मूल्य बढेपछि अहिले संरक्षण गर्ने मुनिबाबालाई हटाउनुपर्छ कि त तह लगाउनुपर्छ भनेर पटकपटक विभिन्न किसिमका समस्या र तनाव दिने काम भइरहेछन्।
बाबाको दोस्रो विवाह
२०४४ सालमा बाबाले दोस्रो विवाह सिरहाकै औरहीको करहर्वा निवासी असर्फी यादवकी छोरी कुसुमदेवी यादवसँग गरे। अहिले बाबाको तीन छोरी र दुई भाइ छोरा छन्। छोराछोरीलाई राम्रोसँग पढाए, हुर्काए। आश्रममै पारिवारिक जीवन चलेको छ। बाबा आफू सधैं सत्यको बाटोमै अडिग रहेको र अडिग रहिरह्ने बताउँछन्। भन्छन्, ‘बाजे र उनका गुरुभाइले देखाएको सत्यको बाटो हिँड्न कहिले छोड्ने छैन। बाबाले जीवनमा थुप्रै विद्रोह, आन्दोलन र क्रान्ति, देखे र भोगे तर त्यसबाट सृजित सन्दर्भ भने बेइमानी मात्र भएको ठान्छन्। बाबाले रोजेको सत्य बाटोकै कारण उनी आश्रमबाट विश्राम लिन सक्दैनन्।
लुट्ने, ठग्ने र भ्रष्टाचार गर्ने अनि पद प्रतिष्ठाका लागि मरिहत्ते, जालझेल र षड्यन्त्र गर्ने कुरा बाबाले कहिले गरेनन्। आध्यात्मिक शक्तिले यस्तो गर्न नसक्ने तर्क उनको छ। भन्छन्, ‘सँगैका कम्युनिस्ट साथीहरू मेयर, सांसद, मन्त्री बने। तीनपुस्ते जीवनलाई पुग्ने सम्पत्ति जोडे। त्यो बेला त्यस्तो गर्यौं तर अहिले सबै क्रान्तिकारीहरू सामन्तहरूको गधा बनेका छन्।’ मुलुकमा कम्युनिस्टहरू च्याउझैं उम्रेपछि पछिलो समय बाबाको राजनीतिक यात्रामा फेरबदल आयो। परिस्थितिसँगै २०३२ सालमा नेकपा संयुक्तको सदस्यता लिएपछि २०४८ सालमा सबै साथी नेकपा एमालेमा प्रवेश गरे। २०६३ सालमा लहानका मेयर मुनि साहसहितको समूह राष्ट्रिय जनमोर्चामा विश्वनाथ साहको नेतृत्वमा प्रेश गरे। २०६९ नेकपा माओवादीमा प्रवेश गरे।
बाबा भन्छन्, ‘म खुसी र सुखी दुवै छु। विगतको संघर्षमा पछुतो छैन। पहिला जस्तो जीवन थियो अहिले पनि त्यस्तै छ। खुसी र सुखी छु।’ सँगैका साथी पदमा पुगे पनि बाबालाई हेर्नसम्म आश्रममा नआएकोमा भने उनको गुनासो छ। ‘जीवनलाई कसरी लिने भन्ने हो। पदमा भए पनि खुसी र सुखी भएन भने के अर्थ ? मलाई त योभन्दा सुन्दर जीवन अरू के हुन्छ र ? सबैथोक छ’, मुनिबाबा भन्छन्।