भक्तपुरमा विद्युतको माग बढ्यो
भक्तपुर : भक्तपुरमा विद्युत माग बढेको छ । यहाँ विद्युतका ग्राहकसमेत बढेका छन् ।
नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका प्रमुख राजकुमार रमणले भक्तपुरमा विद्युतको माग र ग्राहक सँगसँगै बढिरहेको जानकारी दिए ।
उनले अघिल्लो वर्षको तुलनामा गत वर्ष ७ प्रतिशतले विद्युत माग बढेको जानकारी दिए । विद्युतका ग्राहक भने करिब आठ प्रतिशतले बढेको उनको भनाइ छ ।
उनका अनुसार केन्द्रले आर्थिक वर्ष २०७५÷७६ मा ६ करोड १३ लाख ८३ हजार २ सय ४२ युनिट विद्युत बिक्री गरेको थियो। आर्थिक वर्ष २०७६÷७७ मा यो बढेर ६ करोड ५७ लाख २१ हजार ३ सय १८ युनिट पुगेको प्रमुख रमण बताउँछन् ।
यसअनुसार गत वर्ष ४३ लाख ३९ हजार ७६ युनिट बढी बिक्री भएको देखिन्छ । जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतभन्दा बढी युनिट हो ।
‘चालू आवको माघसम्म ३ करोड ५० लाख २६ हजार ७ सय ४९ युनिट बिक्री भइसकेको छ’, उनले भने, ‘गर्मी याम सुरु भइसकेको छ । विद्युतको खपत पनि अब निरन्तर बढ्छ ।’
उनका अनुसार गत वर्ष पनि चैतपछि विद्युतको माग ह्वात्तै बढेको थियो । त्यसैले चालू आवमा पनि विद्युतको माग गत वर्षको तुलनामा बढ्ने उनले प्रक्षेपण गरे ।
प्रमुख रमणले गत वर्षसम्म केन्द्रका ग्राहक ३८ हजार ८ सय ६५ रहेको बताए । जुन बढेर चालू आवको माघसम्म ४१ हजार ९ सय ६८ पुगेको उनले जानकारी दिए । यो करिब ८ प्रतिशतको वृद्धि हो ।‘हाम्रा ग्राहक पनि निरन्तर बढिरहेका छन्’, उनले भने, ‘तर मिटर अभावले मागबमोजिम ग्राहकको लाइन जडान गर्न सकिएको छैन ।’
उनका अनुसार दैनिक १० जनाभन्दा बढी ग्राहक नयाँ मिटर जडानका लागि केन्द्रमा पुग्दै आएका छन् ।
ट्रिपिङबारे मासिक रिपोर्ट
बेला न कुबेला विद्युत झ्याप्पझ्याप्प जान थालेको भन्दै ग्राहकहरुबाट अत्यधिक गुनासो आएपछि नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयले जिल्लाजिल्लाबाट ट्रिपिङको रिपोर्ट लिन थालेको छ । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै विशेष चासो राखेका थिए । जसले गर्दा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रत्येक जिल्लालाई ट्रिपिङबारे मासिक रिपोर्ट पठाउन भनेका छन् ।
सोहीअनुसार भक्तपुर वितरण केन्द्रले पनि गएको पुसदेखि नै ट्रिपिङको मासिक रिपोर्ट पठाउन थालिएको केन्द्र प्रमुख रमण बताउँछन् ।
उनले प्राधिकरणले नमागे पनि केन्द्रले ट्रिपिङको वार्षिक रिपोर्ट बनाउने गर्दै आएको जानकारी दिए । जसअनुसार भक्तपुरमा कममात्रै ट्रिपिङ हुने गरेको उनले स्पष्ट पारे ।
‘गत वर्ष महिनामा ३२ चोटिसम्म ट्रिपिङ भएको थियो’, प्रमुख रमणले थपे, ‘अहिले महिनामा २९ पटकमात्रै ट्रिप्रिङ भएको देखिएको छ ।’
उनले गत वर्ष ६१ पटक सटडाउन भएकोमा चालू आवको अहिलेसम्म १५ चोटिमात्रै सटडाउन भएको बताए ।
विद्युतका प्राविधिकहरुका अनुसार बीचबीचमा एक्कासी झ्याप्प झ्याप्प बत्ती जानु ट्रिपिङ हो । जुन हावाहुरी, सवारीसाधनको ठक्करले गर्दा बिजुलीका खम्बा ढल्दा एक्कासी बत्ती जान्छ । त्यस्तै नाँगा तारहरु एकापसमा जुध्दा पनि ट्रिप भएर एक्कासी बत्ती जाने गर्छ ।
त्यस्तै प्राधिकरणले ट्रान्सफर्मर फेर्न, लाइन बिस्तार गर्न वा अन्य प्राविधिक काम गर्न अग्रीम जानकारी दिएर बत्ती काट्नु सटडाउन हो ।
गत वर्ष सटडाउनका कारण भक्तपुरका ग्राहक ५१ बिजुलीविहीन हुनुपरेको केन्द्रले जनाएको छ । जबकि चालू आवमा अहिलेसम्म सटडाउनले ग्राहक १२ घन्टाभन्दा बढी समय बिजुलीविहीन हुन नपरेको केन्द्रका प्रमुख रमणले जानकारी दिए ।