आम्दानीको स्रोत फूलखेती
इलाम : महिला र फूलको नाता अरू नाताभन्दा पवित्र हुन्छ हुने बताउँछिन् लासाङ तामाङ। त्यही भएर सूर्योदय नगरपालिका—१ को सुदूर बस्तीमा चिटिक्क परेको घरको बगैंचामा गतिलो फार्म निर्माण गरेर रमाइरहेकी छन् उनी।
करिब १०वर्षअघि एन्थोनियम बहुउद्देश्य सहकारी संस्थामा आबद्ध भएर फूलसँगको दिनचर्या सुरु गरेकी उनले २०७२ सालमा करेसाबारीमा नमोबुद्ध फूल नर्सरी स्थापना गरिन्। अहिले त्यही नर्सरीबाट काठमाडौंसहित ठूला सहरमा फूलको आपूर्ति गर्ने गर्दछन्। करिब सात रोपनी क्षेत्रमा उनले पाँचबटा टनेल निर्माण गरेर विभिन्न जातका फूल उत्पादन गरिरहेकी छन्। ५० हजार रुपैयाँ लगानी गरेर फूलको खेती सुरु गरेकी उनको नर्सरी अहिले २० लाखमाथिको भएको छ। उनले सुनाइन् ‘लगानीको एकएक हिसाब लेखेको छैन, तर २० लाख त नाघ्यो होला।’ तामाङको नर्सरीको फूलको माग काठमाडौंसहित तराईका कतिपय बजार र पूर्वको पाँचथरसम्मका फूलका व्यपारीमार्फत आउने गरेको छ। तामाङले भनिन् ‘एन्जेलियाको माग त काठमाडौंको बजारमै पूरा गर्न सकिएको छैन।’ अन्य फूलको माग पनि पर्याप्त रहेको उनको भनाइ छ।
तामाङको नर्सरीमा पिटोनिया, अर्किट, सकुलेन्स, पेन्सिन पाइन, लेमन पाइनलगायत फूल छन्। यी फूलको बीउ ल्याउन र रोप्न जति असहज छ बिक्री गरेर राम्रो दाम पाउँदा तामाङ सबै दुःख भुल्ने गर्छिन्। उनले महिनामा ५० हजारसम्मको फूल बिक्री गर्ने गरेको सुनाइन्। यस वर्ष कोभिडको असरले बीउ समयमा नआउँदा व्यापारमा असर पारेको तामाङको गुनासो छ। उनले भनिन् ‘घर चलाउन अरू सोच्नै पर्दैन।’
उनले व्यवसायलाई अझै बढाउने योजना पनि बनाएकी छन्। फूल पर्यटनको विकास गर्न आफूसहित केही घरमा होमस्टे सञ्चालनको योजनामा रहेकी उनले सुनाइन्। एन्थोनिय बहुउद्देश्यीय सहकारीमै हुँदा फूल खेतीमा आकर्षित भएका धनबहादुर सावा, मनोज गोलेलगायतले पनि फूलमा लगानी बढाएका छन्। उनीहरू गोर्खे गाउँलाई फूल पर्यटनको गन्तव्य बनाउने सोचका साथ अघि बढेको बताउँछन्।