अस्पतालको भवनका काम गर्ने मजदुर मृत फेला
बाजुरा : बाजुरा सदरमुकाम मार्तडीमा एक जना कामदार मृत फेला परेका छन्। जिल्ला अस्पताल बाजुराको निर्माणधिन भवनमा काम गर्ने कामदार खप्तड छेडेदह गाँउपालिका -५ घंग्रेडीका ४१ वर्षीय वीरबहादुर रावत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सुचना अधिकारी लोकेन्द्र ठगुन्नाले जानकारी दिए।
ठगुन्नाका अनुसार मृत फेला परेका रावत अस्पतालको नवनिर्मित भवनमा काम गर्ने कामदार हुन्। उनी आइतबार राती मदिरा सेवन गरी आफ्नै कोठामा अन्य कामदारसागै सुतेका थिए। सुतेको धेरै समयसम्म बोलाउँदा नबोलेपछि सहकर्मीले उठाँउदा बेहोस् जस्तो देखेपछि जिल्ला अस्पताल बाजुरामा लगेर चेकजाँच गर्दा रावतको मृत्यु भएको पुष्टि भएको बताइएको छ।
मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।