सुतेरै गाए तेजबहादुरले

सुतेरै गाए तेजबहादुरले

चितवन :ओछ्यानमा थला परेको १६ वर्ष भयो। घाँटीभन्दा तलको भाग चल्दैन। बँचेको त्यही भागको सहारामा उनी गीत गाउँछन् तर ओछ्यानमै सुतेर। आफ्नो विरहको भाका गाउँछन्। नवलपुरस्थित दुम्किबासका तेजबहादुर नेपालीको शरीर मुढो लडेजस्तै छ।

खान र बोल्न मुख मात्रै बाँकी छ। बाँकी भाग सबै अचेत छ। आफ्नै अवस्थाबाट भक्कानिन्छन् उनी। अनि भाग्यको खेल भनेर चित्त बुझाउँछन् तेजबहादुर। तर, गुन्गुनाउन छोड्दैनन्। गीत गाउने चाहना थियो तर सहयोग गर्ने मान्छे भएनन्।

तेजबहादुरलाई गीत गाउन खुबै रहर थियो। सानोमा बेन्च बजाएर गाउँथे। रेकर्ड गराउन न पैसा थियो न त पहुँच। घरैमा गीत गुन्गुनाउँदा सबैले प्रशंसा गर्थे। तर, गायक बन्ने सपना त्यसै तुहिएपछि निराश थिए। स्टुडियोमा गीत गाउने उनको ठूलो रहर हो। यो जुनीमा सम्भव छैन भनेर आस मारेका तेजबहादुर मंगलबार रेकर्डिङ स्टुडियो पुगे। जीवनको ६१औं वसन्त पार गरेपछि तेजबहादुरले मंगलबार पहिलो पटक स्टुडियो देखे। ओछ्यानमै सुतेर उनले गीत गाए। उनी र उनको परिवारलाई सपनाझैं लागेको छ। भरतपुरमा रहेको ‘योर भ्वाइस’मा परिवारसहित आएर गीत रेकर्ड गराए, ‘डुबान छु।’ 

‘स्टुडियो हुन्छ भन्ने सुनेको थिएँ तर देखेको थिइनँ, सन्चो भएको अवस्थामा पनि गाउन पाएको थिइनँ’, तेजबहादुरले भने, ‘अर्जुन सरले यो अवसर दिनुभयो। मैले कल्पना गर्न पनि सकेको छैन, त्यति खुसी छु।’ 

तेजबहादुरको अवस्था र गीत गाउने चाहना थाहा पाएपछि संगीतकार अर्जुन पोख्रेलले अवसर दिलाएका हुन्। उनले गाएको मुरलीधरको ‘उडायो सपना सबै हुरीले’ गीत सामाजिक सञ्जालमा देखेपछि संगीतकार पोखरेल तेजबहादुरको घरै पुगे। पोखरेलको संगीतमा अमेरिकामा बस्ने भूपेन्द्र महतको रचनामा तेजबहादुरले गीत रेकर्ड गराएका छन्। यसको खर्चको व्यवस्था पोखरेलले नै गरेका छन्। गीतबाट आउने सबै रकम तेजबहादुरलाई सहयोग गर्ने संगीतकार पोखरेलले बताए। काठमाडौंबाट चितवन आएर पोख्रेलले तेजबहादुरको गीत रेकर्ड गराएर फर्किएका छन्। 

‘सामाजिक सञ्जालमा देखेरै म उहाँको घर पुगें’, पोखरेलले भने, ‘उहाँको गीत सुनेपछि भूपेन्द्र सर र म मिलेर अडियो भिडियोको काम गर्ने कुरा भयो। यसबाट जति रकम आउँछ, सबै तेजबहादुरलाई दिने कुरा भएको छ।’ 

सानो छँदा आमाको निधनले टुहुरो बनेका तेजबहादुरको जीवन संघर्षमै बित्यो। पहिला आर्थिक अवस्थाले दिएन, अहिले शारीरिक समस्या थपियो। गीत रेकर्डले तेजबहादुरको अनुहारमा उज्यालो छरेको छ। भारतबाट बिदामा आएको बेला घरैको गोरुले हानेर उनी थला परेका हुन्। गोरुले हानेपछि घरैमा ठीक हुन्छ भनेर बस्दा झन् बल्झियो। चन्दा उठाएर उपचार गर्न काठमाडौं लगे पनि एमआरआई गर्ने पैसा नभएपछि तेजबहादुरकै चाहनामा घर ल्याएर राखिएको हो। काठमाडौंबाट सोझै घर ल्याएपछि तेजबहादुर झन् थला पर्दै गए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.