मालपोतका सुब्बामाथि घुस मुद्दा
काठमाडौं : अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सिमरा बाराका कार्यालय प्रमुख नासु मनोजकुमार खनाल र लेखनदास बद्रीप्रसाद बडालविरुद्ध घुस मुद्दा दायर गरेको छ ।
उनीहरुले सेवाग्राहीको जग्गा रजिष्ट्रेशन पास गर्ने क्रममा उक्त जग्गा श्रम तथा रोजगार प्रवर्द्धन विभाग, नयाँबानेश्वर काठमाडौंमा रोक्का रहेको छ, त्यसका लागि खर्च गर्नु पर्दछ भनी सेवाग्राहीसँग ६ लाख लिएका थिए । उनीहरुले घुस लिदा लिदै पक्राउ गरिएको थियो ।
उनीहरुले सेवाग्राहीसँग मोलमोलाई गरी आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसायले घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।