चार महामारी भोगेका जोशी
ललितपुर : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी १ सय २ वर्षका भए। संस्कृतिविद् जोशीले कोरोना भाइरससम्म आइपुग्दा विभिन्न प्रकारका महामारी सामना गरेका छन्। कोरोना भाइरस महामारीका कारण वर्षदिनदेखि एक खालको आइसोलेसनमा बसिरहेको जोशी बताउँछन्। उनले बाहिर कार्यक्रममा जान कम गरेका छन्।
घरमा आउनेसँग नभेटी हुँदैन। दूरी कायम गरी भेट गर्छन्। हालसम्म कुनै औषधि नखाएको बताउने जोशीले कोरोनाका कारण अप्ठ्यारो थपिएको महसुस गरेका छन्। उनले कोरोनाविरुद्धको खोप भने लगाएका छैनन्।
जोशीले थाहा पाएको पहिलो महामारी बिफरको थियो। जति बेला उनी ६–७ वर्षका थिए। त्यो बेला खोप लगाउने चलन थिएन। बिफर नआओस् भनेर नाडीमा सियोको टुप्पोले घोचेर वैद्यहरूले औषधि लगाइदिन्थे। त्यसरी औषधि लगाइदिने मान्छेलाई ‘कै वैद्य’ भनिन्थ्यो। नेवारी भाषामा ‘कै’को अर्थ खटिरा हो। त्यसैले कै वैद्य अर्थात् खटिराको उपचार गर्ने भनेर चिनिन्थ्यो।
जसलाई सियोले घोचेको हुँदैनथ्यो, उनीहरूको अनुहारभरि खोपिल्टै खोपिल्टाजस्तो (छ्याके) बिफरको दाग देखिन्थ्यो। तर, त्यो खटिरा कसैलाई आफैँ पनि आउँथ्यो। कसैलाई सथ्र्यो। जसलाई सियोले घोचेर औषधि लगाइएको हुन्थ्यो, उनीहरूको अनुहारमा दाग कम देखिन्थ्यो। नघोच्नेहरूको अनुहार नराम्ररी बिग्रिएको हुन्थ्यो। बिफर एकदमै चिलाउने, दुख्ने, फोका आउने रोग थियो। यो महामारीले धेरैलाई प्रभावित बनायो। सानै भएकाले जोशीलाई धेरै कुरा सम्झनामा छैन। तर, नाडीमा कै वैद्यले उपचार गरेकाले त्यस्तो कुनैै समस्या नभएको जोशी सुनाउँछन्।
उनले देखेको अर्को महामारी औलोको थियो। निकै पछि आयो। तर, काठमाडौंमा लामखुट्टेले टोकेको पनि थाहा थिएन उनलाई। मुलुकभरि औलो उन्मूलन गर्ने भनेर सरकारले अभियान चलाएको थियो। तर, खोप थिएन। औषधि छर्किएर लामखुट्टे निर्मूल बनाइन्थ्यो।
कसरी उपचार
बिफर : सियोले नाडीमा घोचेर औषधि
औलो : औषधि छिटकेर लामखुट्टे मारिन्थ्यो
हैजा : धेरै पछि खोप
कोरोना : खोप
अर्को महामारी हैजाको थियो। देवीदेउता रिसाएका कारण हैजाको महामारी आयो भन्ने विश्वास गरिन्थ्यो। नेवारहरूले ‘समेःवजी’ बनाएर देउताका अगाडि राख्थे। भजन–कीर्तन गर्ने चलन थियो। खोप धेरै पछि मात्रै आयो। पढ्न तथा यताउता कामका लागि बाहिर जाँदा टाइफाइट र हैजाको खोप लगाउनुपर्ने भयो। त्यसपछि आफूले पनि खोप लगाएको उनी सुनाउँछन्।
जोशी र ९८ वर्षीया पत्नी राधादेवीले हालै मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन्। यस्तो निर्णय गर्न ठूलो त्याग चाहिने उनको बुझाइ छ। ‘सितिमिति त्यागले यस्तो निर्णय गर्न सक्दैन। मैलेचाहिँ त्याग गर्न सकेँ’, उनी भन्छन्।
जटिल स्वास्थ्य समस्या नभएकाले चिकित्सा विज्ञान पढ्नेहरूका लागि मरणोपरान्त शरीर दिन चाहेको उनी बताउँछन्। ‘आफ्नै इच्छाले मेरो शरीर विद्यार्थीका निम्ति दिने प्रण गरेको हुँ’, उनी भन्छन्, ‘मेरो कुनै अंगले काम गर्छ भने त्यो म अरूलाई दिन चाहन्छु। मेरो मुटु, कलेजो, फोक्सो, आँखाले काम गर्यो भने कसैलाई काम लागोस् भन्ने सोचाइ हो।’ कुनै अंगले काम नगरे पनि अध्ययनका लागि काम लाग्न सक्ने उनको भनाइ छ।
नेपाली धर्म संस्कृतिअनुसार मरेपछि जलाएपछि आत्माले शान्ति पाउँछ भन्ने विश्वास भए पनि आफ्नो देहान्तपछि त्यस्तो गर्नुपर्ने उनी बताउँछन्। उनको रेखदेखमा खटिएकी नर्स पुनम भुसालका अनुसार जोशीलाई करिब महिना दिनदेखि कमजोरी महसुस भएको छ। तर, विस्तारै सन्तुलनमा आउँदै छन्। जोशी वैशाख ३० गते १ सय ३ वर्ष पुग्दै छन्।