घाँसदाउरा गर्न बाघको त्रास

घाँसदाउरा गर्न बाघको त्रास

गुलरिया : ६२ वर्षीया डल्ली रावत मंगलबार साथीहरूसँग निउरो टिप्न बर्दिया राष्ट्रिय निकुञ्जभित्रको संवेदनशील क्षेत्र बघौरा फाँटामा गएकी थिइन् । ठाकुरबाबा नगरपालिका–७ मोहनपुरकी रावतलाई पाटे बाघले आक्रमण गर्‍यो । साथीहरूले नेपाली सेनालाई खबर गरेपछि तत्काल खोजी गर्दा बाघले खाएको अवस्थामा उनको शव भेटियो ।

मधुवन नगरपालिका–३ भग्रैयास्थित खाता सामुदायिक वनमा एक साताअघि घाँस काट्न गएकी २७ वर्षीया रिना सुनारलाई पनि बाघले लग्यो । गेरुवा गाउँपालिका–६ बाँझपुरस्थित गेरुवा कर्णाली नदीको टापुमा राजापुर–१० कालावन्जरका ६५ वर्षीय लालबहादुर थारूलाई पनि बाघले मा¥यो । थारू भैंसी चराउन त्यहाँ गएका थिए ।

बर्दियामा बाघको आक्रमण रोकिएको छैन । यी घटनाले जंगल क्षेत्रमा पुगेका स्थानीयलाई बाघले आक्रमण गरेको देखाउँछन् । घाँस, दाउरा गर्न, भैंसी, बाख्रा चराउन जाने क्रममा अधिकांश आक्रमणमा परेको देखिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका अधिकृत रविन कडरियाले साढे २ वर्ष अवधिमा बर्दिया–बाँके कम्प्लेक्समा बाघको आक्रमणबाट १८ जनाको मृत्यु भएको बताए । बर्दिया निकुञ्ज क्षेत्रमा ९, वन क्षेत्रमा ७ र बाँके राष्ट्रिय निकुञ्जमा २ जनाले ज्यान गुमाएका हुन् । यस वर्ष बर्दियामा ९ जनाले ज्यान गुमाएका छन् । कडरियाका अनुसार ज्यान गुमाउनेमा खाता जैविक मार्गमा ५ र निकुञ्ज क्षेत्रमा ४ जना छन् ।

निकुञ्जले ९ सय ६८ र मध्यवर्ती क्षेत्रले ५ सय ७ वर्गकिमि क्षेत्रफल ओगटेका छन् । कडरियाका अनुसार बर्दियामा रहेका ८७ वटा पाटेबाघमध्ये ४ वटा खाता जैविक मार्ग र ६ वटा राजमार्गको आम्वासा–कर्णाली क्षेत्रमा छन् । बाँकी अन्यत्र छरिएका छन् । निकुञ्ज क्षेत्रमा बाघको आहारा प्रशस्त भए पनि खाता जैविकमार्ग क्षेत्रमा अभाव देखिएको छ ।
‘हामीले बाघ नियन्त्रण गर्न निरन्तर प्रयास गरेका छौं । हालसम्म गोला र खातामा गरी २ वटा बाघ नियन्त्रणमा लिएका छौं’, उनले भने । संवेदनशील क्षेत्रमा आवागमन रोक्न सूचना गरिए पनि जाने क्रम नरोकिँदा दुर्घटना बढेको उनको भनाइ छ ।

बाघले कात्तिकमा एक सातामै तीन जनाको ज्यान लिएको थियो । खाता जैविक मार्गमा पर्ने सम्झना सामुदायिक वनमा कात्तिक ५ गते बाघले आक्रमण गर्दा मधुवन–३ की २९ वर्षीया गंगा खत्रीको मृत्यु भएको थियो । त्यसको एक सातामै सोही ठाउँका २९ वर्षीय रमेश थारू र २६ वर्षीय दिनेश थारूको ज्यान गयो । उनीहरू खाता जैविकमार्ग धनौरा क्षेत्रमा रहेको बेलझुन्डी सामुदायिक वनमा बाघको आक्रमणमा परेका थिए ।
विज्ञ टोली बर्दियामा

आक्रामक बाघ पहिचान गरी नियन्त्रणका लागि चितवनबाट विज्ञसहितको टोली संवेदनशील क्षेत्रमा परिचालन गरिएको छ । बाघ पहिचान गर्न १३ स्थानमा अटोमेटिक क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए । तीनवटा हात्तीसहित विज्ञ प्राविधिक २५ जनाको टोली खाता क्षेत्रमा परिचालन गरिएको छ ।

जैविकमार्ग सीमावर्ती क्षेत्र भएकाले पनि बाघ पहिचान गर्न कठिनाइ परेको छ । खाता क्षेत्रमा रहेका बाघको वासस्थान सीमापारि छ । जसकारण पनि अध्ययन अनुसन्धानमा समस्या पर्छ । अहिलेको अवस्थामा जंगल पस्न नहुने उनले बताए ।

सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रीय सदस्य मोहम्मद कर खानले सरकार बाघ नियन्त्रण प्रक्रियामा असफल भएको बताए । बाघ संरक्षणका विज्ञले सुरुवाती अवस्थामा ध्यान नदिएकाले समस्या आएको उनको भनाइ छ । बजार, विद्यालयलगायत घरायसी कामकाजमा बाहिर निस्कनै स्थानीयलाई सकस भइरहेको उनले बताए ।
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.