नेपाल समूहको पत्र पाएपछि ओलीले भने: गुटको अस्तित्व स्वीकार्य छैन
काठमाडौँ: नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेपछि माधव नेपाल पक्षका सांसदहरुको भेलाले शर्त सहितको पत्र अध्यक्ष केपी ओलीलाई बुझाएको छ ।
दलको बैठकमा भाग लिनका लागि केही शर्त राख्दै नेपाल पक्षधर सांसदहरुले बालुवाटारमा पुगेर पत्र बुझाएका हुन् । शनिबार नेपाल पक्षका सांसद सोमनाथ पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठले बालुवाटारमा पत्र बुझाएका थिए ।
बालुवाटारमा ओली पक्षधर सांसदहरु बैठक बसिरहँदा नेपाल पक्षधर सांसदहरु भने सिंहदरबारमा बसेका थिए । विधान संशोधन साथै एजेन्डासहितको बैठक आफूहरुको शर्त भएको नेपाल पक्षधर सांसदहरुको माग छ ।
ती शर्त पूरा गरेपछि मात्रै ओलीले आह्वान गरेको दलको बैठकमा आफूहरु सहभागी हुने नेपाल पक्षधर सांसदहरुको अडान छ ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भने ३८ सांसदको हस्ताक्षरसहितको पत्र ग्रहण गर्दै गुटको अस्तित्व स्वीकार्य नभएको प्रतिक्रिया दिएका थिए । नेपाल पक्षलाई लक्षित गर्दै उनले गुटको अस्तित्व स्वीकार्य नभएको भन्दै शर्त पालना नगर्ने संकेत दिएका छन् ।
नेपाल पक्षका सांसदहरुले भने दलको बैठक बालुवाटारमा नभएर सिंहदरबारस्थित दलको कार्यालय वा संसद भवनमा हुनुपर्ने र उक्त बैठक एजेण्डा सहित हुनुपर्ने माग गर्दैआएका छन् ।
प्रतिक्रिया दिनुहोस !