बन्द भयो वायुऊर्जा

बन्द भयो वायुऊर्जा

सुर्खेत : स्थानीयको पहलमा सञ्चालन भएको वायुऊर्जा बन्द भएको छ। जिल्लाको बराहताल गाउँपालिका–३ को हर्रेकाँडाबस्तीमा वायुऊर्जा सञ्चालन गरिएको थियो। तर, हाल वायुऊर्जा बिग्रिएपछि बस्ती नै अन्धकारमा छ। मर्मतका लागि बजेट नभएपछि स्थानीयले लगानी नै डुब्ने चिन्ता गरेका हुन्।

यहाँ हालसम्म विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छैन। यसकारण यहाँका बासिन्दाले दियालो र टुकी बाल्नुपर्ने बाध्यता छ। यही बाध्यता अन्त्य गर्न सात वर्षअघि उज्यालो बनाउने प्रयास गरियो। गाउँलाई अन्धकारबाट मुक्त गर्न स्थानीयले पाँच लाख ८६ हजार बराबरको जनश्रमदान गरे। सरकारी लगानी थपिएपछि ५६ लाख ६६ हजार चार सय ३८ रुपैयाँको लागतमा २०७४ साउन ५ गते वायुऊर्जाबाट उत्पादन सुरु भयो। आयोजना सञ्चालन भएपछि गाउँमा उज्यालो छायो। 

तर यो आयोजना दुई वर्ष पनि टिकेन। कारण २०७६ साउनमा चट्याङका कारण सोलारमा क्षति पुग्यो। गाउँमा पुनः अन्धकार छायो। आधा करोड खर्चिएको वायुऊर्जालाई पुनः सञ्चालनमा ल्याउन हालसम्म कसैले पहल गरेका छैनन्। हाल वायुऊर्जाबाट विद्युत् उत्पादन बन्द भएको छ। आयोजना बिग्रिएको साढे एक वर्ष बितिसक्दा पनि मर्मत भएको छैन। यसको मारमा स्थानीय परेका छन्। उनीहरू पुनः दियालो र टुकी नै बाल्नुपर्ने अवस्थामा पुगेका हुन्। आर्थिक अभावकै कारण चट्याङ्ले क्षति पुर्‍याएको वायुऊर्जाको मर्मत गर्न नसकिएको स्थानीयले बताएका छन्। मर्मत नहुँदा लाखौंको उपकरण र सामान खेर जाने स्थानीयको चिन्ता छ। 

‘चट्याङ्ले सोलारमा क्षति पुगेको छ’, स्थानीय प्रेम गौतमले भने, ‘मर्मत गर्न हामीसँग बजेट छैन, मर्मत खर्च नहुँदा हामी अँध्यारोमै बस्न बाध्य छौं।’ आर्थिक स्रोत नभएकै कारण आफूहरूले मर्मतको प्रयास नगरेको उनको भनाइ छ। उनले भने, ‘वायुऊर्जा बिग्रिएपछि डेढ वर्षदेखि गाउँ नै अन्धकारमा छ तर यसमा स्थानीय सरकारले पनि चासो दिएन।’  अर्का स्थानीय शेरबहादुर कुँवरले मर्मतका लागि वडा र गाउँपालिकालाई जानकारी गराए पनि बेवास्ता गरेको गुनासो गरे। विद्युत् उत्पादन बन्द भएपछि स्रोत हुनेले घरमा सोलार किनेका छन्। निम्न वर्गले भने दियालो बाल्नुपर्ने पुरानै अवस्थामा फर्कनु परेको छ। 

बराहताल–३का वडाध्यक्ष दत्तबहादुर बरालले अब वायुऊर्जा मर्मत गर्नेभन्दा प्रत्येक घरधुरीलाई सोलार बाँड्ने योजना सुनाए। ‘वायुऊर्जा मर्मत गर्नुपर्ने जिम्मेवारी स्थानीय नागरिकको हो’, उनले भने, ‘वडाले वायुऊर्जा मर्मत गर्दैन, बरु सबै घरधुरीलाई सोलार दिन्छ।’ चालू आर्थिक वर्षभित्रै हर्रेकाँडाका सबै स्थानीयले सोलार पाउने उनको भनाइ छ। 

तर गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले भने आयोजना बिग्रिएकोबारे गाउँपालिकालाई समयमै जानकारी नभएको दाबी गरे। यसअघि कसैले पनि लिखित रूपमा जानकारी नदिएकाले नै मर्मतमा ढिलाइ भएको उनको तर्क छ। ‘वायुऊर्जा बिग्रिएको जानकारी समयमै पाएनौं’, उनले भने, ‘अब मर्मत गर्ने योजना अगाडि बढाउँछौं।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.