‘नेवाः संस्कार र चिकित्सा ज्योतिष’ सार्वजनिक
भक्तपुर : ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘नेवाः संस्कार र चिकित्सा ज्योतिष’ पुस्तक सार्वजनिक गरिएको छ। ज्योतिष पेसा सँगैसँगै लेखन कार्यलाई निरन्तरता दिँदै आएका डा. कायस्थको यो आठौं कृति हो।
उक्त कृतिको एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायतले विमोचन गरेका छन्।
अध्यक्ष बिजुक्छेले ज्योतिषशास्त्रलाई विज्ञान नमान्दा धेरैमा यसबारे अन्धविश्वास भएको उल्लेख गरे। ज्योतिषशास्त्र नेपालका विश्वविद्यालय तथा विद्यालयको उपेक्षामा परेको समेत उनले बताए।
‘ज्योतिषशास्त्र गणित, नक्षत्र र अनुभवमा आधारित विषय हो’, अध्यक्ष बिजुक्छेले भने, ‘त्यसैले ज्योतिषशास्त्रलाई विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तकमा समेट्नुपर्छ।’
ज्योतिषशास्त्र विषय चाखलाग्दोसमेत रहेकाले विद्यार्थीहरु पढ्न उत्साहित हुने उनले विश्वास व्यक्त गरे।
उनले ज्योतिषशास्त्रसँगै खगोलशास्त्रसम्बन्धी पढाइलाई पनि हाम्रो विश्वविद्यालयहरुले प्राथमिकता दिनुपर्नेमा जोड दिए।
अध्यक्ष बिजुक्छेले नेपालका धेरै विषयमा जान्न, बुझ्न विदेशी भाषाको पुस्तकको सहारा लिनुपर्ने अवस्था हुनु दुर्भाग्य भएको स्पष्ट पारे।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले कला–संस्कृति, धर्म–संस्कार र साहित्यले नै नेपालको उन्नयन गर्न सकिने बताए।
उनले नेपाल र नेपाली आफ्नै धर्तीमा भएका धेरै कुराबारे बेखबर रहेको दृष्टान्त सुनाए।
बागमती प्रदेशकी सांसद सृजना सैंजूले पुस्तकमा नेवाः संस्कारलाई चिकित्सा विज्ञानसँग जोडेर व्याख्या गरिएको बताइन्।
फलित ज्योतिषको ज्योतिष र रोग विषमा विद्यावारिधि गरेका लेखक कायस्थले विविध शास्त्रहरुको अध्ययन गरी चिकित्सा ज्योतिषलाई नेवाः संस्कारसँग जोडेर पुस्तक लेखेको सुनाए।
लेखक कायस्थका यसअघि ज्योतिषशास्त्रसम्बन्धी नै ‘नवग्रह र ज्योतिष’, ‘ज्योतिष र रोग’ तथा ‘मल्लकालीन संवत र ज्योतिष विज्ञान’ भन्ने पुस्तक प्रकाशित भइसकेका छन्। त्यस्तै उनका ‘दुर्गापूजा विधि’, ‘लक्ष्मीपूजा विधि’, ‘देवी स्त्रोत्रमाला’ र ‘कवच मन्त्र’ पुस्तक पनि बजारमा उपलब्ध छन्।
लेखक कायस्थले ‘तन्त्रयोग र ज्योतिष’ तथा ‘वास्तु विज्ञान र र ज्योतिष’ भन्ने पुस्तक प्रकाशनको निम्ति तयारी रहेको जानकारी दिए।