सहमतिपछि मृतकका परिवारले शव बुझे
दार्चुला : करेन्ट लागेर मृत्यु भएका दुहुँ गाउँपालिका ३ का पदमबहादुर बमको शव परिवारले जिम्मा लिएको छ । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रको लापारवाहीको कारण आइतबार करेन्ट लागेर बमको मृत्यु भएको भन्दै पीडित परिवारले शव बुझ्न मानेका थिएनन् ।
सोमबार विद्युत प्राधिकरणका कर्मचारी, गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, र पीडित परिवारबीच सहमति भएपछि शवको पोष्टमार्टम गरिन लागेको हो । मौरीको घार हेर्न गएका बमलाई राताकाठा सडक नजिकै रहेको बुदाली इजरमा करेन्ट लागेको हो ।
विद्युत प्राधिकरणले क्षतिपूर्तिबाफत ५ लाख रुपैयाँ वा घरको एकजनालाई रोजगारी लगाउन सकिने बताएपछि परिवारले जागिर माग गरेको दुहुँ ३ का वडाअध्यक्ष लालबहादुर बमले बताए ।
मृतकका दुई छोरा र एक श्रीमति छन् । परिवारले एक छोरालाई विद्युत प्राधिकरणले रोजगारी दिनुपर्ने र अर्को छोरालाई गाउँपालिकाले हेरिदिनुपर्ने माग गरेका थिए । पीडितले विद्युतको लापारवाहीले घट्ना घटेको भन्दै बिहान शव बुझ्न नसकिने बताएका थिए ।
अहिले सहमति पछि शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल दार्चुला ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताए ।