६ वर्षपछि गैंडा गणना

६ वर्षपछि गैंडा गणना

चितवन : दुर्लभ एकसिंगे गैंडा गणना थालनी गरिएको छ। पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वनदेवीको पूजा गरेर गणना थालिएको हो। त्यसपछि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले हात्तीमा चढेर सिटी फुकेर गणनाको शुभारम्भ गरे। गणना कार्य प्रतापपुरबाट सुरु गरेर चितवन निकुञ्जको पश्चिम क्षेत्रमा निस्कने योजना छ। 

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाइएको छ। चितवन राष्ट्रिय किनुञ्जलाई मात्रै १९ वटा ब्लकमा विभाजन गरिएको छ। १० स्थानमा क्याम्प राखिएको छ। ४० वटा हात्ती, ४० जना प्रमुख  गणक, २० जना वैकल्पिक गणक, १ सय २० हात्तीसारे र व्यवस्थापकीय टोलीसहित दुई जना परिचालित भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। ‘पूर्वबाट गन्दै पश्चिम निस्कने योजना हो,’ उनले भने ‘चैतमा सकेर वैशाखको पहिलो हप्ता नतिजा आउने गरी काम गरिएको छ।’ 

गणनाका लागि हात्ती, दूरबीन, क्यामेरालगायतको प्रयोग गरिएको छ। हात्तीमा निश्चित क्षेत्रलाई घेरेर त्यहाँ रहेका गैंडा गनिन्छ। प्रत्यक्ष गैंडा हेरेर तिनको लिंग, उमेर, शारीरिक अवस्था, बासस्थान र आहारको अवस्थाको अध्ययनसमेत गरिन्छ। ‘गैंडा गणना हाम्रो लागि अडिट जस्तै हो। कति गैंडा छन् हामीले गरेको संरक्षणको काम राम्रो भयो या भएन भन्ने थाहा हुन्छ’, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले भने, ‘यस अध्ययनले गैंडाको संख्या मात्रै होइन, गैंडाको संरक्षण कतातिर छ भन्ने देखाउँछ।’ 

विश्वबाटै लोप हुने खतराको सूचीमा गैंडा छ। गैंडा मारेमा, यसको अंगको किनबेच वा ओसारपसार गरेमा १५ वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। चालिसवटा हात्तीमा गणक बसेर निश्चित दूरीमा हात्ती राखेर त्यसभित्रका देखिएका गैंडा गणना गर्छन्। गैंडाको पछिल्लो अवस्था बासस्थान, विचरण र संरक्षणको आगामी रणनीतिबारे अनुगमनका लागि पनि गैंडा गणनाले अर्थ राख्छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले गैंडाको संरक्षणका लागि रणनीतिक प्रतिवेदन तयार हुने बताए। 

नेपालको चारवटा निकुञ्जमा गैंडा पाइन्छ। चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैंडाको बासस्थान छ। सन् २०१५ मा गरिएको गणनामा नेपालमा ६४५ गैंडा छन्। चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा ३ गैंडा भेटिएका थिए। गैंडा गणनाका लागि मंसिर १९ गते सरकारको मन्त्रीस्तरीयको निर्णय भएको थियो। चैत मसान्तभित्र गणना सकेर वैशाखको पहिलो साता गणनाको तथ्यांक सार्वजानिक गर्ने विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.