झापामा कोरोनाले एक महिलाको मृत्यु
झापा : झापामा थप एक जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएको छ ।
झापाको कन्काई नगरपालिका– ३ सुरूङ्गामा कोरोनाका कारण एक महिलाको मृत्युु भएको हो । ३९ वर्षीया महिलाको कोरोनाका कारण बिहीबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
विर्तामोडस्थित बिएण्डसी अस्पतालमा बिहान ४ बजे उनको ज्यान गएको हो । १० दिन अघि मात्र ती महिला भारतबाट घर फर्किएकी थिइन् ।
भारतबाट आए लगत्तै उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि विर्तामोडको विर्तासिटी अस्पताल लगिएको थियो । उपचारका क्रममा कोरोना पुष्टि भएपछि उनलाई बिएण्डसी सारिएको थियो । उनको उपचारकै क्रममा बिहीबार मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।