चितवनमै कलेजो प्रत्यारोपण
चितवन : काठमाडौंको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा भरतपुरकी धनमाया तामाङको कलेजोले काम गर्न नसक्ने अवस्था देखायो। चिकित्सकले कलेजो प्रत्यारोपण नगरे बचाउन मुस्किल हुने बताएपछि उनका परिवार चिन्तित भए।
धनमायाको ‘क्रोनिक लिभर डिजिज’का कारण कलेजो प्रत्यारोपण जरुरी भएपछि परिवार स्तब्ध भए। धनमायालाई कलेजो कसले दिने भन्ने परिवारमा कुरा हुँदा उनकी छोरी अगाडि तम्सिइन्। आमालाई बचाउन ३४ वर्षीया उषाले कलेजो दान गरिन्।
धनकुमारीको कलेजोले काम गर्न नसकेपछि आमालाई बचाउन छोरीले कलेजो दिएकी हुन्। अहिले आमा र छोरीको स्वास्थ्य अवस्था ठिक छ। धनकुमारीका श्रीमान् रनबहादुरसहित परिवारमा खुसी छाएको छ। ‘कलेजोले काम गर्न नसक्ने भन्ने कुरा थाहा पाएपछि झसङ्ग भएँ’, रनबहादुरले भने, ‘छोरीले कलेजो दिएर परिवारमा खुसी फर्काएकी छन्, साह्रै खुसी छौं।’
स्वास्थ्यमा समस्या भएपछि परीक्षण गर्न रनबहादुरले श्रीमती लिएर वीर अस्पताल पुगेका थिए। वीर अस्पतालमा परीक्षण गर्दा कलेजोले काम गर्न नसकेको थाहा पाएपछि उनीहरू प्रत्यारोपणको लागि चितवन मेडिकल कलेज आएका हुन्। वीर काठमाडौंबाहिर पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको हो। कलेजो दाता उषा र उनकी आमाको स्वास्थ्य अवस्था ठिक भएको चिकित्सक डा. सञ्जय यादवले बताए।
मिर्गौलाभन्दा कलेजो प्रत्यारोपण जटिल मानिन्छ। दाताको एउटै कलेजोबाट आधाभन्दा बढी भाग निकालेर त्यसको नसासहित कलेजो प्रत्यारोपण गरिन्छ। पाँचवटा नसालाई जोडेर प्रत्यारोपण गर्नु चुनौतीको काम भएको कलेजका प्रबन्ध निर्देशक एवं अध्यक्ष प्राडा हरिशचन्द्र न्यौपानेले बताए।
‘भारतमा कलेजो दिने र लिने, चिकित्सक सबै नेपाली भेटेपछि हाम्रो जनशक्तिलाई स्वदेशमै राख्नपर्छ भनेर हामीले तयारी सुरु गरेका थियौं,’ डा. न्यौपानेले भने, ‘यति ठूलो अप्रेसन गर्न सक्ने मेडिकल कलेज भयो। हाम्रो जनशक्तिप्रति हामी ढुक्क भयौं।’ राजधानीमा भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र र काठमाडौंको शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ।
‘नसा जोगाउँदै झण्डै ६० प्रतिशत निकाल्न पर्छ,’ कलेजो काटेर त्यसमा भएका नसा सकुशल जोगाएर अर्को शरीरमा जोड्नु निकै जटिल काम हो,’ उनले भने, ‘दातालाई पनि कुनै जोखिम हुन भएन पाउनेले पनि नसासहित जोगाएर पाउन प¥यो करिब पन्ध्र घण्टामा प्रत्यारोपणको काम सकिएको हो।’ दातालाई पूर्णरूपमा जोखिममुक्त गराएर मात्रै शल्यक्रिया गरिएको उनले बातए।
प्रत्यारोपणमा ८ सर्जन, ५ एनेस्थोलोजिस्ट, ८ जना नर्स, प्राविधिकसहित करिब ५० जना टोली खटिएको थियो। डा. न्यौपानेले भने ‘कलेजो प्रत्यारोपण सफल भएपछि अब जस्तोसुकै अपरेसन गर्न सक्छौं भन्ने भएको छ। हाम्रो जनशक्तिले ढुक्क बनाएको छ।’ मानव अंग प्रत्यारोपणका लागि सरकारबाट अनुमति लिनुपर्छ। राजधानीबाहिर चितवन मेडिकल कलेजले मात्रै कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अनुमति पाएको छ। कलेजो प्रत्यारोपणका लागि अप्रेसन थिएटरबाहेक उपकरणसहित सबै सेटअपका लागि करिब १२ देखि १५ करोड लगानी भएको चितवन मेडिकल कलेजले जनाएको छ।
मुख्य सर्जन डा. संजय यादवको नेतृत्वमा कलेजो प्रत्यारोपण गरिएको हो। कलेजो प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक सर्जन डा. यादवसहित डा.एकानन्द सिंह, डा.प्रवीण जोशी, डा. जयन्तकुमार साह, डा.अभिषेक भट्टराई, एनेस्थेसियोलोजिस्ट डा. किरण अधिकारी, डा.सुरेश गौतम, डा.नवीन यादवलगायतको समूह खटिएको थियो।
कलेजो प्रत्यारोपणका लागि ४ सर्जन, ३ क्रिटिकल केयर, ३ एनेस्थेसियोलोजिस्ट र १० विशेषसहितको टोली अस्पतालमा छन्। चितवन मेडिकल कलेजमा भारतको मेदान्त अस्पतालमा कार्यरत टोली अहिले चितवन मेडिकल कलेजमा छन्।
आमा धनमाया तामाङलाई कलेजो दान गरेर मुस्कुराउँदै उपचाररत चितवन भरतपुरकी ३४ वर्षीया उषा । यो राजधानीबाहिरको पहिलो कलेजो–प्रत्यारोपण हो । चितवन मेडिकल कलेजमा गरिएको १४ घण्टाको शल्यक्रियामा करिब ५० जनाको टोली खटिएको थियो । आमा–छोरी दुवैको स्वास्थ्य अवस्था सामान्य छ । तस्बिर सौजन्य : चितवन मेडिकल कलेज