काठमाडौंको तिर्खा मेट्दै मेलम्ची

काठमाडौंको तिर्खा मेट्दै मेलम्ची

मेलम्चीले राहत दिए पनि भूमिगत पानी सुकेमा उपत्यकामा पिउने पानीको ठूलो समस्या हुने निश्चित छ


विश्वमा स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनले सिफारिस गरेअनुसार सन् १९९३ देखि हरेक वर्ष २२ मार्चका दिन विश्व पानी दिवस मनाउँदै आइएको छ। ‘पानीलाई महत्व दिऔं’ भन्ने मूल नाराका साथ मनाउन लागिएको यस वर्षको उनान्तीसौं विश्व पानी दिवसका अवसरमा जल सप्ताह कार्यक्रमअन्तर्गत नेपालमा पनि पानीको स्रोतको संरक्षण, गुणस्तरीय पानीको सहज एवं सर्वसुलभ वितरण र व्यवस्थापनमा जनचेतना जगाउने कार्यक्रम आयोजना गरियो। सो अवधिमा पानीसम्बन्धी गोष्ठी, अध्ययन र जनचेतनामूलक कार्यक्रम देशभरि गरिने आयोजकले जनाएका छन्।

स्वस्थ रहनका लागि एक व्यक्तिले दिनमा दुईदेखि तीन लिटरसम्म सफा पानी पिउनुपर्छ। जीवनका हरेक पक्षमा आवश्यक पर्ने स्वच्छ तथा सक्षम जनशक्तिको विकास र अन्ततः गरिबी निवारणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने न्यूनतम आधारभूत आवश्यकताका रूपमा रहेको पिउने पानी क्षेत्रको विकासका लागि विगत योजनादेखि नै प्राथमिकताक्रमका आधारमा कार्यक्रम सञ्चालन हँुदै आइरहेका छन्।

सहरी विकास मन्त्रालयको तथ्यांकअनुसार एक लाख ८० हजार निजी र एक हजार एक सय ९६ वटा सार्वजनिक धाराबाट करिब २६ लाख उपभोक्ताले पिउने पानी उपभोग गरिरहेका छन्। यसका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ३५ वटा सतह स्रोत, ५९ वटा डिप ट्युबवेलबाट पानी ल्याई २१ वटा खानेपानी प्रशोधन केन्द्रमार्फत हाल उपत्यकाभर वितरण गर्दै आएको छ। सन् २०२१ सम्म उपत्यकामा पिउने पानीको माग दैनिक ४० करोड लिटर पुग्नेछ भने मेलम्चीसमेत गरी आपूर्ति भने हिउँदयाममा ३० करोड लिटर मात्रै हुनेछ। त्यसैले मेलम्चीअन्तर्गत दोस्रो चरणमा यांग्री र तेस्रो चरणमा लार्केबाट दैनिक १७/१७ करोड लिटर पानी आएपछि मात्रै उपत्यकामा पिउने पानी समस्याको दीर्घकालीन समाधान सम्भव हुने सम्बन्धित क्षेत्रको दाबी छ।

२०७७ चैतको १५ गतेसम्ममा मेलम्ची खानेपानी काठमाडौं उपत्यकाका घरघरमा आइपुग्ने लक्ष्य रहेको सम्बन्धित क्षेत्रले जनाएको छ। यसका लागि ४२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यसका लागि झन्डै २७ किलोमिटर लामो सुरुङबाट सुन्दरीजलमा पानी झारिएको सम्बन्धित क्षेत्रको भनाइ छ। यसबाहेक व्यक्तिगत कुवा, इनार, ट्युबवेल, परम्परागत ढुंगेधारालगायत क्षेत्रबाट आपूर्ति हुँदै आएको छ।

केयूकेएलबाहेक विभिन्न संघसंस्थाका २८ वटा, होटेलका २८ वटा, निजी ट्यांकर कम्पनीका ५६ वटा, उद्योग व्यवसायीका २६ वटा, अस्पतालका १२ वटा, अपार्टमेन्ट तथा हाउजिङका ५३ वटा र अन्य ३१ वटा गरी दुई सय तीन अनुमतिप्राप्त डिप ट्युबेलबाट दैनिक पाँच करोड लिटर पानी आपूर्ति भइरहेको छ। करिब ६ सयवटा निजी ट्यांकरबाट करिब एक करोड लिटर पिउने पानी प्रतिदिन उपलब्ध हुँदै आएको छ। सन् २०२२ सम्म एसियाका हरेक उपभोक्ताले हालको भन्दा अधिक मात्रामा स्वच्छ जल उपभोग गर्नुपर्ने दाबी सम्बन्धित क्षेत्रका विशेषज्ञको रहेको छ।

यसै क्रममा वासिंटनस्थित प्राकृतिक स्रोत सञ्चयसम्बन्धी अनुसन्धान निकाय औडुवनले तयार गरेको एक कार्यपत्रमा पानीसम्बन्धी सही नीति कार्यान्वयन गर्न नसकिए विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइएको छ। मुलुकको कुरा गर्ने हो भने पनि अपार जलस्रोतको भण्डारले भरिभराउ भए पनि सिँचाइ र पिउने पानीकै समेत अभाव दिन प्रतिदिन बढ्दो छ। देशमा बग्ने ६ हजारभन्दा बढी खोलानालाबाट प्रतिवर्ष दुई सय ७० अर्ब क्युसेक पानी बगेर बिदेसिने गरे पनि जनतालाई दैनिक पिउने पानीदेखि ६०–८० लाख हेक्टर भूमि सिँचाइ गर्न र ८३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने सम्भावनालाई मूर्तरूप दिन सकिएको छैन। अतः देशमा विद्यमान साधनस्रोतलाई सही रूपमा परिचालन तथा संवद्र्धन गर्न सके सबै पानीका उपभोक्ताको मागमा सुधार हुने आशा राख्न सकिन्छ।

राजधानीवासीले बर्खाको पानीलाई विभिन्न उपायबाट संकलन गरी थोरै भए पनि पानी समस्याबाट मुक्त हुने कदम चाल्न ढिलाइ भइसकेको छ।

हाल पिउने पानीको समुचित वितरण अभाव, बढ्दो जनसंख्या र तीव्र सहरीकरणका कारण पानी आपूर्तिमा समस्या बढिरहेको थाहै छ। यसर्थ काठमाडौं उपत्यकामा पिउने पानीको प्रमुख स्रोत नै जमिनमुनिको पानी रहेको जानकारी केयूकेएलले दिएको छ। केयूकेएलको तथ्यांकअनुसार ५० प्रतिशतभन्दा बढी पानी भूमिगत स्रोतबाट आपूर्ति भइरहेको छ। सार्वजनिक ढुंगेधारा, इनार, कुवा र घरघरमा बनाइने ट्युबेलको स्रोत पनि भूमिगत पानी नै हो। भूमिगत पानी सुकेमा उपत्यकामा पिउने पानीको ठूलो समस्या हुने निश्चित छ।

जाईकाले तयार गरेको प्रतिवेदनअनुसार प्रत्येक वर्ष दुई दशमलव पाँच मिटर जमिनमुनिको पानी घट्दै गएको छ। अर्काे एक सरकारी तथ्यांकअनुसार जमिनमुनिको पानी नौदेखि ६८ मिटर तल झरेको छ। काठमाडौंमा मात्र प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ। यही हिसाबमा घर बनिरहे आगामी ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाभित्रका सबै भूभाग घरैघरले ढाकिनेछ। केन्द्रीय तथ्यांक विभागका अनुसार काठमाडौं जिल्लाको क्षेत्रफल तीन सय ९५ वर्गकिमि (३९ हजार पाँच सय हेक्टर) छ।

राजधानीको मुख्य सहर काठमाडौंमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ। यहाँको दैनिक पिउने पानीको माग ४० करोड लिटरभन्दा बढी छ। यसरी प्रत्येक वर्ष मागमा दस प्रतिशतका हिसाबले वृद्धि हुने केयूकेएलले दाबी गरेको छ। यहाँ वर्षायाममा १५ करोड लिटर पानी आपूर्ति भइरहेको दाबी सम्बन्धित निकायले गरे पनि यथार्थमा १० करोड लिटर मात्र पानी आपूर्ति हुने गरेको बताइन्छ। यसरी उपलब्ध गराइएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र चार करोड लिटर जमिनमुनिबाट निकालिएको पानी हुने गरेको छ। यसमध्ये लगभग ४० प्रतिशत चुहावटबाटै खेर गइरहेको पनि बताइन्छ।

काठमाडौंमा रहेका रिजभ्र्वायरमध्ये चाबहिलको ८५ लाख लिटर, बालाजुको ३६ लाख लिटर, बाँसबारीको २० लाख लिटर, सुन्दरीघाटको आठ लाख लिटर छ। काठमाडौंमा प्रत्येक वर्ष चार/पाँच हजार नयाँ धारा थपिने गरेका छन्। यहाँका जनता कोट्कु र मेलम्ची आयोजनाको प्रतीक्षामा दिन गनेर काकाकूल नियतिमा बाँचिरहेका छन्। बढ्दो जनसंख्याको भारले गर्दा हराभरा वनजंगल विनाश एकातिर हुँदै छ भने अर्कातिर कृषियोग्य भूमिको ह्रास पनि बढ्दै छ। विकसित देशमा पनि पानीको दुरुपयोग एवं चुहावट नहुने होइन। त्यस्ता देशमा पनि लगभग २० देखि ३० प्रतिशतसम्म चुहावट हुने गरेको पाइन्छ। तर नेपालमा यस किसिमको चुहावट ४० प्रतिशतसम्म भइरहेको अनुमान छ।

संसारभर ४० देखि ६० प्रतिशतसम्म पिउने पानी चुहावट र दुरुपयोग भइरहेको राष्ट्रसंघले नै जनाएको छ। यी समस्या समाधानका लागि वैकल्पिक उपाय अपनाउनुपर्ने हुन्छ। विश्वको जनसंख्या भन्डै आठ अर्बलाई २५ लिटर प्रतिव्यक्तिका हिसाबले दुई खर्ब लिटर दैनिक पानी आपूर्ति गर्नुपर्ने अनुमान गरिएको छ। अर्कातिर हाम्रो देशको तीन करोडभन्दा बढी जनसंख्यालाई प्रतिव्यक्ति २५ लिटर पानीको हिसाब गर्दा दैनिक ७६ करोड लिटर पानी आवश्यक पर्ने अनुमान गर्न सकिन्छ।

काठमाडौंमा प्रत्येक वर्ष बर्खामा तीन खर्ब ५० अर्ब लिटर पानी बागमती नदीबाट मात्र बगेर खेर गइरहेको सरकारी तथ्यांकमा देखाइएको छ। त्यसबाट २५ प्रतिशत मात्र बचत गर्न सके हालको काठमाडौंको मागअनुसार दैनिक २२ करोड लिटरका दरले पनि एक वर्षभन्दा बढी समयसम्मका लागि पुग्न सक्ने अनुमान सम्बन्धित क्षेत्रका विशेषज्ञको रहेको छ। दैनिक २२ करोड लिटरको हिसाबले प्रतिव्यक्ति प्रतिदिन ८८ लिटर पानी भागमा पर्न आउँछ।

यसबाट के पुष्टि हुन्छ भने बर्खाको पानीलाई विभिन्न उपायबाट संकलन गरेको खण्डमा राजधानीवासीको दैनिक पानीको माग सहजै पूरा हुनेछ। यसका लागि सम्बन्धित निकायले बेलैमा विचार पुर्‍याउने कार्य गरे अवश्य पनि उपत्यकावासी पानीको समस्याबाट मुक्त हुनेमा दुईमत हुन सक्दैन। यसलाई मध्यनजर राखेर सम्बन्धित निकायले बेलैमा ठोस कदम चाल्न ढिलाइ भइसकेको छ। अतः बेलैमा सचेत भई यसको स्रोत संरक्षण र संवद्र्धनमा उचित ध्यान पुर्‍याउन नसके भोलिका आमजनतालाई स्वच्छ, स्वस्थ र पर्याप्त पिउने पानी आपूर्ति नहुने निश्चित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.