ओली पछि नहट्ने
काठमाडौं : एमाले संसदीय दलको बैठकमा अन्ततः नेपाल–खनाल पक्षका सांसद सहभागी भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा हुने बैठकमा नजाने अडान राख्दै आएकामा शुक्रबार नेपाल र भीम रावलबाहेकले उपस्थिति जनाएका हुन्। उनीहरूले पार्टीलाई पूर्ववत् अवस्थामा लगेर एकता कायम राख्नुपर्ने सुझाव दिएका थिए।
तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि निर्णयबाट पछाडि नहट्ने अडान लिएका छन्। ‘हाम्रो पार्टीमा समूहगत र गुटगत हिसाबमा डिल कसैसँग पनि गर्दैनौं’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने, ‘व्यक्तिगत रूपमा आलोचना र गुुनासा सुन्न तयार छौं। त्यसका लागि सचेतक, उपनेता र दलको नेतालाई भन्नुहोस्। तर, गुटगत हिसाबले छलफल र कुराकानी हुँदैन।’
दलका नेतासमेत रहेका ओलीले फागुन २८ पछिका निर्णय फिर्ता नहुने अडान सुनाए। ‘केही साथी अनुपस्थित भए पनि सबै बैठक विधिसम्मत् भएका छन्’, ओलीको भनाइ उद्धृत गर्दै मुख्य सचेतक भट्टराईले भने, ‘फागुन २८, चैत ५ र ७ गतेका निर्णयबाट पछाडि फर्किन सकिँदैन।’
ओलीले विधान संशोधन भइसकेकाले तत्काल परिमार्जन गर्न नसकिने प्रस्ट पारेका छन्। आवश्यक पर्दा संशोधन गर्न सकिने भए पनि तत्काल त्यो सम्भव नरहेको दाबी गरेको भट्टराईले बताए।
‘विधानलाई केन्द्रीय समितिले अनुमोदन गरिसकेको अवस्था हो। विधानलाई आवश्यक परे संशोधन गर्न सकिने तर अहिले नै परिमार्जन गर्न सक्ने अवस्था छैन’, ओलीले बैठकमा भने। ओलीले नेपाल र भीम रावलको स्पष्टीकरण चित्तबुझदो नभएको बताए। उनीहरूको स्पष्टीकरण कारवाहीयोग्य भएको ओलीको भनाइ थियो। अब केन्द्रीय समिति बैठक बसी थप निर्णय लिइने उनले बताए।
‘प्राप्त भएका स्पष्टीकरण नकारात्मक र कारबाहीको भागीदार छन्। बाँकी दुई जनाको त्यो कोणबाट नभई पार्टी एकढिक्का राख्न मद्दत पुग्ने खालका स्पष्टीकरण आउनेछ भन्ने अपेक्षा राखेको छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ’, भट्टराईले भने।
वरिष्ठ नेता झलनाथ खनालले आफूहरू एकताको पक्षमा रहेको सुनाउँदै एकता गरेरै अघि बढ्न ओलीलाई आग्रह गरे। अर्का नेता योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन पहल गर्र्न आग्रह गरे। विगतका तीतामीठा कुरा बिर्सिएर संयम र धैर्यका साथ अगाडि बढ्नुपर्ने बताए।‘हिजोका कतिपय तीतामीठा कुरा बिर्सिऔं। उत्तेजित भएर हैन संयम र धैर्यका साथ अगाडि बढ्नुपर्छ। किनभने, परिस्थिति निकै खतरापूर्ण, चुनौतीपूर्ण छ’, उनले भने, ‘मुलुकले एमालेको एकता खोजेको छ। सिंगो वामपन्थीहरूको एकता खोजेको छ, जनमतको कदर खोजेको छ।’
अर्का नेता गोकर्ण विष्टले नेताहरूले बरफपानी टाउकोमा खन्याएर भए पनि संयम, जिम्मेवारीका साथ पार्टी र आन्दोलन जोगाउन पहल गर्न जरुरी रहेको बताए। बैठकमा नेता खनाल र वामदेव गौतम ओलीकै लाइनमा बसेका थिए। ओलीको दायाँतिर खनाल र गौतम अनि बायाँतिर दलका उपनेता सुवास नेम्बाङ र ईश्वर पोखरेल थिए।
नेपाल–खनाल समूहले कलंकीमा बसालेको केन्द्रीय समिति बैठकमा ४५ सदस्य मात्रै उपस्थित भएका छन्। उक्त बैठकले दलको बैठकमा जाने निर्णय गरेपछि नेपाल र रावलबाहेक अरू सांसद गएका हुन्। त्यहाँ पनि बैठकमा जान हुने र नहुने सांसदको दुई मत देखिएको थियो। यद्यपि बैठकमै गएर संघर्ष गर्नुपर्ने मत बढी देखिएको थियो। खनाल–नेपाल समूह पार्टीभित्रै संघर्ष गर्ने निष्कर्षमा पुगेको छ।
यस्तै, एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको संस्थापनले नेपाल–खनाल पक्षका विद्यार्थी नेतालाई निलम्बन गरी स्पष्टीकरण सोधेको छ। समानान्तर कमिटी बनाएका सुदेश पराजुली, ओसिम आलम र आरती लामालाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको हो। उनीहरू तीनै जना अनेरास्ववियुका सचिव थिए। एमाले नेता माधवकुमार नेपालले चैत १० मा उद्घाटन गरेको विद्यार्थीको राष्ट्रिय भेलाले पराजुलीको अध्यक्षतामा ५ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो। समानान्तर कमिटीका अध्यक्ष पराजुली, सहअध्यक्ष आलम र महासचिव लामालाई चयन गरिएको छ। अनेरास्ववियुका अध्यक्ष ऐन महरको अध्यक्षता बसेको बैठकले उनीहरूलाई निलम्बन गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।