तुवाँलो तथा प्रदूषणका कारण

तुवाँलो तथा प्रदूषणका कारण

प्रदूषण अध्ययन केन्द्रजस्ता संस्थागत संरचनाको अवमूल्यन हुँदा अहिलेको परिस्थिति निर्माण भएको हो


नेपालको आकाश अहिले तुवाँलोमय भएको छ। त्यसै पनि देशमा र विशेष गरेर काठमाडौंमा केही वर्षदेखि प्रदूषण बढिरहेको थियो। देशका विभिन्न भागमा भएको डढेलोले यसलाई झन् बढाएको हो। फलस्वरूप स्वास्थ्यलाई हानिकारक हुने परिस्थिति सिर्जना भएर स्वास्थ्य मन्त्रालयले सावधानी हुन सर्वसाधारणलाई ध्यानाकर्षण गराएको छ। काठमाडौंको आकार बटुकोजस्तो भएको र यो प्रदूषण हट्न कि तीव्र गतिको हावाहुरी आउनुपर्ने हुन्छ कि त पानी नै पर्नुपर्ने हुन्छ। त्यसकारण अहिले हावाहुरी तथा वर्षाको प्रतीक्षा गर्नुबाहेक अन्य उपाय नभएको विचार सम्बद्ध विज्ञले प्रकट गरेका छन्।

काठमाडौंमा अहिलेभन्दा पनि नराम्रो खालको परिस्थिति विगतमा भएको थियो। तर यसको कारण बाह्य आक्रमण थियो। चौधौँ शताब्दीमा मुसलमान आक्रमणकारी समशुद्दीन आलियासले सन् १३४९ मा काठमाडौंमा आक्रमण गरेका थिए। त्यतिबेला सात दिनसम्म अँध्यारो भएको वर्णन वंशवालीमा पढ्न पाइन्छ। काठमाडौंका विभिन्न मठमन्दिरमा आगो लगाइदिएकाले यस्तो स्थिति सिर्जना भएको थियो। स्वयम्भू तथा पाटनको पिमबाहामा आगजनी भएको थियो भने पशुपतिनाथको लिंग तीन टुक्रामा भँाचिएको थियो। ११ वर्षपछि सन् १३६० मा पनौतीका ठालू जयसिंहरामवर्दनले यसलाई वर्तमान स्वरूप प्रदान गरेका थिए।

साधारण तुवाँलो लाग्नु भनेको स्वाभाविक हो। कथा तथा उपन्यासमा तुवाँलोको वर्णन गरिएको पाइन्छ। कविशिरोमणि लेखनाथ पौड्यालले क्रतु विचारमा यसको बयान गरेका छन्। विशेष गरेर वर्षा सुरु हुनुभन्दा पहिले जमिन शुष्क भएर धुलोको मात्रा बढ्नु र हावाहुरीले आकाशमा धुलो जम्मा भएर तुवाँलो लाग्नुले नियमित स्वरूप धारण गरेको हुन्थ्यो। परन्तु यसमा प्रदूषणको मात्रा कम भएर स्वास्थ्यका लागि त्यति हानिकारक हुँदैनथ्यो। यस्तो तुवाँलो वर्षा हुनासाथ हटेर जान्थ्यो।

पर्याप्त संस्थागत संरचना विकास नगरिनु र भएका संरचनालाई पनि नजरअन्दाज गरिनुले अहिलेको परिस्थिति उत्पन्न भएको हो। यसले लामो समयसम्म प्रदूषण नहट्दा जनजीवनमा समेत ठूलो प्रभाव पारेको छ।

भनिन्छ– दुइटा बाघ मिलेर हमला गर्छन्। अहिले तुवाँलो मात्र होइन; यससँग प्रदूषण पनि जोडिएर मनिसलाई असुविधा भएको छ। प्रदूषणले परिस्थितिलाई जटिल बनाएको छ। यसलाई वायु गुण सूचकांकले मापन गरिन्छ। यसलाई असल, सन्तोषजनक, अस्वस्थ र जोखिमपूर्ण जस्ता चार प्रकारले वर्गीकरण गरिन्छ। विश्व स्वास्थ्यअनुसार सूचकांक ० र ५० को बीचमा भए असल, ५० र १०० का बीचमा भएमा सन्तोषजनक, १०० र १५० का बीचमा भए अस्वस्थ र १५० भन्दा बढी भएमा जोखिमपूर्ण भनेर नामकरण गरिएको हुन्छ। विभिन्न स्थानमा ३५० देखि ५०० सम्म यो सूचकांक पाइएकाले नेपाल जोखिमपूर्ण वर्गीकरणमा परेको छ। प्रदूषण घनीभूतीकरणजस्ता विभिन्न कारकको समीकरणबाट यो सूचकांकको निर्धारण गरिएको हुन्छ।

प्रदूषणको अन्य संकेत भनेको २.५ तथा १० माइक्रोमिटरका धूल कण, ओजोन, कार्बनडाइअक्साइड, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड हुन्। यिनको मात्रा नेपालको हावा गुणस्तर सूचकांकमा यति धेरै छ कि विश्व स्वास्थ्य संगठनको मापनले सगरमाथाको अगाडि ढिस्को पुड्किएजस्तै नाटकीय रूपमा लघुताभासको अनुभूति गर्छ। फलस्वरूप सन् २०२० मा प्रकाशित १८० देशको येल तथा कोलम्बिया विश्वविद्यालयको सहभागितामा तयार पारिएको पर्यावरणीय सम्पादन सूचकांकमा नेपाल १४५ औं स्थानमा पुगेको थियो। डेनमार्क १, छिमेकी चीन १२० तथा भारत १६८ स्थानमा अवस्थित छन्। सार्कका अन्य देश श्रीलंका १०९, पाकिस्तान १४२ तथा बंग्लादेश १६२औं स्थानमा छन्।

नेपालमा प्रदूषणका बाह्य तथा आन्तरिक दुई स्रोत छन्। यसअनुसार भारतको हरियाणामा गरिने पराल दहनबाट पनि नेपालमा प्रदूषण बढ्छ। आन्तरिक कारणमा नेपालमा जम्मा हुने फोहोर, निर्माण सामग्रीको अव्यवस्थित ढुवानी तथा वाहनबाट हुने उत्सर्जन मुख्य छन्। परापूर्वकालदेखि नै नेपालले फोहोर व्यवस्थापन गर्न सकेको छैन। डेनियल राइटले सन् १८७७ मा लेखेको नेपाल नामक किताबमा काठमाडौंलाई शौचालयका बीचमा अवस्थित मलमूत्रको ढिस्कोका रूपमा चित्रण गरेका थिए। वाहनले प्रदूषणको प्रमाणपत्र प्रदर्शन गर्नुपर्ने व्यवस्था भए पनि यो कर्मकाण्डजस्तो मात्र भएकाले यसबाट हुने प्रदूषणलाई कम गर्न सकिएको छैन। नेपालको निर्माण विधालाई पनि आवश्यक मात्रामा आधुनिकीकरण गर्न सकिएको छैन।

यसमा पनि बनमा बर्सेनि लागेको डढेलोबाट हुने प्रदूषण पनि खप्टिएको छ। राणाकालमा पुराना काष्ठवस्तु सडेर सकिन धेरै समय लाग्ने हुनाले वनमा नयाँ खालको वनस्पति पलाओस् भनेर औपचारिक रूपमै आगो लगाउने चलन थियो। यसलाई नियन्त्रित आगलागी पनि भनिन्छ। वनमा आगो लाग्नाले अनमोल काठ तथा जैविक प्रजातिको विनाश हुने गर्छ। निर्दाेष जंगली जनावरको आवास पनि प्रभावित हुन्छ।

डढेलो बर्सेनि बढेर गएको छ। विपद्सित सम्बद्ध डिसइन्भेन्टर तथ्य आधारअनुसार सन् ७० को दशकमा हरेक वर्ष पाँचभन्दा कम घटना भएका थिए भने सन् २०१२ मा ३१ स्थानमा डढेलो लागेको थियो। सन १९७० देखि २०१३ सम्ममा ७१ जना र सन् २००९ मा ३३ जनाको निधन भएको थियो। अमेरिका तथा अस्ट्रेलियामा यसले भीषण रूप लिने गरेको र यसलाई निभाउन हेलिकप्टरबाट पानी खन्याएको पनि यदाकदा देखिन्छ। नियन्त्रित आगो राम्रो सेवक तर अनियन्त्रित आगो जोखिमपूर्ण मालिक हुन्छ भन्छन्। किनभने आगोको उपलब्धताका साथै विश्वको समुन्नति भएको हो। परन्तु यसले व्यापक रूपमा विनाश पनि गर्न सक्छ। त्यसकारण यसलाई सर्वाधिक सावधानीका साथ सम्बोधन गरिनुपर्छ।

डढेलो लाग्नुका विभिन्न कारण छन्। पहिलो त प्राकृतिक नै हो। चट्याङ परेर, शुष्क रूखका बीचमा घर्षण भएर र ज्वालामुखी विस्फोट भएर डढेलो लाग्न सक्छ। तर ९० प्रतिशत डढेलो मानवीय कारणबाट हुन्छ। पहिलो त निश्चित उद्देश्यबाट अभिप्रेरित भएर डढेलो लाग्न सक्छ। कृषिजन्य जग्गा बढाउनु, राम्रो घाँस उमार्नु, जंगली जनावरको सिकार गर्नु, गाउँलेले बाटो सफा गर्नु, वन विभागका मानिससित रिसइबी साँध्नु आदि यसमा पर्छन्।

कैयन् डढेलो दुर्घटनास्वरूप पनि हुन सक्छन्। उदाहरणका लागि जंगली पैदावार संकलन गर्नु, जग्गामा आगो लगाउँदा जंगलमा सर्न जानु, जंगली जनावरबाट बच्नका लागि आगो लगाउनु, चुरोट आदि ननिभाई फयाँक्नु, राउटेजस्ता जंगलवासीले ध्यान नदिनु, बिजुलीका उपकरणबाट झिल्को निस्कनु, गोल बनाउनु, सडक निर्माणमा अलकत्रा उमाल्नु, गोठको आगो फैलिएर जानु, सिकार खेल्नु आदि क्रियाकलाप नियन्त्रण गर्न नसकेर डढेलो लाग्न सक्छ। नेपालमा डढेलो लाग्नुको प्रमुख कारण चौपाया चरनमा संलग्न गोठाला तथा गोठालीको हेलचेक्राइँ पनि हो।

डढेलोले भूमण्डलीय उष्णीकरणलाई तीव्रता दिन्छ। यसले जलवायु परिवर्तनलाई पनि बढाउँछ। यसबाट तापक्रम बढ्ने तथा कम वर्षा हुने गर्छ। यसरी ंबढी वाष्पीकरण हुने तथा वातावरण सुक्खा हुन्छ। अनि झन् बढी डढेलो लाग्ने सम्भावना हुन्छ। यो दोहोरो वृत्तले परिस्थितिलाई झन्झन् जोखिमपूर्ण बनाउँछ।

यसलाई नियन्त्रण गर्न प्रथमतः सचेतीकरण कार्यक्रम सञ्चालन गरिनुपर्छ। यसका अतिरिक्त जंगलमा अग्नि गल्लीको निर्माण गरिनुपर्छ। यस्ता गल्लीमा रूख आदि हुनु हँुदैन। यसले गर्दा आगो अर्कातिर फैलिँदैन। यस्ता गल्लीमा पानी पोखरीको व्यवस्था गरियो भने यसले बाढी पनि नियन्त्रण गर्छ।

नेपालमा यस्ता विपद् सम्बोधन गर्न राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हालै स्थापना भएको हो। परन्तु यसलाई सरकारले नजरअन्दाज गरेको छ। कोरोनाको समयमा देशको ऐन, नियम तथा विनियमले नचिन्ने खालको कोभिड— १९ रोकथाम तथा नियन्त्रण समन्वय समिति बनाइयो। यसले उल्लेखनीय काम केही पनि गर्न सकेन। यो काम प्राधिकरणले प्रभावकारितका साथ गर्न सक्थ्यो। भारतमा समुद्री आँधी आउँदा प्राधिकरणलाई परिचालन गरेर क्षतिको अकल्पनीय न्यूनीकरण भएको थियो। इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत प्रदूषण अध्ययन केन्द्र तथा स्नातकोत्तर तहको अध्यापनलाई सरकारले पर्याप्त ध्यान दिन सकेको छैन। यसले गर्दा आइपर्ने विपद्बारेमा परिकल्पना गरेर तयारी गर्न नसकिएको अवस्था छ। योभन्दा पहिले भएको सलह आक्रमणमा पनि सरकार कुहिरोको कागजस्तो देखिएको थियो। अझै पनि पर्याप्त संस्थागत संरचनाको विकास नगरिनु र भएका संरचनालाई पनि नजरअन्दाज गरिनुले अहिलेको परिस्थितिको सिर्जना भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.