किन चाहिन्छ वृद्धाश्रम ?
मुलुकको संविधानले नै सबै व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक प्रत्याभूत गरेको छ। नेपालको संविधान २०७२ को धारा १६ मा यस्तो व्यवस्था गरिएको छ। साथै धारा ४१ मा ‘ज्येष्ठ नागरिकको हक’ अन्तर्गत ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था पनि गरिएको छ। तर मुलुकका सबै ज्येष्ठ नागरिकले यो हकको समान उपभोग गर्ने अवसर पाएका छन् त ? यो प्रश्नको सकारात्मक उत्तर पाउन गा¥हो छ।
जसले आवाज उठाउन सक्छन्, केही हदसम्म तिनले आफ्नो हक र अधिकारको उपभोग गर्ने अवसर पनि पाएका छन्। तर विविध कारणले यसरी आवाज उठाउन नसक्ने वर्ग सधैं संविधानप्रदत्त आफ्नो हक र अधिकारबाट वञ्चित हुँदै आएका छन्। यसरी आफ्नो हक र अधिकारबाट वञ्चित हुनेमा मुलुकका ज्येष्ठ नागरिक धेरै छन्। किनभने उनीहरू आफ्नो हक र अधिकारका लागि सडकमा उत्रिएर आन्दोलन गर्न र आवाज बुलन्द गर्न सक्दैनन्।
यति हुँदाहुँदै पनि राज्यले आफ्नो दायित्व सम्झेर ज्येष्ठ नागरिकका हक, हित र अधिकार संरक्षण गर्न केही कानुनी प्रावधान भने बनाएको पाइन्छ। ज्येष्ठ नागरिक ऐन २०६३ र ज्येष्ठ नागरिकसम्बन्धी नियमावली २०६४ तर्जुमा गरी ज्येष्ठ नागरिकको संविधानप्रदत्त हक र अधिकारलाई सुनिश्चित र संरक्षण गर्न राज्यले पहल गरेको पाइन्छ। तर व्यवहारमा पूर्णरूपमा लागु हुन नसक्दा सबै ज्येष्ठ नागरिकले अझै पनि सम्मानपूर्वक बाँच्न नपाएको अवस्था छ।
समुदाय र राज्यस्तरमै सुविधायुक्त वृद्धाश्रमहरूको स्थापना र सञ्चालन गर्न सके अधिकतम ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज, सुरक्षित र मर्यादित बनाउन सकिनेछ।
ज्येष्ठ नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको संरक्षण र त्यसको परिपालनामा सम्बन्धित घर, परिवार, समुदाय र समाजको उत्तिकै दायित्व हुन्छ। राज्यले निर्माण गरेका कानुनी प्रावधान लागु गर्ने क्रममा यी सबैको समान दायित्व हुन्छ। कानुनले भन्दा व्यवहारले ज्येष्ठ नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको परिपालना र संरक्षणमा बढी मद्दत पुग्ने हुँदा घर, परिवार, समुदाय र समाजको दायित्व निर्वाहले अझ बढी भूमिका खेल्छ। आज हामी जुन अवस्थामा छौं; त्यसको सम्पूर्ण श्रेय ज्येष्ठ नागरिकलाई नै दिनुपर्छ। हामीले भोगेका सुख र सम्पत्ति सबै ज्येष्ठ नागरिककै देन हो। त्यसैले ज्येष्ठ नागरिक सम्मानका हकदार छन् भन्ने सत्यलाई हामीले भुल्नु हुँदैन।
ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अवसर प्रदान गर्न हाम्रै साथ र सहयोगको खाँचो छ। बदलिँदो समय र परिस्थितिअनुसार हरेक व्यक्तिको व्यस्तता पनि उत्तिकै बढेको छ। सानादेखि ठूला सबै व्यक्ति आआफ्नो काम, कर्तव्य र दायित्व निर्वाहमा व्यस्त हुनुपरेको छ। यद्यपि यस्तो व्यस्तताले ज्येष्ठ नागरिकप्रतिको कर्तव्य र दायित्वलाई भने ओझेलमा पारेको छ। यसले गर्दा ज्येष्ठ नागरिकले सम्मानपूर्वक बाँच्न पाउने हकको त उपभोग गर्न पाएका छैनन् नै; सुरक्षित र मर्यादित जीवन पनि जिउन पाएका छैनन्। समाजमा असुरक्षित र अमर्यादित जीवन जिउन बाध्य ज्येष्ठ नागरिकको संख्या दिनानुदिन बढिरहेको छ। यस्तो विषम परिस्थितिमा ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज, सुरक्षित र मर्यादित बनाउनुका साथै उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने संविधानप्रदत्त हकलाई सुनिश्चित गर्न पछिल्लो समय वृद्धाश्रम, कल्पवास, स्याहार केन्द्र र दिवा सेवा केन्द्रको अवधारणा विकास भएको छ। देशैभरि सशुल्क तथा निःशुल्क सेवा प्रदान गर्ने वृद्धाश्रम खुलेका छन्।
वृद्धाश्रम परिस्थितिजन्य आवश्यकता हो। तैपनि अझैसम्म पनि वृद्धाश्रमप्रति मानिसमा सकारात्मक धारणा बन्न सकेको छैन। वृद्धाश्रमलाई हेयको दृष्टिले हेर्ने गरिन्छ र त्यहाँ आश्रित व्यक्तिलाई पनि संकुचित दृष्टिले हेर्ने गरिन्छ। गरिब र असहायमात्रै वृद्धाश्रममा बस्छन् भन्ने सोचमा परिवर्तन आउन सकेको छैन। समाजका सहाराविहीन र परिवारबाट परित्यक्त व्यक्तिले मात्रै वृद्धाश्रमको आश्रय खोज्छन् भन्ने धारणाले गर्दा वृद्धाश्रम सुरक्षित र मर्यादित जीवनयापनको थलो हो भन्ने सोचको विकास हुनै सकेको छैन।
वृद्धाश्रमलाई सुरक्षित र मर्यादित जीवनयापन गर्ने उचित थलोको रूपमा विकास गर्ने सरकारी नीति र कार्ययोजनाको अभाव र वृद्धाश्रममा आवश्यक आधारभूत आवश्यकता परिपूर्ति गर्ने सरकारी इच्छाशक्तिको कमीले वृद्धाश्रमप्रति सकारात्मक सोच र धारणाको विकास हुन नसकेको हो। वृद्धाश्रमको एउटा नकारात्मक पाटोमात्रै जनमानस जीवित छ। वृद्धाश्रमको सकारात्मक पाटोले जनमानसमा अझै पनि स्थान पाउन कठिन बनिरहेको अवस्था छ।
वृद्धाश्रममा बस्नेहरूको कारुणिक कथाले जोसुकैको हृदय पगाल्छ। जीवनमा असाध्यै दुःख पाएका, सहाराका नाउँमा आफन्त कोही नभएका, घरपरिवारबाटै परित्यक्त र सडकमा बेवारिस परेका ज्येष्ठ नागरिकलाई स्थानीय र समुदायको सिफारिसमा वृद्धाश्रममा आश्रय दिने गरिएको छ। यसकारणले पनि वृद्धाश्रमलाई दीनदुःखीको वासस्थलका रूपमा मात्रै लिने गरिन्छ। यस अर्थमा तिनका लागि वृद्धाश्रम बाध्यताको उपज हो। तर अहिलेको व्यस्त समय र व्यस्त जीवनशैलीका कारण केही हदसम्म वृद्धाश्रम परिस्थितिजन्य आवश्यकता पनि बनेको यथार्थ भने भुल्न सकिँदैन।
हाम्रो समाज सामाजिकबाट क्रमशः यान्त्रिक बन्दै जाँदो छ। मानिसहरू यन्त्रझैं परिचालित हुँदैछन्। आर्थिक विकासका नाउँमा भइरहेको तीब्र औद्योगीकरणले मानिसलाई मानवयन्त्र नै बनाएको छ। मानिस स्वयंका बढ्दो आवश्यकता र सो आवश्यकता पूरा गर्न आयआर्जन गर्न नभइनहुने रोजगारका क्षेत्रमा भएको बढ्दो प्रतिस्पर्धाले मेसिन मात्रै होइन; मानिस पनि मेसिन झैं चल्नुपर्ने वा खट्नुपर्ने भएको छ। घरै छाडेर काममा खट्नुपरेको छ। देशै छाडेर विदेश पलायन हुनुपरेको छ। यस्तो अवस्थामा घरपरिवारका ज्येष्ठ नागरिक एक्लै पर्नु र सामाजिक तथा आर्थिक समस्यामा पर्नु स्वाभाविक हो।
दीनदुःखी नै नभए पनि परिस्थितिले एक्लो र बेसहारा बन्न पुगेका ज्येष्ठ नागरिकको संख्या गाउँ तथा सहरमा ठूलै छ। त्यस्ता ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम नै सुरक्षित र मर्यादित वासस्थल बन्न सक्छ। धनसम्पत्ति ओगटेर घर–बंगलामा एक्लै, बेसहारा र असुरक्षित भएर बस्नुभन्दा वृद्धाश्रममा व्यवस्थित, सुरक्षित र मर्यादित जीवन जिउन पाउनु सौभाग्य हुन सक्छ। जहाँ समय कटनी मात्रै होइन; जीवनका भोगाइ र अनुभव आपसमा साटासाट गरेर जीवनलाई आनन्दमय बनाउन सकिन्छ। ज्ञान, सीप र दक्षताको यथोचित उपयोग गरेर जीवनको उत्तराद्र्धको समयलाई पनि उत्पादनशील बनाउन सकिन्छ। जीवनको उत्तराद्र्धमा पनि फेरि समाज र देशलाई थोरै भए पनि योगदान गर्न सकिन्छ। यो अवसर व्यवस्थितरूपमा सञ्चालन हुने वृद्धाश्रमले प्रदान गर्न सक्छ।
राष्ट्रिय मानवअधिकार आयोगले २०७५ सालमा गरेको एक अध्ययनअनुसार नेपालका ६४ जिल्लामा १४१ वृद्धाश्रम रहेका छन्। तर ती वृद्धाश्रममा ९६५ महिला र ६१२ पुरुष गरी जम्माजम्मी १,५७७ जना वृद्धवृद्धाले मात्रै आश्रय पाएका छन्। पछिल्लो जनगणनाअनुसार देशभरि ज्येष्ठ नागरिकको संख्या २१ लाखभन्दा बढी छ। छोराछोरी बिदेसिएसँगै बेसहारा बनेका र असुरक्षित जीवनयापन गरिरहेका ज्येष्ठ नागरिक स्वेच्छाले नै वृद्धाश्रममा बस्न चाहेका छन् र बस्न थालेका पनि छन्। व्यस्त परिवार र छोराछोरी बिदेसिएका परिवारका ज्येष्ठ नागरिकलाई घरभन्दा वृद्धाश्रम नै उपयुक्त ठाउँ बन्न सक्छ, जहाँ उनीहरूले आकस्मिक सेवा पनि पाउन सक्छन् र अरू सुविधा पनि पाउन सक्छन्। यस्तो अवस्थामा विदेशमा रहेका सन्तानले वृद्ध बाबुआमाको चिन्ता लिनुपर्ने अवस्था रहँदैन र उनीहरूले ढुक्कले काम गर्ने अवसर पाउँछन्। साथै वृद्ध बाबुआमालाई हेरेनन् भन्ने सामाजिक आलोचनाबाट पनि मुक्त हुन्छन्। ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप उपयोग गर्ने नीति बनाएर काम गर्ने हो भने वृद्धाश्रमलाई केही हदसम्म सिर्जनात्मक र आयमूलक क्रियाकलापको थलो पनि बनाउन सकिन्छ। यसबाट वृद्धाश्रमलाई आर्थिक टेवा पनि पुग्न सक्छ।
समुदाय र राज्यस्तरमै सुविधायुक्त वृद्धाश्रमहरूको स्थापना र सञ्चालन गर्न सके अधिकतम ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज, सुरक्षित र मर्यादित बनाउन सकिनेछ। ज्येष्ठ नागरिकको सम्मानपूर्वक बाँच्न पाउने संविधानप्रदत्त हक सुनिश्चित हुनेछ। वृद्धाश्रम सञ्चालनसम्बन्धी आवश्यक नीति र कार्यविधि बनाई कार्यान्वयन गर्ने हो भने वृद्धाश्रम सञ्चालनमा पनि सहजता हुनेछ। स्थानीय समुदायको सकारात्मक सोच र सहयोग भए वृद्धाश्रमप्रतिको नकारात्मक धारणामा सकारात्मक परिवर्तन गरी सबै प्रकारका ज्येष्ठ नागरिकको जीवनयापन सहज, सुरक्षित र मर्यादित बनाउन सम्भव हुनेछ।