किन गुन्जिन छोड्यो जोगिरा सररर ?
भैरहवा :
‘जोगिरा सर...र...र...,
कौने ताल पर ढोलक बाजे,
कौने ताल पर गौरिया नाचे,
कौने ताल पर हम,
जोगिरा सर...र...र ।
विगतमा फागु पूर्णिमा (होली) मा गुन्जिने यस्ता होली गीत आजभोली गुन्जिन छाडेको छ । बसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गुन्जिने यस्ता होली गीत लोप हुँदै गएका हुन् ।
‘पहिला यस्ता गुन्जिने गीतबाटै फागु आएको आभास हुन्थ्यो’ रुपन्देहीको ओमसतिया गाउँपालिका– २ का बालकिसुन साहनी भन्छन्, ‘तर, अहिले सबै हराउँदै गएको छ ।’ बुढापाकाहरुले प्रेम र सद्भाव सहित गाउँघरमा यस्तो गीत गुन्जाउँदै होली पर्व मनाउने गर्थे । तर, अहिले संस्कृति सहितको होलीको रौनकता हराउँदै गएको छ ।
होली पर्व आएसँगै मादक पदार्थ सेवन गर्ने, झै झगडा गर्ने, ट्राफिक नियम उल्लंघन गरेर होली पर्व मनाउने प्रवृति बढ्दै गएको छ । सहर बजारमा यस्ता प्रवृति बढ्दै गएपनि गाउँघरमा अलिकत संस्कृतिक जोगाइएको पाइन्छ । सहर बजारमा होली पर्वमा होलिका दहन गर्ने चलन हराएपनि गाउँ घरमा भने होलिका दहन गरिँदै आएको छ । तर, यो पनि विस्तारै घट्ने क्रममा छ ।
संस्कृति जोगाउन जिम्मा युवाहरुको काँधमा रहेकोले युवाहरुले संस्कृतिलाई आत्मसाथ गर्दै होली पर्व मनाउनु पर्नेमा साहनीको जोड छ । त्यसैमाथी यस वर्षको होली पर्वमा रौनकता नै हराएको छ । कोरोना संक्रमणको त्रासले होलीको रौनकता खोसेको छ । स्थानीय प्रशासनले पनि होली पर्वमा स्वास्थ्य मापदण्ड अपनाउन र भिडभाड नगर्न आग्रह गरेकोले बजारमा होलीको रौनकता देखिएको छैन ।
प्रशासनको सूचनापछि विभिन्न संघसंस्थाहरुले आयोजना गर्न लागेको होली मिलन कार्यक्रमहरु पनि स्थगीत गरेका छन् ।‘अघिल्ला वर्षहरुमा हप्ताअघि देखि नै व्यापार हुन्थ्यो तर अहिले होलीको रौनक नै छैन’ भैरहवामा रंग बिक्री गर्न पसल थापेर बसेका रामनाथ केशरीले भने ।
आधुनिक संगीतमा नाच्दै युवायुवती । तस्बिर : सलमान खान
होलीका धेरै सामान चीनबाट आउने गरेपनि कोरोनाका कारण आपूर्तिमा समस्या आउँदा त्यसको प्रभाव मूल्यमा परेको छ । उनका अनुसार नेपालमा अविरजन्य र होलीमा प्रयोग हुने अन्य वस्तुहरुको उत्पादन नहुने भएकाले कोरोनाको प्रभावले नेपाल भारत दुवैमा व्यापार कम भएको छ ।
बजारका विभिन्न स्थानमा होलीका लागि राखिएका सामग्रीहरु विगतमा जस्तो विक्री नभएको व्यवसायीहरुको भनाइ छ ।
साथीलाई अबिर लगाएर होली मनाउँदै युवाहरु। तस्बिर : सलमान खान