खाडी कथामा किताब
काठमाडौं : उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिस छन् जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिना बगाइरहेका छन्।
कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका उनीहरूको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ। यिनै नेपाली युवालाई अरबको गर्मीमा पछ्याउँदै होम कार्कीले लेखेको पुस्तक हो, ‘सनैया’।
‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो। फिटिक्कै निदाउन सक्दिनथें। बन्द गरेका आँखावरिपरि उनीहरू झल्झली घुमिरहन्थे। ती झझल्कोलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो’, लेखक कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो।’
‘सनैया’लाई सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका नेपालीको कथा भन्न सकिन्छ। आफ्नो देश र समाजले उपयोग गर्न नसकेका, उपेक्षा गरेका सस्ता श्रमिकको जीवनगाथा हो यो पुस्तक।
किताब पब्लिसर्सले प्रकाशन गरेको ‘सनैया’ सोमबारबाट पाठकमाझ उपलब्ध छ। १८ अध्यायमा विभाजित यो पुस्तक पढ्दा लाग्छ— हामी कुनै आख्यानको दुनियाँमा प्रवेश गर्दै छौं तर ‘सनैया’ले जब तपाईंलाई नेपाली समाजको कठोर यथार्थमा पुर्याउँछ, जो कोहीलाई एक पटक सोच्न बाध्य बनाउँछ।