प्रदूषित हावा र गर्भमा यसको प्रभाव
पछिल्लो केही दिनयता वायुमण्डल प्रदूषित रहेको खबर आएका छन्। धेरैबेर बाहिर बस्दा आँखा पोलेको धेरैले महसुस गरेको हुनुपर्छ। प्रदूषणले आकाश खुला नरहेको अर्थात् भिजिबिलिटी राम्रो नभएकै कारण कति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन्। चैत १८ को इयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार काठमाडौं संसारकै सबैभन्दा प्रदूषित सहर रहेको देखियो। त्यस दिन काठमाडौंको एक्युआई २ सय ३५ रहेको थियो। सामान्यतः हावाको इयर क्वालिटी इन्डेक्स (एक्युआई) ५० भन्दा कम भएको स्वस्थकर हो। यो इन्डेक्स एक सयभन्दा माथि उक्लिनुलाई स्वस्थकर मानिँदैन र यो दुई सयभन्दा बढ्नुले स्वास्थ्यमा असर गर्ने हुन्छ। केही समयअगाडि ग्लोबल इन्भाइरोमेन्ट पर्फमेन्स इन्डेक्स (ईपीआई) अनुसार पनि नेपालको हावा (वायु) संसारको सबैभन्दा प्रदूषित रहेको जनाएको थियो। २४ वटा इन्डिकेटर तथा वातावरणीय स्वास्थ्यका आधारमा गरिएको सो तालिकामा नेपाल १८० औं स्थान अर्थात् सबैभन्दा तल रहेको जनाएको थियो भने छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान र चीनको अवस्था पनि राम्रो थिएन। यसले हामीवरिपरिको वातावरण संसारको सबैभन्दा प्रदूषित रहेको स्पष्ट गरेको छ।
वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर गर्छन्। वायु प्रदूषणले मानिसको श्वासप्रश्वास तथा आँखामा असर गर्छ भन्ने हेक्का भएर होला; बजारमा मास्क र चस्माको प्रयोग बढेको देखिएको छ। तर वायु प्रदूषणको असर आँखा र फोक्सोमा मात्र सीमित छैन। विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले वायु प्रदूषणकै कारण प्रत्येक वर्ष करिब सात लाख मानिसको मृत्यु हुने गरेको देखाएको छ। विभिन्न समयमा गरिएका अध्ययनले वायु प्रदूषणले गर्भका बच्चा तथा प्रजननमा समेत गम्भीर असर गर्ने गरेको देखिएको छ।
गर्भवतीलाई स्वच्छ हावा, सफा पानी, पोसिलो खानेकुरा अनि तनावरहित वातावरण भए गर्भको बच्चाको राम्रो विकास हुने जनविश्वास छ। यथार्थ पनि यह हो। गर्भको बच्चाको राम्रो विकासका लागि पोषणयुक्त खाना, तनावरहित परिस्थिति र स्वस्थकर वातावरण चाहिन्छ। हामी यसप्रति अझै सजग भएका छैनौं। हाम्रो वातावरण र गतिविधिले गर्भवतीलाई कति जटिलता थपिएको छ ? बहस गर्नु आवश्यक छ।
गर्भवती महिला अहिलेको प्रदूषण हावामा घर बाहिर घुम्नेभन्दा पनि घरमै समय बिताउन उपयुक्त हुन्छ।
चीनमा सन् २००८ मा भएको एक अध्ययनले वायु प्रदूषणले गर्भको बच्चाको तौल कम भएको पुष्टि गरेको छ। बच्चा जन्मिनेबित्तिकैको वजन दुई किलो पाँच सय ग्रामदेखि चार किलोग्रामसम्म हुने गरेकोमा वायु प्रदूषणले सो तौलमा औसत कम भएको र वायुमा सामान्य सुधार आउनेबित्तिकै २२ देखि २५ ग्राम वृद्धि भएको सो अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्कमा रहेको द स्टोखोलम इन्भाइरोमेन्ट इन्स्टिच्युट्सले प्रकाशन गरेको एक अध्ययनले १८ प्रतिशत शिशु वायु प्रदूषणका कारण गर्भको अवधि नपुग्दै जन्मिने गरेको र यसैको कारणले ती शिशु शारीरिक रूपमा कमजोर रहने गरेको तर्क अघि सारेका छन्।
अटिजम्का बारेमा धेरैले सुनेको हुनुपर्छ– बच्चाको वृद्धि तथा विकासमा देखा पर्ने यो विशेष किसिमको समस्या हो। झट्ट हेर्दा सामान्य बच्चाजस्तै देखिए पनि दुईतीन वर्ष उमेर भएका यस्ता बच्चामा सामाजिक र मानसिक विकास राम्ररी भएको हँुदैन र त्यसैले गर्दा अलिक फरक स्वभावका हुन्छन्। अटिजम् हुने कारण अहिले पनि पूर्णरूपले पहिचान भइसकेका छैनन्। वंशाणुगत तथा वातावरणीय कारणले अटिजम हुन सक्ने विज्ञहरूको धारणा छ। पछिल्लो समयमा वायु प्रदूषण पनि यसका सम्भावित कारक रहेको अध्ययनले देखाएको छ। गर्भवती महिला गर्भको अन्तिम तीन महिनाको समयमा सडकछेउ वा गाडीको धुवाँ तथा हावामा पार्टिकुलेट पदार्थ उच्च रहेको स्थानमा बस्नाले सो गर्भको सन्तानमा पछि अटिजम देखिन सक्ने सम्भावना बढिरहेको अध्ययनले देखाएका छन्।
वायु प्रदूषणले गर्ने असर प्रदूषणमा रहेको पोलुटेन्ट अर्थात् हानिकारक तत्वहरूको किसिम र कति समय प्रदूषणमा बस्नुपरेको हो ? यसमा भर पर्ने हुन्छ। धेरैवटा अध्ययनले प्रदूषित वातावरणमा धेरै समय बिताउनाले महिलाको मात्र होइन; पुरुषको पनि प्रजनन क्षमतामा ह्रास आउने देखाएको छ। गर्भवतीमा वायु प्रदूषणले दम वा श्वासप्रश्वासको समस्या बढाउने, गर्भ तुहाउने, उच्च रक्तचाप गराउने तथा गर्भको अवधि नपुग्दै व्यथा लाग्ने र बच्चा जन्मिने, मृत बच्चा, कम तौल भएको बच्चा तथा अपांग बच्चा जन्मिनेजस्ता समस्या गराउन सक्ने हुन्छ। यसरी जन्मिएका बच्चामा समेत दमको समस्याले पिरोल्न सक्ने सम्भावना रहने गरेको देखिएको छ।
हाम्रा वरिपरिका हावा स्वस्थकर छैन भनेर आत्तिएर समस्याको समाधान हँुदैन। हाम्रो र छिमेकी देशहरूको वायु प्रदूषण धेरै छ; जुन एकल प्रयासबाट तुरुन्त स्वस्थकर बनाउन सम्भव नहोला। तर हाम्रा आँगनमा रहेका गर्भवती तथा जन्मिने बच्चामा प्रदूषित हावाको दुष्प्रभाव कम गराउने कोसिस गर्न सकिन्छ। विकसित मुलुकहरूमा हावामा हानिकारक तत्वको मात्रा नियमित मापन गर्ने र हावामा रहेका त्यस्ता हानिकारक तत्व छान्ने मेसिन तथा ग्यास (एयर प्युरिफायर) प्रयोग गर्ने गरिन्छ। हाम्रो देशमा त्यस्तो प्रबृद्धिको प्रयोग गर्न नसकिए पनि विभिन्न किसिमका घरभित्र लगाइने फूलका बिरुवा (स्पाइडर तथा स्नेक प्लान्टहरू) लगाउन सकिन्छ। यस्ता बिरुवाले कार्बनडाइअक्साईड, कार्बन मोनोअक्साइडलगायत हावामा भएका हानिकारक ग्यास प्रयोग गरी अक्सिजन दिन मद्दत गर्ने भएकाले घरभित्र तथा घरका कम्पाउन्डमा यस्ता बिरुवा लगाउनु महत्वपूर्ण हुन्छ। गर्भवती महिला अहिलेको प्रदूषण हावामा घर बाहिर घुम्नेभन्दा पनि घरमै समय बिताउन उपयुक्त हुन्छ। गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण, पोषणयुक्त खानासँगै चिकित्सकले सुझाएका औषधिहरू सेवन गर्नुपर्छ। साथै गर्भवतीहरूले बाहिरी हावामा धेरै बस्नु, सडकछेउ तथा गाडीको धुवाँमा धेरै समय बिताउनु तथा धेरै कलकारखाना रहेका क्षेत्रमा बसोवास गर्नुभन्दा यस्ता अति प्रदूषित क्षेत्रबाट टाढा बस्नु उत्तम हुन्छ।