फोटोसाहेबको तस्बिरकोष
उमेरले आठ दसक पार गरिसक्यो। तर पनि सानुराज शाक्यको मानसपटलमा लुम्बिनीका हरेक दृष्य उनले खिचेकै तस्बिरसरह स्पष्ट छन्। लुम्बिनीको हरिया धानका फाँटदेखि त्यहाँ बनेका धेरै संरचनाहरूको तस्बिर उनी स्वयंले खिचेका छन्। यिनै तस्बिरहरूलाई समेटेर तस्बिरकोष बनाउने चाहना राखेका छन् उनले। पुरातत्व विभागमा जागिरको क्रममा लुम्बिनीलाई हरेक कोणले केलाएर तस्बिरमा उतार्ने अवसर पाएका थिए।
तत्कालिन शिक्षा सामग्रीबाट उनले जागिरे जीवन सुरु गरेका हुन्। त्यहाँ काम गर्ने क्रममा अमेरिकी परामर्शदाताहरूसँग उनले फोटोग्राफीको तालिम लिएका थिए। यसअघि हङकङबाट आएर फोटो स्टुडियो खोलेका आफ्नै दाजुसँग पनि उनले फोटो खिच्न सिकेका थिए। कार्यालयमा ती अमेरिकी नागरिकले कहिले सानोठिमीमा लगेर भर्खर बन्दै गरेको आफ्नै कार्यालय जनक शिक्षा सामग्रीको भवन त कहिले टुँडिखेलमा लगेर खुला मैदानको फोटो खिच्न सिकाउने गर्थे। २०२१ सालमा शिक्षा सामग्रीमा काम गरेका उनले अर्को वर्ष पुरातत्व विभागमा फोटोग्राफरकै पदमा जागिर खाए। यहाँबाट पुरातात्विक सम्पदाहरूको फोटोग्राफी तालिम लिन उनलाई ६ महिना दिल्ली पठाइयो।
सामान्य फोटोभन्दा पुरातात्विक सम्पदाहरूको फोटो खिच्न अलि मेहेनत गर्नुपर्ने उनको अनुभव छ। तस्बिर खिच्दा कुनै पनि किसिमको वाधा हुनुहुन्न। एउटा ठूलो साइट खिच्दा त्यहाँ करिव दुई सयजनाले सरसफाई गरेपछि मात्र उनले खिच्न पाउँथे। त्यहाँ राखिएको २० फिटको टावरमा स्ट्यान्ड राखेर घाम लाग्नु अगाडि नै फोेटो खिचिसक्नु पर्ने हुन्थ्यो उनलाई।
लुम्बिनीमा त्यतिबेला बत्तीको लाइन थिएन। डार्क रुम पनि नभएकाले फोटो धुलाउन उनलाई निकै मुस्किल पथ्र्यो। आफू बसेको घरको ट्वाइलेटमा पर्दा लगाएर डार्क रुम बनाउँथे। लालटिन बालेर त्यसलाई रातो रंगको कागजले छोपेपछि बलेको रातो बत्तीको सहायताले उनी फोटो धुलाउँथे। हरेक दिन खिचेको फोटो त्यसै दिन धुलाएर देखाउनुपथ्र्यो। फोटो खिचेको मिलेन वा हुनुपर्ने जति सफा आएन भने तुरुन्त भोलिपल्ट खिचेर त्यसलाई पुनः धुलाउनु पथ्र्यो।
लुम्बिनीमा मार्कर स्टोन (बुद्ध जन्मिएपछि पहिलोपटक टेकेको ठाउँ) पत्ता लगाउने टोलीमा उनी पनि एक थिए। त्यतिबेला पुरातत्व विभाग, लुम्बिनी विकास कोष र जापान सरकारले गरेको उत्खनन्का क्रममा करिब १५ फिटको गहिराइमा मार्कर स्टोन पत्ता लागेको थियो। जापान बुद्धिष्ट फेडेरेसनले सन् २००५ मा एक पुस्तक नै प्रकाशन गरी सन् १९९२ देखि १९९५ सम्म उक्त टोलीले लुम्बिनीमा गरेको कामको डकुमेन्टेसन गरेको छ। उक्त पुस्तकमा राखिएका तस्बिरहरू पनि शाक्यकै हुन्। ‘यस्ता रेकर्ड विदेशीले बनाउँछन् अनि उनीहरूले नै लैजान्छन्’, शाक्य भन्छन्। जापानीसँग काम गर्दा निकै गाह्रो हुने उनको अनुभव छ। एकैछिन पनि समयको लापरबाही गर्न नपाइने। एकजना साथीले आफ्नै विवाहका लागि विदा माग्दासमेत नपाएर तलब काटिएको उनलाई सम्झना छ।
धेरैजसो मानिस लुम्बिनी जान्छन्, घुम्छन्, फोटो खिच्छन् अनि फर्किन्छन्। तर त्यहाँ बुद्धको बारेमा केही अध्ययन गर्ने व्यवस्था पनि भइदिए मानिसले लामो समय बिताउने थिए भन्नेमा सानुराज शाक्यलाई विश्वास छ।
सन् १९६७ तिर संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्त नेपाल आएका थिए। त्यतिबेलाको तस्बिर पनि शाक्यसँगै छ। बर्माका नागरिक र बुद्ध धर्म मान्ने उ थान त्यतिबेला लुम्बिनीलाई देखेर निकै निराश भएका उनी सम्झन्छन्। त्यतिबेला माइदेवीको मन्दिर र अन्य दुई गुम्बाबाहेक अरू सबै धान खेत मात्र देख्दा उत्थान धेरै दुःखी भएका उनले बताए। लुम्बिनी आएर यसको विकासका लागि तपाईंहरूलाई के चाहिन्छ भन्दा त्यहाँका मानिसले ‘यहाँ एउटा मात्र इनार छ। चैत पूर्णिमामा मेला लाग्दा सबलाई पानी पिउनसमेत पुग्दैन। पानीको व्यवस्था भए हुन्थ्यो’ भने। उनले बोरिङ गरेर पानी निकाल्ने व्यवस्था गरिदिए। त्यही पानी पिउने, निर्माणमा प्रयोग गर्ने, बगैंचामा हाल्नेदेखि अहिलेसम्म प्रयोग भइरहेको उनले बताए।
पछि उनी संयुक्त राष्ट्रसंघमा गएर लुम्बिनी विकासका लागि १५ वटा बौद्ध धर्म मान्ने राष्ट्रहरूका समिति बनाएर काम सुरु गर्न लगाएको पनि शाक्यलाई सम्झना छ। कोरिया, चीन, नेपाल, बर्मा, जापानलगायतका बिहार बनाउँदा खिचेका जगदेखि कै तस्बिर उनीसँग छन्। माइदेवीको मन्दिरमा राजा वीरेन्द्र, उनको मुमा र जीजुमुमासँगै जाँदाको फोटो पनि उनले खिचेका थिए।
२०५३ सालमा शाक्यले जागिरबाट अवकास लिए। त्यसपछि पनि उनी लुम्बिनी आउन जान छाडेका छैनन्। ललितपुरको कुमारीपाटीमा बस्ने शाक्य वर्षको ५÷६ पटक जान्छन्। अहिलेसम्म कतिपटक लुम्बिनी गए भन्ने गन्ती गर्न छाडिसके। सयौंपटक पुगिसक्यो। त्यहाँ जाँदा भारतीय पर्यटकहरूले लुम्बिनीको बारेमा हेर्ने कुरा केही छैन भनेर एकैछिन घुमेर फर्केको देख्दा उनलाई नरमाइलो लाग्थ्यो। त्यसैले उनले आफूले खिचेका तस्बिरहरू धुलाएर लगेर त्यहाँ राख्न थाले। उनले तस्बिर छरेर राखेका टेबुलभरि पर्यटक भरिभराउ हुन्थे। धेरैले मन पराएर किन्न पनि थाले। त्यसपछि उनले केही ठूला पोस्टरहरू र केही तस्बिरलाई समेटेर एल्बम जस्तो बनाएर बेच्न थाले। पाँच हजार कपी, दस हजार गर्दै वर्षमा तीस हजार कपीसम्म छापेर उनले बेचे।
उमेरको क्रमसँगै त्यहाँका धेरै मानिसलाई उनले बिर्सिदै गइसके। तर आज पनि त्यहाँ पुग्दा धेरैले उनलाई चिन्छन्। फोटोसाहेब भन्दै बोलाउँछन्। गुम्बाको गुरुले पनि साथी भनेर माया गर्ने हुनाले गएको बेला त्यतै बस्छन्। उनले जागिरे जीवन सुरु गरेदेखि अहिलेसम्म लुम्बिनीमा हेर्दा हेर्दै ठूलो परिवर्तन भइसक्यो। पहिले घरमा फोन गर्न भैरहवा आउनुपथ्र्यो। तैपनि लामो लाइन बसेपछि फोन गर्ने पालो आउँथ्यो। बाटो धुलाम्मे थियो। पछि राजा महेन्द्रले बाटो बनाइदिएपछि अलि सहज भएको उनको अनुभव छ।
अहिले जाँदा त स्वर्गझैं लाग्छ उनलाई लुम्बिनी। यति धेरै स्वर्गीय आनन्द आउने ठाउँ अन्त कतै लाग्दैन। पहिले बत्ती नभएको अन्धकार ठाउँमा अहिले बाटोको दुवैतिर बत्ती बलेको झिलिमिली देख्दा उनलाई रमाइलो लाग्छ। यही लुम्बीनीलाई अझै धेरै विकास गर्न सके, नेपालले पर्यटकीय क्षेत्रबाट ठूलो फड्को मार्न सक्ने उनले बताए। धेरैजसो मानिस लुम्बिनी जान्छन्, घुम्छन्, फोटो खिच्छन् अनि फर्किन्छन्। तर त्यहाँ बुद्धको बारेमा केही अध्ययन गर्ने व्यवस्था पनि भइदिए मानिसले लामो समय बिताउने थिए भन्नेमा उनलाई विश्वास छ।
कोरोना देखिएपछि उनी लुम्बिनी जान पाएका छैनन्। तर काठमाडौंमै बस्दा पनि उनी बेलाबेलामा जात्राहरूको फोटोहरू खिच्छन्। कतै मठमन्दिरमा गए पनि फोटो खिचौं खिचौं लाग्छ उनलाई। आफू आवद्ध संस्था धम्मसाकच्छा संघको कार्यक्रमहरूको फोटो खिचेर फेसबुकमा राखिदिन्छन्। फोटो हेरेर सबै खुसी हुँदा उनलाई पनि खुसी लाग्छ। संस्थाले शाक्यको फोटोलाई अन्तर्राष्ट्रिय स्तरमै प्रदर्शन गर्ने विषयमा पनि छलफल गर्ने गरेको छ। सबैले उनलाई लुम्बिनीमा पुराना तस्बिरहरूको ग्यालरी बनाउन आग्रह गर्छन्। हामीहरू पनि त्यहाँ जाँदा हेर्नु हुन्छ पनि भन्छन्। ‘म एक्लैको प्रयासले यो सम्भव हुँदैन’ उनले गुनासो गरे।