फरक क्षमता भएकालाई सवारी

फरक क्षमता भएकालाई सवारी

ललितपुर : फरक क्षमता भएका भोजराज श्रेष्ठले केही दिनयता राहत महसुस गरेका छन्। स्वाबलम्बन जीवन केन्द्रका अध्यक्ष उनी आफू जस्ता थुप्रै साथीहरूका लागि केही गर्नुपर्छ भनेर खटिरहेका छन्। 

ह्वीलचियरको सहारामा रहेकाहरूले अपांगतामैत्री सवारी पाउनुलाई श्रेष्ठले ठूलो उपलब्धी मानेका छन्। शुक्रबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बैठकमा उनलाई पनि निमन्त्रणा गरियो। तर, उनले अन्य दिन जस्तै ह्वीलचियर ठेल्दै मन्त्रालय पुग्नु परेन। 

न अरूको सहायता मागेर सार्वजनिक सवारी चढ्नुपर्‍यो। न त ट्याक्सी सहयोग लिनुपर्‍यो। ललितपुर महानगरपालिकाले उपलब्ध गराएको अपांगतामैत्री सवारी चढेर श्रेष्ठ बैठकमा पुगे। ‘एक त अपांगता भएकाहरूलाई सवारीले बोक्न मान्दैनन्। अर्को चढ्न तथा ओराल्ने बेलामा सहयोगी चाहिन्छ,’ उनले भने, ‘ह्वीलचियर लिएर हिँड्न सम्भव छैन। चाहेर पनि कतै जान सक्दैनौं।’ 

ललितपुर महानगरको सवारीले फरक क्षमता भएकाहरूलाई हौसला बढाएको उनले बताए। अपांगतामैत्री सवारी विशेष प्रकारको छ। सवारीभित्र सजिलै ह्वीलचियर गुडाउन मिल्ने गरी बनाइएको छ। यस्तो सवारी बहुअपांगता भएका र पूर्ण असक्तहरूका लागि लक्षित गर्दै तयार गरिएको हो। 

यस्तो सवारी नेपालमै पहिलो भएको दाबी गरिएको छ। यो सवारीमा एकैपटक १२ वटा ह्वीलचियर राखेर हिँडन सकिन्छ। हिजोआज दैनिक तीनदेखि पाँच जनालाई घरबाट कार्यालय र कार्यालयबाट घर पुर्‍याउने गरिएको छ। ललितपुर महानगरमा मात्रै दुई सय २२ जना पूर्ण असक्त भएका व्यक्ति छन्। त्यसैगरी पाँच सय ५२ जना फरक क्षमताका छन्। 

अध्यक्ष श्रेष्ठ भन्छन्, ‘घरभित्रै बसिरहँदा निराश हुन्छ। अभिभावकहरूमा पनि एकोहोरो रेखदेख गर्दा दिक्क हुँदो रहेछ। यसरी बाहिर निकाल्दा राहत महसुस हुन्छ।’ घरबाहिर निस्कदा उत्साह थपिने उनको भनाइ छ। 

फरक क्षमताका अर्का व्यक्ति धनबहादुर कार्की ललितपुर महानगरका शिक्षा शाखाका कर्मचारी हुन्। उनी मानभवनबाट आफै ह्वीलचियर गुडाउँदै पुल्चोकस्थित कार्यालय आउँछन्।  कार्यालयबाहेक अन्यत्र पुग्न उनलाई समस्या छ। कतै ट्याक्सी लिएर जाँदा एक जना सहयोगीसँगै चाहिन्छ। यस्तै व्यवहारिक कठिनाइलाई सम्बोधन गर्न महानगरले विशेष सवारीको व्यवस्था गरेको हो।

महानगरले यस्तो सवारी २० लाख रुपैयाँमा खरिद गरेको हो। आफूले चुनावी अभियानमा गरेको प्रतिबद्धता पूरा गरेको नगर प्रमुख चिरिबाबु महर्जनले बताए। अहिले महानगर अपांगमैत्री भइसकेको उनको दाबी छ। महर्जनले भने, ‘फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री संरचना थप्दै जानेछौं।’ यो सवारीको इन्धन, बिमा, नवीकरण तथा चालकको व्यवस्थालगायतको खर्च महानगरले व्यहोर्ने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.