महिला नेतृ प्रसाईँबाट सबै राजनीतिज्ञले पाठ सिक्नुपर्छ: देउवा
झापा: नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ स्व गिरिराजकुमारी प्रसाईंले राजनीतिक तथा सामाजिक परिवर्तनमा देखाएको अग्रसरताको प्रशंसा गरे ।
सोमबार प्रसाईँको १३ औँ दिनको स्मृतिसभामा उनले यस्तो बताएका हुन् । आर्थिक हिसाबमा सम्पन्न परिवारमा जन्मेकी प्रसाईँले राजनीतिक तथा सामाजिक परिवर्तनमा देखाएको अग्रसरता सम्पूर्ण राजनीतिकर्मीका लागि पाठ भएको उनले बताए ।
नेपाली कांग्रेस झापाद्वारा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले समाजवादी चिन्तक सिकेले देखाएको बाटो र उनले आफ्नो जीवनमा अनुकरण गरेको समाजवादी चरित्र सबैले अनुसरण गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस झापा जिल्लाले राखेको श्रद्धाञ्जली सभा कार्यक्रममा सहभागी नेताहरुले राजनीतिक भाषण नगरी स्व सिके प्रसाईँ र गिरिराजकुमारी प्रसाईँले प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण सर्वश्वहरण, निर्वासन लगायत विभिन्न यातना खेप्नुपरेको उल्लेख गर्दै जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रजातन्त्र, समाजवाद, वाक तथा अभिव्यक्ति स्वतन्त्रता, देश र जनताको सर्वोच्चताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए ।
कार्यक्रमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सम्पन्न परिवारमा जन्मिएकी गिरिराजकुमारीले सर्वश्वहरणमा परेर निर्वासनको सजाय भोगिरहेका बेला सिकेसँग विवाह गर्नु नै सबैभन्दा ठूलो त्याग रहेको उल्लेख गर्दै
सिके र गिरिराजकुमारीले राजनीतिक र सामाजिक काममा गरेको योगदानको उच्च प्रशंसा गरे ।
‘सिकेलाई जस्तोसुकै परिस्थितिमा पनि विचलित हुन नदिई राजनीतिक परिवर्तन र प्रजातान्त्रिक आन्दोलनमा लागिरहन गिरिराजकुमारीले गरेको योगदान अविस्मरणीय छ । ज्ञानु मुमा एक असल गृहिणी, असल राजनीतिज्ञ र असल सामाजिक अभियान्ता हो’सिटौलाले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेस केन्द्रीय सदस्यहरु डा मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, केशवकुमार बुढाथोकी, सरिता प्रसाईँ, पूर्वमन्त्री केशव थापा, नेपाली कांग्रेस इलामका सभापति हिमाल कर्माचार्य, स्व प्रसाईँकी छोरी रमिता प्रसाईँ, नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक, नेकपा माओवादी झापाका विष्णु साम्पाङ, जनता समाजवादी पार्टीका अनुप राजवंशी, नेपाली कांग्रेस जिल्ला सभापति उद्दव थापाले बोलेका थिए ।