तेस्रो लिंग र समाज
साथीहरूको जमघटमा एउटीले भनि जातभातका कुरा छाड्दे यार ! छोराले केटा साथीलाई बुहारी बनाएर नभित्र्याए हुन्थ्यो भन्ने जमाना आइसक्यो। आफ्नो त दुई भाइ छोरा छन्। जुनसुकै जातको भए पनि केटी भित्र्याए हुन्थ्यो जस्तो लाग्न थालेको छ।
गत हप्ता उच्च अदालत पाटनको इजलास नं ९ मा अन्दाजी २४/२५ वर्षकी खान्दानीजस्ती लाग्ने खादीको पाइन्ट, लेदरको ज्याकेट, हल्का हाइलाइट गरिएको कपाल तर यसै गुजुल्ट्याएर क्लिप लगाएको एउटी सुन्दरी युवतीले न्यायाधीशलाई भनिन्, ‘श्रीमान मेरा वकिल कामविशेषले भ्याली बाहिर जानुभएको छ। यो मुद्दा आजलाई स्थगित गरिपाऊँ। ‘न्यायाधीशले भने, ‘यो मुद्दाको बहस आज हुन्छ। तपाईंका पतिले दिएको निवेदन हो। त्यसैले तपाईंले चाहेर स्थगित हुँदैन।’ ‘त्यसपछि ती युवती निराश भएर छट्पटाउँदै मोबाइल हातमा लिएर कानमा राख्दै इजलास बाहिर निस्किइन्। फेरि भित्र पसिन्। दुईचारपटक यो क्रम चलिरह्यो। इजलासबाहिर बसेकी (दिदीजस्ती लाग्ने) उनकी आमा रहिछन्। छोरीको छट्पटी देखेर मायालु भावमा भन्दै थिइन्, ‘साथीलाई फोन गरेर ड्युटी मिलाऊ न। छोरीको फोनवार्ता र ओहोरदोहोर चलिरह्यो।
मैले ती आमासँग सोधे– तपाईंको मुद्दा के हो ?
कति भयो विवाह भएको ?
तीन वर्ष।
मुद्दा परेको कति भयो ?
एक वर्ष।
बच्चा ?
छैन।
अनि डिभोर्स के कारणले ?
त्यसपछि ती आमाले खुलेर भनिन्– मेरी एक मात्रै छोरी नर्स हो। राम्रो खान्दानी घरबाट विवाहको कुरा आयो। विवाह गरिदिऊँ। लमीले झुक्याएर हिजडा केटा पारिदिएछ। दुई वर्षसम्म छोरीले हामीलाई पिर पर्छ भनेर केही भनिनन्। केटा आमा दिदीसँग घुलमिल हुने। छोरीको नजिक पर्नै नखोज्ने। सबैले बच्चा किन नपाएको भन्न थालेपछि छोरीले डाक्टरकहाँ जाऊँ भनिछन्। केटाले मानेनछ। छोरीको निराशापन देखेर हामीले सोध्यौं। छोरीले सबै कुरा भनेपछि उनकै बाबाले छोरीको सुरक्षा र उनको बाँकी जिन्दगीका लागि पनि डिभोर्स गर्नुपर्छ भनेर प्रक्रिया अगाडि बढायौं। पाटन जिल्ला अदालतले माना–चामल भरायो। त्यसमा चित्त नबुझेर उहाँहरू निवेदन लिएर यहाँ आउनुभएको रहेछ। हामीले हिजो बेलुका मात्र खबर पायौं। प्रतिरक्षाका लागि हामीले हाम्रा वकिललाई खबर गर्न पनि पाएनौं। निवेदनमा के लेखेको छ भन्ने पनि थाहा छैन। छोरीको अहिले एक बजे ड्युटी छ। त्यसैले उसलाई छटपटी भइरहेको छ। म आमा हुँ। उसको छटपटीले मलाई पोल्छ। किनभने हामीले नै उसलाई विवाह गरिदिएका हौं। समाज यही हो। छोरीको बाँकी जिन्दगी अब के होला ? पिर लागिरहन्छ।
‘पत्रकार एवं महिला अधिकारकर्मी वन्दना राणाले सञ्चालन गर्नुभएको ‘यौनिक अभिमुखीकरण र लैंगिक पहिचान’ विषयको अनलाइन अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले ल्गिं पहिचान नभएकाले भोग्नुपरेको समस्या र परिवारले आफूलाई गर्ने व्यवहार अनि परिवारमाथि समाजको दबाबबारेमा कहालीलाग्दो कहानी सुनाए।
मितिनी नेपालकी सरिताकुमारी सुनारले भनिन्, ‘म १६ वर्ष पुगेपछि मात्र मलाई महिलामा पनि छुट्टै खालको महिला रहिछु भन्ने थाहा भयो। ममीको एक्ली छोरी म, केटी साथीसँग बस्न थालेको दुई वर्षपछि हिम्मत गरेर ममीलाई आफ्नो समस्या सुनाएँ। छोरी समलिंगी भएको सुनेर ममीका सारा सपना चक्नाचुर भए। ममी सकमा पर्नुभयो र भन्नुभयो, ‘छोरी, म तिम्री आमा हुँ। म तिम्रो भावना बुझ्छु तर तिमीले यो कुरा कसैलाई नभन्नू। ‘मामाले मेरो विवाहको कुरा लिएर आउन थालेपछि ममीले मामालाई भन्नुभयो। त्यसपछि म दुई वर्षसम्म मामा घर गइनँ। ममीले मलाई सपोर्ट गरेर समाजमा संघर्ष गर्नुभयो। ममीले सपोर्ट गरेपछि मलाई समाजको डर लाग्दैन। ममीले सपोर्ट नगरेको भए र घरबाट निकालिदिएको भए मेरो जीवन के हुन्थ्यो होला ? म भाग्यमानी छु। मेरोजस्तो ममी अरू साथीहरूका छैनन्। उनीहरूको जीवन कष्टकर छ। ‘तपाईं आफ्नो सन्तानलाई बुझ्नु हुन्न भने समाजले तपाईंका सन्तानलाई बाँच्न दिँदैन। समाजमा भएका मानिसको सोच परिवर्तन नभईकन समाज कसरी परिवर्तन हुन्छ त ?
त्यसैगरी विपिन कडायतले आफ्नै कथा सुनाएर भने, ‘मैले मेरो बालअधिकार अस्पतालमा बुझाउनुपर्यो। ‘बच्चा जन्मिनेबित्तिकै दुई खुट्टाको कापमा के लिएर आएको छ, त्यसका आधारमा छोरा वा छोरी छुट्ट्याइन्छ। छोरा वा छोरीबाहेकको बच्चा जन्मियो भने परिवारको चाहनाअनुसार शल्यक्रिया गरिन्छ। त्यो शल्यक्रियाले बालअधिकार हनन हुन्छ। मलाई छोरी भनेर हुर्काइयो। मेरो नागरिकता महिलाको नाममा छ। उमेर पुग्दै आएपछि म त पुरुष रहेछु भन्ने थाहा भयो। परिवारमा आफ्नो विचार राखें, विचार मिलेन। मलाई घरबाट निकालियो। त्यसपछि काठमाडौं आएर निसान रेग्मीसँग बसें र संघसंस्थामा आबद्ध भएँ। हामीजस्ताका लागि सबभन्दा ठूलो समस्या भनेको परिवार नै हो। परिवारले आफ्नो बालकका पीडाभन्दा समाजले के भन्ला भनेर डर पालेका कारण हामी समस्यामा परेका हौं। ब्लु डायमन्ड सोसाइटीकी मनीषा ढकालको पीडा पनि उस्तै छ। उनले भनिन्, ‘परिवारलाई कसरी बुझाउने ? जन्मँदा बालक भएर जन्में। दादा दिदी हुनुहुन्थ्यो, दुई छोरा जन्मे भनेर सबै खुसी भए। पहिलो दिन स्कुल जाँदा शिक्षकले धेरै खेलौना ल्याएर राखिदिए। मेरो साथीले एरोप्लेन समायो। मैले पुतली समाएँ। हुर्कंदै जाँदा छोराको अनुहारमा छोरीको स्वभाव देखेपछि धामीझाँक्रीकहाँ लैजाने, सुधारगृहमा राख्ने, पुलिस लगाउनेजस्ता काम गरियो।
परिवारले मलाई बुझ्नै चाहेन। मैले आफ्नो कुरा राख्ने मौकै पाइनँ। ती दिन मेरा लागि साह्रै कष्टकर थिए। मैले ३० वर्षपछि मात्र यौनिक आनन्द लिन पाएँ। आफ्नो सन्तानलाई यतिसम्म कष्ट दिनु हुँदैन। यो चलन बन्द गरिनुपर्छ। म कुनै अपराधी होइन। म पनि प्रकृति हुँ। अरू बालबालिकाजत्तिकै समानता हुर्किने क्रममा हामी जस्तालाई पनि दिनुपर्छ। लकडाउनमा मात्रै हामीजस्ता १९ जनाले आत्महत्या गरे। परिवारको साथ पाएका भए उनीहरूले अकालमा ज्यान गुमाउनुपर्ने थिएन। समस्याको साँचो हाम्रै हातमा छ। हामीले नै त्यो साँचो खोलेर समाधानका उपाय खोज्नुपर्छ। हामी सामाजिक प्राणी हौं। हाम्रो समस्या सामाजिक मुद्दा हो। परिवारले समाजमा अगाडि आएर बोलिदिनुपर्छ। यो लाजको विषय होइन। यो पनि प्रकृति नै हो।
निरञ्जन कुँवरको निष्कर्ष छ– समाजमा यस्ता समस्या समाधान गर्न पहिलो नम्बरमा शिक्षा, दोस्रो नम्बरमा सञ्चार र तेस्रो नम्बरमा सक्षम नेतृत्वको आवश्यकता पर्छ।
समाजको डर सबभन्दा ठूलो रोग हो। यो रोगसँग लड्ने क्षमता बच्चा जन्माउने आमाबाउसँग हुनैपर्छ। आफूले जन्माएको बच्चा प्रकृतिकै उपहार हो भनेर गौरव महसुस गर्न सके मात्र समाजमा बोल्न सक्ने हिम्मत आउँछ।
कुनै परिवारमा यौनांग अस्पष्ट भएको बालक जन्म्यो भने त्यो बालक हुर्किएपछि मात्र उसको इच्छाअनुसार शल्यक्रिया गरिदिन सहभागीले सुझाव दिएका छन्। हामी प्रत्येक व्यक्ति समाजका अंश हौं। हामीले नै समाजमा देखा परेका समस्या समाधानका उपाय खोजी गर्नुपर्छ। कोही पनि व्यक्ति चाहेर जन्मँदैन र कुनै पनि आमाबाउले म यस्तै सन्तान जन्माउँछु भनेर चाहेजस्तो सन्तान जन्मिदैन। हामी सबै प्रकृतिको एक अंश हौं। हामीले जन्माउने सन्तान प्रकृतिको उपहार हो भनेर आत्मसात गर्न सक्यौं भने जन्मेका प्रत्येक व्यक्तिलाई समाजमा बाँच्न सहज हुन्छ।