पाँचथरको फालेलुङमा चौरी महोत्सव
फिदिम : भारतको पश्चिम बंगाल र सिक्किम राज्यसँग सिमाना जोडिएको पाँचथरको फालेलुङ गाँउपालिकाको तीन सिमानामा चौथो चौरी महोत्सव गर्ने तयारी गरिएको छ । फालेलुङ गाँउपालिकाको प्रबद्र्धनमा नयाँ बर्षको अवसर पारेर महोत्सव गर्न लागिएको हो ।
उच्च पहाडी क्षेत्रको पहिचानको रुपमा रहेको चौँरीको प्रबद्र्धन र बिकास गर्ने उद्धेयले बिगत बर्षदेखि नै महोत्सव आयोजना गरिदै आएको छ । चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा चिनाउने उद्धेस्यले महोत्सव गर्न लागिएको मूल आयोजक समितिले जनाएको छ । समितिका सचिव सुनिल बान्तवाका अनुसार महोत्सवमा तीन सय चौरीहरु भेला गरिने भएको छ । पाँचथर र ताप्लेजुङको उच्च पहाडी क्षेत्रमा पालिएका चौँरीहरु एकैठाउँ भेला गर्न लागिएको हो ।
‘महोत्सवमा आउने पर्यटकहरुलाई गोठस्टेमा राख्ने तयारी गरिएको छ,’ बान्तवाले भने ‘बस्तीविहिन ठाँउमा महोत्सवको आयोजना गरिएको भएपनि पर्यटकहरुका लागि खान र बस्नका लागि राम्रो व्यवस्था गरिएको छ ।’
यसपटक महोत्सव स्थालसम्म सडक पनि पुगेकाले यहाँ आउन सहज हुने आयोजकले जनाएको छ । तीन हजार छ सय मिटरको उचाईमा रहेको नेपालको फालेलुङ गाँउपालिका ४, भारतको वेष्ट बंगाल र सिक्किमको सिमानामा रहेको तीन सिमानामा नयाँ बर्षको अवसर पारेर बैशाख १ गते महोत्सव गर्न लागिएको हो । चौँरी संस्कृति लोभ हुदैँ गएकाले त्यसलाई संरक्षणका लागि महोत्सवको आयोजना गरिएको हो ।
फालेलुङ गाँउपालिकाले प्रबद्र्धन गरेको महोत्सवमा कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहाल नेपाल सह आयोजक रहेको छ । फालेलुङ कञ्जनजंघा पर्यापर्यटन संस्था, दीप ज्योती युवा क्लब र कञ्चनजंघा चौँरी पालन संरक्षण संस्थाले महोत्सव आयोजना गर्न लागेको हुन् ।
महोत्सव स्थल क्षेत्रमा २१ ओटा चौँरी गोठहरु छन् । चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौँरी गोठहरु घट्दै गएका छन् । गोठमा चौँरी घट्ने क्रमसँगै चौरी संस्कृति हाराएकाले संस्कृति संरक्षणका लागि महोत्सवको तयारी गरिएको हो । महोत्सवमा चौरीको दुधबाट बनाइएका परिकारहरु, चौंरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाईने जडिबुटि तथा कृषिजन्य बस्तुको स्टलहरु राख्ने तयारी छ ।