सीमानामा सुरक्षाकर्मीको दोहोरो चरित्र : मुख्य नाकामा रोकेर चोरबाटोबाट पठाउने

सीमानामा सुरक्षाकर्मीको दोहोरो चरित्र : मुख्य नाकामा रोकेर चोरबाटोबाट पठाउने

विराटनगर 
दृश्य १
मंगलबार मध्यान १२ बजे विराटनगरस्थित रानी नाकामा पुग्दा मुख्य नाका सुनसान जस्तै थियो। दुई सुरक्षाकर्मी (एक सशस्त्र र एक नेपाल प्रहरी महिला) भारतबाट नेपाल प्रवेश गर्न लागेका बच्चासहितका एक जोडीलाई केरकार गर्दै थिए। त्यतिकैमा एक वृद्धा भाँडामा केही सामान बोकेर नेपाल प्रवेश गर्न लागिन्। उनलाई सुरक्षामा खटिएकी महिला प्रहरीले रोक्दै भनिन्– ‘नागरिकता वा सरकारी कुनै परिचय पत्र छ ?’ ती वृद्धाले जवाफ फर्काइन्– ‘म किनमेल गरेर फर्किएकी यताबाट छोटो बाटो भएकाले जान लागेको केही पनि छैन।’ त्यसपछि प्रहरी महिलाले भनिन्– ‘यो बाटोबाट जान पाईँदैन उताबाट घुमेर जानुस्।’ ती महिला कर गरेर त्यही बसिन्। अन्यलाई नाम टिपेर नजिकै राखिएको हेल्थ डेस्कमा तापक्रम नापेर नेपाल पठाइयो। नेपाल छिर्ने भ्यान चढेर घर लागे।

दृश्य २
मुख्य नाका रानी भन्दा एक किलोमिटर उत्तरतर्फ ६२ नम्बरको सीमाना पिल्लर छ। यसले भारत र नेपाललाई छुट्याएको छ। सो स्थान मुख्य नाकाबाट पैदल यात्रा गर्दा १० मिनेटमा पुगिन्छ। सुनसान मुख्य नाका हेरेर त्यसतर्फ जाँदा सानो गल्लीको कालोपत्रे बाटो ई–रिक्सा, अट्टो, र भ्यानको भीडले झण्डै १५ मिनेट त पुग्नै लाग्यो। यो बाटो भएर भारतमा भएकाहरू नेपाल आउने र किनमेल गर्न जाने आउनेको भीड भएर रहेछ। उनीहरूलाई लिन र पुर्‍याउन जाने साना सवारीको जाम नै थियो त्यहाँ। पिल्लर भएको स्थानमा पुग्दा तीन जना सशस्त्र र एक नेपाल प्रहरी हातमा लाठी लिएर नेपाल आउनेले बोकेको झोलाको खानतलासी गरिरहेका थिए। त्यस स्थानमा पुग्दा लाग्थ्यो– ‘मुख्य नाका यो र पहिले देखेको चाहिँ ‘चोरबाटो’।’

यो बाटो भएर कति नेपाल आउँछन् र कति जान्छन् कुनै लेखाजोखो छैन। अन्नपूर्णकर्मी १० मिनेट यो स्थानमा बस्दा नै सयौँ नेपाल प्रवेश गरे भने त्यतिकै संख्यामा भारत गइरहेका थिए। 

---

माथिका दुई दृश्यले कोरोना संक्रमण पुन: बढ्दै जाँदा सीमानाको अवस्था र स्वास्थ्यसँगै सुरक्षा मापदण्ड कति पालना भइरहेको छ भन्ने कुरालाई प्रष्ट पार्छ। मुख्य नाकामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सरकारी नियम भन्दै कडाई गरिरहँदा एक किलोमिटर वरको चोरबाटोमा तीनै नियम सिकाउने सुरक्षाकर्मी सामान हेर्दै छाड्दै बसेका छन्। 

सबैभन्दा बढी नेपाल प्रवेश गर्ने मोरङको मुख्य ‘चोरबाटो’मा समेत प्रहरी पुग्दा बिना स्वास्थ्य चेक जाँच नेपाल प्रवेश गर्न छुट पाइरहेका छन्। मुख्य नाकाबाट प्रवेश गर्दा नेपाली परिचयपत्र, भारतमा स्वास्थ्य परीक्षण गरेको र पीसीआर परीक्षण गरेको रिपोर्टको साथमा आउनुपर्ने हुँदा नेपाल प्रवेश गर्नेको ध्यान ‘चोरबाटो’मा परेको देखिन्छ। 

मुख्य नाकाबाट सबै नियमको पालना गरेर नेपाल प्रवेश गर्नेको संख्या दैनिक १० देखि १९ जनासम्म हुने सीमानामा खटिएको सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तथ्याङ्कमा देखिन्छ। तर, ‘चोरबाटो’बाट रोकेर मुख्यनाकातर्फ जान भन्दा पनि नेपाली परिचयपत्र नहुनेलाई ‘चोरबाटो’बाट जान मुख्यनाकामा खटिएका सुरक्षाकर्मीले नै सुझाव दिएको देख्दा आश्चर्य नहुने कुरै भएन। 

रिपोर्टिङमा पुगेर फोटो लिएको समयमा सुरक्षाकर्मी केही सचेत बने पनि त्यसपछिको समयमा भने अवस्था उस्तै रहने गरेको सीमानाका स्थानीय बताउँछन्। ‘तपाईँले मुख्य नाका मात्रै हेरेर फर्कनुभयो भने अवस्था सबै ठिक देख्नुहुन्छ, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी तैनाथ छन्, सबै चेक हुन्छ। तर नजिकैको ‘चोरबाटो’ हेर्नुभयो भने तपाईँ कुन नाका मुख्य हो भनेर झुक्किनु हुनेछ,’ विराटनगर १६ सीमानाका स्थानीय अवध चौधरीले भने।

मुख्य नाकाबाट प्रवेश गर्नेको स्वास्थ्य चेक र ज्वरो जाँच गर्दै आएका स्वास्थ्यकर्मीका अनुसार भारतबाट नेपाल आउनेहरूमा ज्वरोको समस्या फाट्टफुट्ट अवस्थामा भेटिने गरेको बताए। ‘हामी कोरोनाको प्राथमिक परीक्षण गर्छौँ, शंका लागेमा स्वाव संकलन गरेर पीसीआर परीक्षण गर्छौँ,’ विराटनगर महानगरपालिकाले सीमानामा राखेको हेल्थ डेस्कमा खटिएकी अनमी उषा मेहताले बताइन्। 

सबै प्रकृया पूरा गरेर मुख्यनाकाबाट आउनेमध्ये पनि धेरै जानमा विभिन्न लक्षण देखिने र केही कोरोनाको लक्षणसँग मिल्नेलाई एम्बुलेन्समा राखेर अस्पताल वा स्वाब परीक्षण गर्न पठाउने गरिएको छ। तर, ‘चोरबाटो’बाट दैनिक आउने हजारौँ नागरिक सीधै समाज र घरमा पुग्ने हुँदा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ। 

यता स्थानीय, प्रदेश र संघीय सरकारले मुख्य सीमानालाई मात्रै ध्यान दिए पनि ‘चोरबाटो’बाट अउनेलाई रोक्न कुनै प्रयास गरेको छैन। प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले सीमानाबाट आउनेहरुले नेपालमा कोरोना संक्रमणको जोखिम बढाएको बताए पनि प्रदेश सरकार वा केन्द्र सरकारले यस विषयमा कुनै निर्णय नगरेको बताइन्। ‘अब हामी पनि प्रदेशस्तरीय सीसीएमसीको बैठक राखेर यो विषयमा छलफल र निर्णय गर्नेछौँ’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.